+
+

लकडाउनले सडकका कुकुर र बाँदर भोकै

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ चैत १७ गते ९:१९

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्यो । यो अवधिमा मानिसहरु घर बाहिर ननिस्किँदा काठमाडौंका सडकमा हिँड्ने कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया समस्यामा परेका छन् ।

‘फेडेरेसन अफ एनिमल वेलफेयर नेपाल’का अनुसार उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । बाँदरको संख्या यकिन छैन । तर, स्वयम्भु, पशुपति लगायतका क्षेत्रमा बाँदरको ठूलो संख्या देखिन्छ ।

यही चैत ११ गतेबाट लकडाउन सुरु भएपछि यस्ता कुकुर र बाँदर भोकै परेका छन् । परिणाममा स्वयम्भु र पशुपति क्षेत्रका बाँदर रिसाउन थालेका छन् । मान्छेको आवागमन हुँदा बाँदरहरुले खाने कुरा पाउँथे । लकडाउनको अवधिमा मान्छेको आवागमन नहुँदा भोकै परेका छन् ।

यस्तै, होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पनि पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्न थालेका छन् ।

कुकुरहरुको झगडाले मान्छेलाई समस्या पार्न थालेको पशु अधिकारकर्मी संगीता सापकोटा बताउँछिन् । यस्तो भोकको रिसले कुकुरले मान्छेलाई टोक्न पनि सक्ने उनको भनाइ छ ।

महानगरपालिकाले खानेकुरा खुवाउँदै

काठमाडौं महानगरपालिकाले यस्ता कुकुर, बाँदर र छाडा चौपायालाई खानेकुरा खुवाउने बताएको छ । तर, लकडाउनको छ दिन बितिसक्दा पनि खुवाएको छैन । ‘संरक्षक नरहेका पशु चौपायालाई खुवाउनका लागि सम्बन्धित वडामा पत्र गएको छ ।

‘वडाबाटै यसको व्यवस्थापन हुन्छ’ काठमाडौं महानगरपालिकाका पशु सेवा महाशाखा प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले अनलाइनखबरसँग भने । मठमन्दिर वा सडकमा रहेका पशु चौपाया भोकै भएको विषयमा छलफल भएर सम्बन्धित वडालाई पत्र पठाइएको उनले बताए । ‘स्वयम्भु र पशुपतिको बाँदरको हकमा पनि सम्बिन्धत वडाले हेर्नुपर्छ’ झाले भने ।

उपत्यकामा पशु अधिकारसँग सम्बन्धित संघसंस्थाहरु करिब १५ वटा छन् । संरक्षक नभएको पशुका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको एनिमल नेपालकी अध्यक्ष प्रमदा शाह‍ले जानकारी दिइन् ।

‘मान्छेले जसोतसो खाएका छन् । नहुनेलाई सरकारले दिने भनेको छ । तर, कुकुर र बाँदरका लागि के गर्न सकिन्छ भनेर हामीहरु पनि छलफल गर्दैछौं’ उनले भनिन् । आफ्नो टोलको कुकुरलाई स्थानीयले खान दिनुपर्ने उनको भनाइ छ । ‘एक व्यक्तिले एउटा कुकुरलाई खाना दियो भने समस्या हुँदैन’ शाहले भनिन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?