Comments Add Comment

बाँके र बर्दियामा उच्च निगरानी, २१८ जना क्वारेन्टाइनमा

प्रतिकात्मक तस्वीर

१७ चैत, बर्दिया । भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकाहरुमा निगरानी बढाइएको छ । दुवै जिल्लामा भारतबाट आउ–जाउ ठप्प छ ।

बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै भारतबाट आएकाहरु छन् । केही भने फ्रान्स, मलेसिया र कतारबाट आएका छन् ।

लुकिछिपी भारतबाट कोही नभित्रिउन् भनेर सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । भारतको उत्तर प्रदेश सरकारले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रमा गस्ती जारी राखेको छ ।

बर्दियाका आठ वटै स्थानीय तहमा २ सय ६९ वटा क्वारेन्टाइन बनाइएको छ । हाल १ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारत, मलेसिया, फ्रान्स र कतारबाट आएकाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको भएपनि केहीलाई ज्वरो आएकाले नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

स्थानीय तहले हरेक वडामा समिति गठन गरी बाहिरबाट कोही मानिस आए–नआएको रेकर्ड राख्ने र कोही आएको भए उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाउने गरिएको मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्लाका आठ वटै स्थानीय तहसँग समन्वय गरी पायक पर्ने स्थानबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यवस्था मिलाइएको छ । लकडाउनलाई उल्लंघन गर्नेहरुलाई पहिलो पटक सम्झाइ बुझाई गरिने र फेरि पनि नमानेमा कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाइने प्रशासनले जनाएको छ । गुलरियामा सामूहिक रुपमा जुवा तास खेलिरहेका १० जनालाई पक्राउ गरी सामाजिक दुरी कसरी कायम गर्ने भन्ने विषयमा दिनभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखेर सिकाइएको थियो ।

यसैगरी बाँकेमा ५० जनालाई क्वारेन्टाइनमा राखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज र खजुरा गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ । अन्य स्थानीय तहहरुले पनि क्वारेन्टाइन निर्माण गर्ने क्रम जारी छ ।

फ्रान्सबाट कतार हुँदै कोरोना भाइरस संक्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

बाँकेका आठ वटै स्थानीय तहसँग समन्वय गरी सीमा क्षेत्रमा कडाइ गरिएको र लकडाउनलाई अझ कडा बनाइएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए ।

लकडाउनको दोस्रो दिन बाँकेमा बेलुकीपख मानिसहरुको केही भिड देखिए पनि अहिले प्राय सबै क्षेत्र सुनसान देखिन्छन् । ‘पूर्वतयारी नभएकाले सुरुसुरुमा केही भिड देखिएको हो,’ सहायक प्रजिअ उपाध्यायले भने, ‘अहिले अत्यावश्यक खाद्यान्न पायक पर्ने स्थानबाट खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाएका कारण अब त्यो खालको भिडभाड छैन ।’

–दीपक शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment