Comments Add Comment

होम क्वारेन्टाइनमा वर्षाको साथी चलचित्र होइन, पुस्तक

अहिले होम क्वारेन्टाइनमा रहेका अधिकांश कलाकारहरु चलचित्र हेरेर दिन बिताइरहेका छन् । तर, नायिका वर्षा शिवाकोटीको चाहिँ दिनचर्या अलिक फरक छ । उनी आफू चलचित्र हेर्नुभन्दा पुस्तक पढ्नमै समय खर्चिरहेको बताउँछिन् ।

उनी होम क्वारेन्टाइनमा बसेको आज १० दिनभयो । कोरोनाको त्रास सुरु भएसँगै चलचित्र ‘परदेशी-२’ को छायांकन रोकेर उनी घर बस्न थालेकी हुन् ।

वर्षा घरभित्र पनि अनुशासनमा बसेकी छिन् । दैनिक रुटिन नै बनाएर त्यसअनुसार चल्नेगरेको उनी बताउँछिन् । बिहान सात बजे उठ्ने उनी झण्डै एकदेखि डेढ घण्टा व्यायाम गर्छिन् ।

‘आधा घण्टा योग गर्छु, आधा घण्टा जति अन्य व्यायामहरु गर्छु । अभ्यास सकिएपछि नुहाउँछु,’ उनले भनिन् ।

नियमित व्यायाम गरिरहेकाले वर्षालाई क्वारेन्टाइनमा बस्दा मोटाउने डर छैन । खानपिनमा पनि उनले निकै सतर्कता अपनाइरहेकी छन् ।

वर्षाले भनिन्, ‘बिहान ब्रेकफास्टमा फलफूलहरु खान्छु । लञ्चमा पनि म भात खान्न । भात छोडेको त धेरै भइसक्यो ।’ क्वारेन्टाइनमा पनि सक्रिय रहने हो भने नमोटाइने वर्षा बताउँछिन् ।

‘तपाईं घरभित्रै यताउता डुलिरहनुभयो, किचेनमा पुगेर खाना आफैँ बनाउन थाल्नुभयो भने मोटाउनुहुन्न’, उनले भनिन्, ‘व्यायाम गर्नुभयो भने त झन् मोटाउने चान्स नै छैन ।’

वर्षाको अहिले दिन काट्ने माध्यम बनेको छ, पुस्तक । उनले भनिन्, ‘मैले क्वारेन्टाइनमा एउटा पनि चलचित्र हेरेको छैन । पुस्तकहरु भने धेरै पढिसकेँ ।’

किन चलचित्रको साटो पुस्तक रोज्छिन् वर्षा ?

‘चलचित्रमा सकारात्मक वा नकारात्मक दुबै कुरा हुन्छन् । त्यसलाई मनोरञ्जनको रुपमा मात्र हेर्न सकिन्छ । पुस्तकमा पनि नकारात्मक कुराहरु आउँछन् । तर, पात्रको अनुभवमा मात्र ।

पुस्तकले केही न केही सिकाएकै हुन्छ । त्यसैले नै पुस्तक रोजेर पढिरहेकी छु,’ उनले बयान गरिन् ।

पुस्तकमा पनि विशेषगरी बायोग्राफी वर्षाको प्राथमिकतामा छन् । वर्षाले हालै मिचेल ओवामाको बायोग्राफी पढिसकेकी छिन् भने हाल गौतम बुद्धसँग सम्बन्धित ‘सिद्धार्थ’ पढिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment