Comments Add Comment
ग्राउण्ड जिरो रिपोर्ट :

उपत्यकाका ९ अस्पताल पुग्दा…

घटना १ : चैत १२ गते बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे । उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । निरन्तर खोकिरहेका उनको नियमित डायलासिस गर्ने पालो त्यसै दिन थियो । तर, डायलासिस गराइरहेको अस्पतालले भन्यो, ‘टेकु अस्पताल गएर कोरोना संक्रमण नभएको रिपोर्ट लिएर आउनू ।’

त्यसैले उनी टेकु अस्पताल पुगेका थिए । जब कि कोभिड-१९ को संक्रमण फैलिएको देशबाट आएकाहरूसँग उनको प्रत्यक्ष सम्पर्क थिएन । कोरोना भाइरसको लक्षण पनि थिएन ।

घटना २ : लोकन्थलीका हरिराम पराजुलीकी श्रीमती रुक्मणीले एक सातादेखि निमोनियाको औषधि खाइरहेकी थिइन् । चैत १२ गते बिहान उनलाई अचानक छाती दुख्यो, खोकी बढ्यो । चल्न चटपटाउन नसक्ने अवस्थामा पुगेपछि परिवारका सदस्यहरुले बिहान सात नबज्दै लोकन्थलीकै समिट अस्पताल लगे ।

तर, खोकी लागेको देख्नासाथ अस्पतालले भर्ना नगरी पठायो । निमोनियाको रिपोर्ट कार्ड देखाउँदा पनि अस्पतालले भर्ना लिन मानेन । त्यसपछि उनी बानेश्वरस्थित सिभिल अस्पताल पुगिन् । त्यहाँ पनि भर्ना लिएन् । थापाथलीस्थित नर्भिक अस्पतालमा त्यही कथा दोहोरियो । एकपछि अर्को अस्पतालले फर्काइदिएपछि एम्बुलेन्सले उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर छाडिदियो । तर, सरकारले कोरोना विशेष अस्पताल बनाएको कारण उनीहरु त्यहाँ पनि भर्ना हुन पाएनन् ।

पहिलाको एम्बुलेन्स हिँडिसकेको थियो । टोल फ्रि नम्बर १०२ डायल गरेर अर्को एम्बुलेन्स बोलाए । तर, एम्बुलेन्स चालक एउटै कुरा दोहोर्‍याउँथे, ‘टेकुमा भर्ना नलिएको बिरामी अन्य अस्पतालमा भर्ना लिन मान्दैन, दुःख पाउन म आउँदिनँ ।’

घटना ३ : टेकु अस्पतालको आकस्मिक कक्षका केही चिकित्सकहरुको दिन सामान्य बिरामीलाई काउन्सिलिङ गर्दैमा बित्छ । किनकी, राजधानीको अन्य अस्पतालले सामान्य ज्वरोको बिरामी भर्ना नलिइकन टेकु अस्पताल नै पठाउँछ ।

चैत १३ मा अस्पताल पुग्दा एक चिकित्सक भन्दै थिए, ‘निजी अस्पतालको अमानवीयताको हद पार हुन लागिसक्यो । कोरोना कोरोना भन्दाभन्दै अरु रोगले बिरामी मर्नेभए । यस्तो अमानवीय व्यवहारविरुद्ध को बोल्ने ?’ त्यसमा अर्का चिकित्सकले थपे, ‘ट्राभल हिस्ट्री नमिलेका सामान्य बिरामीलाई पनि यहीँ पठाएका छन् । यस्तो मनपरी गर्ने निजी अस्पतालहरुलाई किन कारबाही हुँदैन ।’

टेकु अस्पतालका चिकित्सकका अनुसार काठमाडौंका निजी अस्पतालहरुले भर्ना नलिएका रुघाखोकी तथा ज्वरोका बिरामी एकै दिनमा दर्जन बढी टेकुमा आइपुग्छन् । तर, सरकारले टेकुलाई कोरोनाको मात्र उपचार गर्ने अस्पताल तोकेका कारण अरुको भर्ना लिइँदैन र बिरामीले समयमै उपचार नपाउने सम्भावना रहन्छ ।’

अस्पतालमा देखिएको दृश्य र टेकु अस्पतालको चिकित्सकको गुनासो सुनेपछि लाग्यो, अब काठमाडौंका केही अस्पतालको ग्राउण्ड जिरो रिपोर्टिङ गर्नुपर्छ ।

त्यसक्रममा आइतबार र सोमबार गरेर हामी उपत्यकाका ९ वटा अस्पताल पुग्यौं । त्यसबाट थाहा भयो कि केही अस्पतालमा नाम मात्रको फिवर क्लिनिक छ । उनीहरुसँग न त कोरोनाको आशंका लागेकालाई राख्ने आइसोलेसन बेड छ, न त स्वास्थ्यकर्मीलाई पीपीई । आइसोलेसन बेड राखेका अस्पतालहरुसँग पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपका बेड भने छैन ।

दृश्य-१

आइतबार करिब १ बजे बानेश्वरस्थित एभरेस्ट अस्पताल पुग्दा सुनसान थियो । आकस्मिक सेवा सुचारु थियो भने ओपीडी बन्द । अस्पतालको गेटभित्र टाँगिएको सानो पालमा ‘फिभर क्लिनिक’ लेखिएको थियो । त्यहाँ साधारण गाउन र मास्कमा एकजना स्वास्थ्यकर्मी थिइन् ।

उनलाई सोध्यौं, ‘फिभर क्लिनिक कसरी सञ्चालन गरिराख्नुभएको छ ?’

‘यहाँ आउने बिरामीको ट्राभल हिस्ट्री सोध्छौं । रुघाखोकी आएको छ र ज्वरो पनि ९९ डिग्री फरेनहाइटभन्दा बढी छ भने टेकु अस्पताल जान सल्लाह दिन्छौं । अहिले कोरोनाको त्रास भएकाले ज्वरो र रुघाखोकी बढी भएका बिरामीलाई भर्ना गर्दैनौं । यहाँ आकस्मिक बाहेकका अन्य सेवा तत्कालका लागि बन्द छन् ।

दृश्य २

त्यसपछि हामी मीनभवनस्थित सिभिल अस्पताल पुग्यौं ।

अस्पतालको गेटबाट छिर्नासाथ देब्रेतिर फिभर क्लिनिक लेखिएको पाल टाँगिएको थियो । हामी पुग्दा क्लिनिक सुनसान थियो ।

नजिकै रहेका सुरक्षाकर्मीहरु अस्पतालभित्र प्रवेश गर्ने हरेकलाई इन्फारेड थर्मोमिटरबाट ज्वरो नापिरहेका थिए । हामीलाई देख्नासाथ एक सुरक्षाकर्मीले सुनाए, ‘हाम्रो फिभर क्लिनिक १० बजेदेखि ३ बजेसम्म मात्र हो ।’

जब कि त्यसबेला ३ बजेको थिएन । त्यसले प्रष्ट भयो कि सिभिल अस्पतालको फिवर क्लिनिक नाम मात्रको हो ।

त्यसपछि हामी अस्पतालको सोधपुछ कक्षमा गयौं । त्यहाँ रहेका एक कर्मचारीले भने, ‘कोरोनाको उपचार गर्न सरकारले टेकु र पाटन अस्पताललाई भनेको छ । हामी ज्वरो जाँचेर शंकास्पदलाई टेकु र शंका नभएकाहरुलाई घर पठाउँछौं । ओपीडी सेवा बन्द भएकाले अहिले आकस्मिक बाहेक अन्य केसको उपचार हुन्न ।’

दृश्य-३

आइतबार नै हामी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुग्यौं ।

अस्पतालको गेटमा रहेका दुईजना सुरक्षाकर्मीले प्लाष्टिकको गाउन लगाएका थिए । हातमा सर्जिकल पञ्जा र टाउकोमा पनि सर्जिकल क्याप ।

गेटको देब्रेपट्टी फिभर क्लिनिकमा एकजना स्वास्थ्यकर्मी साधारण पर्सोनल प्रोटेक्टिभ इक्युपमेण्ट लगाएर बसेकी थिइन् । त्यहीबेला एक युवती जचाउन आइपुगिन् ।

स्वास्थ्यकर्मी : ट्राभल हिस्ट्री बताउनुस् त ?

युवती : ८ दिन भयो, दुबईबाट आएको ।

स्वास्थ्यकर्मी : स्वास्थ्यमा केही समस्या छ ?

युवतीले एकै स्वरमा सुनाइन्, ‘हल्का रुघाखोकी छ । तर, ज्वरो आएको छैन । घरमा प्रहरी आएर कोरोना जचाएर आउनू भनेकाले आएकी हुँ ।’

सोधपुछ सकिएपछि स्वास्थ्यकर्मीले भनिन्, ‘अहिले डराउनुपर्दैन । थप समस्या आयो भने टेकु जानुस् । नभए घरमै क्वारेन्टाइनमा बस्नुुस् ।’

युवतीले ‘हस्’ भन्न नपाउँदै स्वास्थ्यकर्मीसँग भएको सबै सम्वाद भिडियोमा कैद गरेका युवक बोले, ‘अब त प्रमाण भयो होला नि छिमेकी र प्रहरीहरुलाई ।’

उनीहरु त्यहाँबाट निस्किनासाथ अर्का युवक आएर स्वास्थ्यकर्मीलाई सोधे, ‘१५ दिन भयो, कुवेतबाट आएको, केही सामान्य रुघाखोकी बाहेक अन्य लक्षण देखिएको छैन, के गर्ने होला ?’

साधारण सोधपुछ भयो ।

र, होम क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै स्वास्थ्यकर्मीले भनिन्, ‘धेरै डर लागेको छ भने एकपटक टेकु अस्पताल गएर जाँच गराउनू । तर, डराउनुपर्ने केही छैन ।’

त्यसपछि हामीले स्वास्थ्यकर्मीलाई सोध्यौं, ‘कस्ता बिरामीलाई टेकु रिफर गर्नुहुन्छ ? कस्तालाई यहीँ भर्ना गर्नुहुन्छ ?

उनका अनुसार कोरोनाका शंकास्पद बिरामी छुट्याउन अस्पतालले १० नम्बरको स्कोर कार्ड राखेको छ । यसमा चिकित्सकले सोधेको प्रश्नको उत्तरका आधारमा नम्बर दिइन्छ ।

जस्तो- कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका छन् भने २ नम्बर दिइन्छ । ट्राभल हिस्ट्री मिलेको र ९९ डिग्री भन्दामाथि ज्वरो पनि छ भने १ नम्बर थपिन्छ । ज्वरोसँगै रुघा र खोकी पनि लागिरहेको छ भने अर्को २ नम्बर दिइन्छ । क्वारेन्टाइनमा बसेको छैन र प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई पनि रुघा लाग्ने, ज्वरो आउने भएको छ भने अर्को १ नम्बर थपिन्छ ।

यसो हुँदा ५ भन्दा बढी नम्बर आउँछ । ५ नम्बरभन्दा बढी आएकाहरुलाई अस्पतालका चिकित्सकले एकपटक जाँच गर्छन् । र, कुनै पनि व्यक्तिको ५ भन्दा बढी नम्बर आयो भने कोरोनाको आशंका गरेर टेकु अस्पताल रिफर गरिन्छ ।

३ नम्बरभन्दा कम आयो भने चिकित्सकहरुले घरमै क्वारेण्टाइन बस्न आग्रह गर्छन् । फिभर क्लिनिकमा रहेकी स्वास्थ्यकर्मीले भनिन्, ‘कोरोनाको आशंका भएका बिरामीलाई यहाँ राख्ने गरेका छैनौं ।’

केएमसीको अस्पतालको ओपीडी सेवा सुचारु नै छ । त्यसैले मानिसहरुको आउजाउ भने बाक्लै छ ।

दृश्य-४

चावहिलको ओम अस्पतालको इमर्जेन्सी कक्ष अगाडि पाल टाँगेको फिभर क्लिनिक चलाइएको छ, जहाँ एक स्वास्थ्यकर्मी साधारण पीपीई लगाएर खटिएकी छिन् ।

त्यहाँ अस्पताल आउने अरु बिरामी तथा कर्मचारीलाई पनि ज्वरो जाँच गरेर भित्र पठाउने गरिएको छ । अस्पतालले कोरोना संक्रमणको आशंकामा पुग्नेहरुलाई आइसोलेसनमा राख्न ८ वटा शैय्या पनि छुट्याइएको रहेछ ।

इमर्जेन्सी कक्षबाट लिफ्ट हुँदै आइसोलेसन बेडसम्म पुग्ने ठाउँमा रातो धर्को लगाइएको छ । आइसोलेसन वेडका रुपमा छुट्टै कोठा छ । तर, अरु सुविधा देखिएन । रिपोर्ट आउनुअघि कुर्नका लागि बस्नचाहिँ मिल्ने देखियो ।

ओम अस्पतालले ट्राभल हिस्ट्री र लक्षणका आधारमा कोरोनाको आशंकित बिरामी छुट्टाउने गरेको छ ।

अस्पतालका प्रशासकीय अधिकृत विपिन जंगमले अनलाइनखबरसँग भने, ‘तीन दिनअघि ८२ वर्षका पुरुष आइसोलेसनमा बस्नुभएको थियो । रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भइसक्नुभयो ।’

दृश्य-५

हामी धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा पुग्यौं ।

अस्पतालको गेटभित्र एक कुनामा सानो पाल टाँगेर फिभर क्लिनिक राखिएको थियो । साधारण पीपीईमा एक स्वास्थ्यकर्मी बसिरहेकी थिइन् । उनले ट्राभल हिस्ट्री र लक्षणका आधारमा कोरोनाका आशंकित बिरामी छुट्याउने बताइन् । भनिन्, ‘हामीसँग कोरोनाका सम्भावित संक्रमितलाई राख्न ३ वटा आइसोलेसन छन् ।’

दृश्य-६

हामी टोखास्थित ग्राण्डी अस्पतालमा पनि पुग्यौं ।

अस्पतालको गेटभित्र छिर्नासाथ हातमा लगाउने स्यानिटाइजर राखिएको थियो । त्यहीँ नजिकै रहेका नर्सहरुले ज्वरो नाप्थे । साधारणभन्दा बढी ज्वरो देखायो भने मात्र फिभर क्लिनिकमा पठाउने गरिएको रहेछ ।

फिभर क्लिनिक पनि अरु अस्पतालको जस्तो त्रिपाल टाँगेर बनाइएको थिएन । छुट्टै डेकोरेशन गरिएको कोठामा पीपीईसहित स्वास्थ्यकर्मी खटिएका देखिन्थे । फाट्टफुट्ट बिरामीहरु आउँथे र सोधपुछ गरेर अधिकाशंलाई घर फर्काइएको देखिन्थ्यो ।

अस्पतालको दोस्रो तल्लामा रहेको कन्फ्रेन्स हलमा पुग्दा एक चिकित्सकले स्वास्थ्यकर्मीहरुलाई कोरोनाको जाँच र उपचार कसरी गर्ने भन्ने तालिम दिइरहेका थिए । भविष्यमा महामारी फैलिए कसरी काम गर्ने भन्ने विषयमा योजना बनिरहेको थियो ।

कोरोना आशंकितलाई राख्न ग्राण्डी अस्पतालले तेस्रो तल्लामा क्वारेन्टाइनस्थल बनाएको छ, जहाँ १९ वटा बेड छन् । छुट्टाछुट्टै कोठा नभए पनि बेडहरु फराकिलो दुरीमा राखिएको छ ।

अहिलेसम्म त्यहाँको क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । त्यसैगरी ११ वटा आईसीयु बेड कोरोना उपचार गर्नका छुट्टयाइएको रहेछ । अस्पताल प्रशासनका एक कर्मचारीले भने, ‘यदि कुनै व्यक्तिलाई कोरोना संक्रमण भयो र यहीँ उपचार गराउन चाहृयो भने हामी उपचार गर्छौं ।’

दृश्य-७

हामी महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा पनि पुग्यौं ।

अस्पताल प्राङ्गणमा हात धुन साबुन पानीको व्यवस्था थियो । अस्पतालको प्रतिक्षालयमा भित्रपट्टी छुट्टाछुट्टै डेकोरेसन गरेर फिभर क्लिनिक राखिएको थियो । फिभर क्लिनिकमा पीपीई लगाएका चिकित्सकले अस्पताल पुग्ने बालबालिका जाँचिरहेका थिए ।

हामीले अस्पतालका निर्देशक कृष्णप्रसाद पौडेललाई भेट्यौं ।

उनका अनुसार त्यहाँ श्वासप्रश्वास समस्या भएर आएका बिरामीलाई छुट्टै जाँच गर्ने व्यवस्था मिलाइएको छ भने ज्वरोको बिरामीलाई छुट्टै । १३ वटा आइसोलेसन बेड राखिएको छ ।

कान्ति अस्पतालमा पछिल्लो एक सातामा ९ जना बच्चालाई कोरोनाको आशंकामा भर्ना गरेर राखिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिले १३ आइसोलेसन बेड भए पनि बिरामी बढेमा शैय्या थप्न सकिने अस्पतालका निर्देशक पौडेलले बताए । अस्पतालका निर्देशक पौडेल भन्छन्, ‘आइसोलेसन बेडमा खटिने नर्सहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं ।’

दृश्य-८

त्यसपछि हामी कान्ति नजिकै रहेको शिक्षण अस्पताल पुग्यौं ।

शिक्षण अस्पतालको गेटबाट देब्रपट्टी पाल टाँगेर फिभर क्लिनिक राखिएको छ । त्यहाँ साधारण पीपीई लगाएका चारजना स्वास्थ्यकर्मी भेटिए । जाँच गर्ने ठाउँमा भने एकजना मानिस थिए ।

स्वास्थ्यकर्मीहरुले फिभर क्लिनिकबारे बोल्न इन्कार गरे ।

त्यसपछि हामीले अस्पतालका प्रशासन प्रमुख माधवप्रसाद घिमिरेलाई भेट्यौं ।

उनकाअनुसार चैत १२ गतेदेखि फिभर क्लिनिक सुरु गरिएको हो । पहिलो दिन २४ जनाको ज्वरो जाँच गर्दा ३ जनालाई क्वारेन्टाइनमा राखियो ।

अहिलेसम्म शिक्षण अस्पतालको क्वारेण्टाइनमा १३ जनालाई राखिसकिएको छ । उनीहरुमध्ये ५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज भएका छन् ।

अस्पतालमा कोरोना आशंकितका लागि १४ वटा आइसोलेसन बेड राखिएका छन् भने १५ वटा क्वारेन्टाइन बेड । प्रशासन प्रमुख घिमिरे भन्छन्, ‘यहाँ आएका आशंकितहरुको नमुना मात्र पठाउँछौं, उपचार यहीँ हुन्छ ।’

दृश्य ९

त्यसपछि हामी थापाथलीस्थित नर्भिक अस्पताल पुग्यौं ।

अस्पतालको मुख्य बिल्डिङमा फिभर क्लिनिक राखिएको छैन । अस्पतालको प्राङ्गण बाहिर रहेको पार्किङ स्थलमा राखिएको फिभर क्लिनिकमा २ जना स्वास्थ्यकर्मी थिए ।

त्यहाँ कोरोनाको जाँच गर्न पुग्ने जोकोहीलाई साधारण लक्षण र ट्राभल हिस्ट्री सोधिन्छ । फिभर क्लिनिकमा भेटिएका स्वास्थ्यकर्मीका अनुसार त्यही पार्किङस्थल पछाडि १५ वटा आइसोलेसन र २ वटा भेन्टिलेटर बेड राखिएका छन् । कोही आशंकित त्यहाँ बस्न चाहे राखिन्छ, नत्र टेकु अस्पताल रिफर गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment