Comments Add Comment

हजार शैय्याको ‘सिप हस्पिटल’ बनाउँदै अमेरिका

१८ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण ज्यान गुमाउने मानिसको संख्या तीन हजार पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म तीन हजार एक ७० जनाले यो भाइरसको कारण ज्यान गुमाइसकेका छन् ।

यसमा सबैभन्दा धेरै मानिसको ज्यान न्युयोर्क सहरमा गएको छ । यो सहरका नौ सय १४ जना मानिसले ज्यान गुमाएका छन्। न्युयोर्क सिटीका मेयर बिल डे ब्लासियोले धेरैपटक केन्द्रीय सरकारले भाइरस नियन्त्रणका लागि गरेको प्रयासको विषयमा प्रश्न उठाउँदै आएका छन् ।

उनले मार्च २३ मा दिएको एक अभिव्यक्तिमा कोरोना भाइरसको संक्रमण खतरानक हुँदै गएको र अबको १० दिनमा मेडिकल सामग्रीको अभाव हुनसक्ने बताएका थिए । न्यूयोर्कमा भाइरसको खतरा बढिरहेको अवस्थामा मेडिकल सामग्रीको अभावलाई मध्यनजर गर्दै अमेरिकी जल सेनाले एक पानीजहाजको अस्पताल ‘द कन्फर्ट’ न्यूयोर्क पठाएको छ ।

यो पानीजहाज भर्जिनियाको नरफोल्क नेभी बेसबाट न्यूयोर्क प्रस्थान गरेको हो । यो पानीजहाज न्यूयोर्क पुग्न आठ दिनको समय लाग्ने बताइएको छ । यो पानीजहाजमा १२ कोठा छन् । यी सबै कोठा आधुनिक स्वास्थ्य उपकरणले भरिएको छ । त्यसका साथै यो पानीजहाजमा एक हजारभन्दा धेरै शैय्याको व्यवस्था गरिएको छ ।

न्यूयोर्कका मेयरले भने यो जहाज आएपछि छिटै नै मानिसको ज्यान बचाउने काम सुरु गर्ने बताएका छन् । सीएनएनका अनुसार भने यो पानीजहाज अस्पतालको प्रयोग कोरोना भाइरस संक्रमितको उपचारको लागि नभई अन्य प्रकारका बिरामीको लागि प्रयोग गरिनेछ ।

न्यूयोर्क सिटी अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो । अहिलेकै अवस्थामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको खण्डमा आगामी दिनमा न्यूयोर्कमा अहिले भएकोभन्दा तीनगुणा बढी शैय्या आवश्यक रहेको बताइएको छ ।

पानीजहाजको विशेषता के छ ?

– पानीजहाजमा एक हजारभन्दा धेरै शैय्याको व्यवस्था

–८० आईसीयू

–एक फार्मेसी

– मेडिकल ल्याब

– कोरोना भाइरसका बिरामीको उपचार हुँदैन

– एक हजार एक सय मेडिकल कर्मचारी रहनेछन् ।

– २४ सै घण्टा स्वास्थ्य सेवाको व्यवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment