
१८ चैत, काठमाडौं । इटालीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मुलुकभर लगाइएको लडडाउनको समयावधि लम्ब्याउने तयारी गरेको छ ।
महामारी अझै नियन्त्रणमा आउने संकेत नदेखिएसँगै इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध गरेका हुन् ।
अहिले लगाइएको लकडाउन अप्रिल ३ मा सकिँदैछ । तर इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले इटाली महामारीको बीचमा रहेकाले लकडाउनबाट पछि हट्नु मूर्खता हुने बताएका छन् ।
डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना संक्रमण सुरुमा देशभित्र मात्र थियो । त्यसपछि इटलीमा महामारीको रुप लियो । उत्तरपूर्वी क्षेत्रमा संक्रमण फैलिएपछि सुरुमा त्यहाँ मात्र लकडाउन गरेको इटलीले मार्च १० बाट पुरै देशलाई लकडाउन ग¥यो ।
तर महामरी नियन्त्रणमा आएन । लगातार नयाँ संक्रमित थपिएका छन्, मृतकको संख्या बढिरहेको छ ।
त्यसैले अझै लकडाउन लम्ब्याउने सरकारको तयारी छ । तर यसले अर्थतन्त्र भने तहसनहस हुनसक्ने अनुमान गरिएको छ ।
सोमबार इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८३७ जनाको मृत्यु भएको छ । यो अवधिमा ४ हजार भन्दा धेरै नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै इटालीमा भाइरसका समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १२ हजार ४२८ पुगेको छ ।
अहिलेसम्म इटालीमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।
प्रतिक्रिया 4