Comments Add Comment

दिल्लीको धार्मिक सभामा सहभागी ३ जना सप्तरीमा भेटिए

अरु पनि रहेको आशंका

१९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी तीन जना नेपाली सप्तरीमा भेटिएका छन् ।

मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

बुधबार राजविराज नगरपालिका-४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए । उनकाअनुसार तीनै जनालाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको छ ।

फेला परेका तीनै जना सप्तरीका ठूला व्यापारी रहेका छन् । उनीहरु केही दिनअघि दिल्लीबाट फर्किएको स्थानीयले बताएका छन् ।

दिल्ली जमातमा मुस्लिम समुदाय पनि सहभागी भएर फर्केको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी प्रमुख प्रसाइँ, सशस्त्र प्रहरी उपरीक्षक उद्वव न्यौपाने सहितको टोली उनीहरुको खोजी कार्यमा खटिएका थिए।

सप्तरी प्रहरीले दिल्ली जमातमा सहभागी भएर आएका जिल्लाका आठ जनामध्ये तीन जना फेला पारिएको र अन्य पाँच जनाको खोजी भइरहेको जनाएको छ ।

यद्यपि सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए ।

दिल्लीको निजामुद्दीनमा आयोजना गरिएको जमातका सहभागीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र कतिपयको मृत्युसमेत भएको छ । यो जमातमा नेपाली पनि सहभागी भएको पाइएपछि प्रहरी उनीहरुको खोजीलाई तीब्र बनाएको छ ।

यो सभामा सहभागी रौहतट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment