Comments Add Comment

सभाहललाई ४ हजार शय्याको आईसीयू बनाउँदै बेलायत

१९ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९)सँग लड्न सभा हललाई मुलुककै सबैभन्दा ठूलो आईसीयू बनाएको छ ।

कोभिड–१९ का बिरामी बढेसँगै हुन सक्ने अभावलाई मध्यनजर गर्दै बेलायतले सभा हललाई आईसीयू बनाउने निर्णय गरेको हो । यो आईसीयू एक सताभन्दा कम समयमा निर्माण गरिएको हो र, आगामी साताबाट सञ्चालनमा ल्याउने तयारी छ ।

यो आईसीयू बेलायतकै सबैभन्दा ठूलो हुने सीएनएनले जनाएको छ ।

कोभिड–१९ का बिरामी बढेसँगै नेसनल हेल्थ सर्भिस (एनएचएस)ले मुलुकमा आईसीयूको अभाव हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो । त्यसको लागि पूर्वी लण्डनको एक्सेल सेन्टरको सभाहलमा अहिले भेन्टिलेटर प्रविधि राख्ने काम भइरहेको छ ।

अहिले बेलायतले निर्माण गरिरहेको खुला स्थानको अस्पताललाई एनएचएस नाइटिङ्गेल नाम दिइएको छ । बेलायतले बिरामीको उपचारमा कुनै किसिमको सम्झौता नगरिने बताएको छ । पूर्ण रुपमा सञ्चालनमा आउँदा यहाँ चार हजार शय्या हुनेछन् ।

यहाँ लण्डनभरका आईसीयूका बिरामीहरु ल्याएर राखिनेछ ।

तर यो अस्पताल परम्परागत अस्पतालजस्तो भने हुनेछैन । यसमा अगाडि र पछाडिबाट पस्ने ढोका, प्रतिक्षालय लगायतका सुविधा हुनेछैन ।

गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा यो भाइरसका संक्रमितको संख्या २५ हजार चार सय ८१ पुगिसकेको छ भने मृत्यु हुनेको संख्या १ हजार सात सय ९३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment