Comments Add Comment

ड्रोग्वा, जसले आफ्नो राष्ट्रमा गृहयुद्ध रोक्न मद्दत गरे

१९ चैत, काठमाडौं । सुडानको दोस्रो ठूलो शहर ओमडुर्मानमा रहेको अल मेरिख स्टेडियम कुनै महत्व बोकेको रंगशाला होइन । तर, रेड क्यास्टलको नामले चिनिने यो सानो रंगशालासँग फुटबलको एउटा असाधारण कथा जोडिएको छ ।

८ अक्टोबर २००५ मा क्यामरुन र इजिप्टबीचको विश्वकप छनोट खेल थियो । सन् २००६ को विश्वकपमा छनोट हुन क्यामरुनले इजिप्टलाई हराउनुपर्ने थियो । तर, क्यामरुन र इजिप्ट बराबरीमा रोकिएमा आइभरीकोस्ट विश्वकपमा छनोट हुने सम्भावना थियो । त्यसका लागि उसको खेल सुडानसँग थियो ।

त्यतिबेला आइभरीकोष्टलाई ‘गोल्डेन जेनेरेसन’को ट्याग लागेको थियो । यो टोलीमा डिडियर ड्रोग्वा, कोलो टुरे, एमानुएल एबाउ र डिडियर जोकोर जस्ता खेलाडी थिए । यी सबै खेलाडी प्रिमियर लिगका विभिन्न क्लबमा खेल्थे ।

याया टुरे पनि ग्रीक क्लब ओलम्पियाकोसमा थिए । आइभरीकोष्टको टोली अफ्रिकामा जे पनि गर्न सक्ने टिम थियो । तर, क्यानरुनसँगको छनोटमा भने टोलीले दुई पटक पराजयको सामना गर्‍यो । तथापि यो टोली त्यो रात विश्वकप छनोटको नजिक नै थियो ।

यसरी खेलाडीहरु इतिहास रच्न अघि बढिरहेको अवस्थामा आइभरीकोष्ट भने आन्तरिक द्वन्द्वको कारण अन्धकारतर्फ अघि बढिरहेको थियो । सन् २००२ मा शुरु भएको गृहयुद्धले समग्र मुलुक नै विभाजित भयो ।

राष्ट्रपति लाउरेन्ट जिबाग्बोको सरकारले दक्षिणको क्षेत्रमा नेतृत्व गरिरहेको थियो भने क्रान्तिक्रारी धार मानिएको दि न्यु फोर्सेले उत्तरी क्षेत्रमा प्रभाव बढाएको थियो । क्रान्तिकारी धारको संगठनको नेतृत्व भने गुइलाउमे सोरोले गरेका थिए ।

क्रान्तिकारी धारले २००२ सेप्टेम्बर १९ मा देशको विभिन्न शहरमा आक्रमण गरेर युद्ध सुरु गरेको थियो । त्यतिबेला आइभरीकोष्टबाट धेरै फुटबल खेलाडीहरु भागेका थिए । त्यो क्षण सम्झिँदै पूर्व फुटबलर सेबास्टिन जिनाहोरले त्यो समय निकै खराब क्षण रहेको बताउँछन् । उनले त्यतिबेला आफ्नै घरअघि गोली चलिरहेको सुनेपछि परिवारका सबै मानिस चार दिनसम्म खाटमुनि लुकेको र खानाका लागि मात्र निस्किने गरेको सुनाएका थिए ।

उनलाई हरेक दिन आफ्नो परिवार सुरक्षित छ कि छैन भन्ने चिन्ता हुन्थ्यो । सुरुवाती हिंसा निकै भयानक थियो । तर, धेरै लामो समय भने रहेन । दुबै पक्ष रक्षात्मक भएर बसे । सन् २००४ मा अधिकांश युद्ध सकिए । तर, २००५ पश्चिम अफ्रिकी मुलुकमा फेरि तनाव सुरु भयो । यसले आइभरीकोष्टलाई अन्धकारको दिशामा अघि बढायो ।

आधुनिक फुटबलरले विश्वलाई सामान्य मानिसलेभन्दा फरक किसिमले हेरिरहेका हुन्छन् । त्यतिबेला पनि युरोपमा लाखौं पाउण्डमा व्यावसायिक लिग खेलिरहेका खेलाडीले पनि यो कुरा बुझेका थिए । यही सूचीमा त्यस्ता एक व्यक्ति पनि थिए, जसले भोलि गएर समग्र टोलीको नेतृत्व लिनसक्छ भन्ने सायदै कसैले सोचेको थियो ।

ड्रोग्वा २००४ मा २ कारोड ४० लाख पाउण्डमा चेल्सी पुगेका थिए । नौ वर्ष त्यहाँ रहँदा उनले धेरै सफलता हासिल गरे । उनको सफलता कसैले पनि प्रश्न उठाउन नसक्ने किसिमको थियो ।

चार प्रिमियर लिग, चार एफए कप, तीन लिग कप र एक च्याम्पियन्स लिगको उपाधिको मेडल उनले सो क्रममा थापेका थिए । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले पनि ड्रोग्वालाई विजेता भन्दै जीवनका अन्तिमसम्म पनि उसले आफ्नो लय नगुमाउने बताएका थिए । निश्चित रुपमा ड्रोग्वा एक विजेता थिए । तर, अक्टोबरको त्यो साँझ उनलाई छुट्टै किसिमको दबाब थियो ।

क्यामरुन र इजिप्ट तथा आइभरी कोष्ट र सुडानको खेल एकै समयमा सुरु हुँदै थियो । आइभरीकोष्टलाई जितको विकल्प छैन भन्ने कुरा राम्रोसँग थाहा थियो । सुडानविरुद्धको उक्त खेलमा आइभरीकोष्ट हाबी देखियो । खेलको ७३ औं मिनेटमा अरुना डिनडानेले आइभरीकोष्ट लागि व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गरे । ८९ औं मिनेटमा सुडानले सान्त्वना गोल फर्कायो ।

तर, १५०० माइल उत्तरतर्फ चलिरहेको क्यामरुन र इजिप्टको खेलको दृश्य भने निकै फरक थियो । क्यामरुनले २० औं मिनेटमा अग्रता लियो । ७९ औं मिनेटमा मोहमद शावकीले इजिप्टका लागि बराबरी गोल फर्काए । यस्तोमा यो खेल बराबरीमा सकिएको र सुडानलाई जितेको खण्डमा आइभरीकोष्ट विश्वकपमा छनोट हुने थियो ।

केही सेकेण्ड मात्र बाँकी छँदा स्कोर १–१ को बराबरीमा थियो । आइभरीकोष्ट पहिलो पटक विश्वकप नजिक थियो । सुडानमा उनीहरुको खेल सकिनै लागेको थियो । त्यतिबेला ड्रोग्वा आफ्ना साथीहरुको बीचमा उभिरहेका थिए । उनीहरु सबै रेडियो सुनिरहेका थिए र क्यामरुन र इजिप्टको खेलको नतिजा कुरिरहेका थिए । यसैबीच, इन्जुरी समयको चौथो मिनेटमा क्यामरुनले पेनाल्टी पाएको समाचार आयो ।

तर, भाग्यले आइभरीकोष्टलाई नै साथ दियो । क्यामरुनका पिए वोमेको पेनाल्टी गोल भएन । यससँगै आइभरीकोष्टमा खुशी छायो । इतिहासमै पहिलो पटक उनीहरु अन्तर्राष्ट्रिय फटबलको उच्च लेभलमा प्रतिस्पर्धा गर्ने भएका थिए । पूरै देश, प्रत्येक व्यक्ति, प्रत्येक घर खुशी बनेको थियो । त्यो दिन सबैले देश विभाजित छ भन्ने बिर्सिएका थिए ।

यसरी नाटकीय खेल भइरहेको समयमा ड्रोग्वाले भने फरक विधिले देशको नेतृत्व गरिरहेका थिए । यो अरुको भन्दा फरक थियो । सबैले खुशियाली मनाइरहेका थिए । टिभी क्यामेराम्यान चेन्जिङ रुममा पुगे । सबै खेलाडीले एकले अर्काको काँधमा हात राख्दै खुशी मनाइरहेका थिए । त्यतिबेला चेल्सी स्ट्राइकरको हातमा माइक्रोफोन थियो ।

उनले सम्बोधन गर्दै सबै आइभरीकोष्टका मानिसको एउटै लक्ष्य विश्वकपमा छनोट हुने हो भन्ने कुरा प्रमाणित गरिदिएको बताए । त्यतिबेला नै ड्रोग्वाले देश युद्धमा जान नहुने बताएका थिए । उनले सबैलाई हतियार बिसाएर निर्वाचनमा जान आग्रह गरेका थिए, एक मिनेटको उक्त क्लिप अहिले पनि युट्युबमा उपलब्ध छ ।

‘हामी रमाइलो चाहन्छौँ, त्यसैले बन्दुक चलाउन रोक्नुहोस्’ भन्ने सन्देशको गीत उनीहरुले गाएका थिए । आइभरीकोष्टमा खुशियाली र भोज शुरु भइसकेको थियो ।

२००६ को विश्वकपमा आइभरीकोष्ट समूह चरणबाटै आउट भयो । सर्बिया र मोन्टेनेग्रोलाई हराउनुअघि टोली अर्जेन्टिना र नेदरल्याण्ड्ससँग पराजित भयो ।

अर्को वर्ष ड्रोग्वा अफ्रिकन फुटबलर अफ दि इयर घोषित भए । यसैक्रममा उनले आइभरीकोष्ट र मादागास्करबीचको २००७ जुन ३ मा हुने खेल तालिका अनुसार अविदजानमा नभई विद्रोहीको केन्द्रका रुपमा रहेको बवउकेमा खेलाइने असाधारण घोषणा गरे । त्यसको दुई वर्षअघि यो कुरा आइभरीकोष्टमा सोच्न पनि सम्भव थिएन । ड्रोग्वाको घोषणामा राष्ट्रपतिको स्वीकारोक्ति थिएन ।

भ्यानिटी पेयर म्यागाजिनका आइभरीकोष्टमा कार्यरत रिपोर्टर अस्टिन मेरिलका अनुसार ड्रोग्वालाई जिबाग्बोको दक्षिण क्षेत्रमा भगवानसरह आदर हुन्थ्यो । उत्तरी क्षेत्रबाट पनि उल्लेख्य संख्यामा मानिसहरु खेल हेर्नका लागि गएका थिए । रंगशालाभित्र सरकार र विद्रोही लडाकु पनि थिए । तर, त्यो खेल विद्रोहमा परिवर्तन ल्याउन निकै महत्वपूर्ण सिद्ध भयो ।

उक्त खेल आइभरीकोष्टले ५–० ले जित्यो । ड्रोग्वाले एक गोल गरे । रंगशालामा ठूलो उत्साह छाएको थियो । देशका सबै मानिस खुशीयालीमा थिए । रेफ्रीले अन्तिम सिट्ठी फुकेपछि फ्यानहरु सबै पिचमा पुगेका थिए । सुरक्षाकर्मीहरु ड्रोग्वालगायत सबै खेलाडीलाई सुरक्षित राख्न खोजिरहेका थिए ।

बोउएकेमा भएको उक्त सांकेतिक खेलले देशलाई फेरि एक बनाएको थियो । सबै देशवासी एकसाथ थिए । ड्रोग्वा र उनको टिममा मानिसहरुको ठूलो आशा थियो । यो टोलीमा टोरे उत्तरबाट र ड्रोग्वा दक्षिणबाट आएका खेलाडी थिए । यसले पनि आइभरीकोष्टको संयोजनलाई प्रतिनिधित्व गर्थ्यो।

यद्यपि त्यसपछि जे भयो, त्यो भने मुलुकको लागि दुखदायी थियो । दुई खेलले जुन माहोल बनाएको थियो, त्यो सम्झना छोटो बन्यो । मुलुकमा विभाजनले गहिरो रुप लियो । पाँच वर्षपछि निर्वाचनमा विवाद उत्पन्न भयो र विद्रोह फेरि शुरु भयो । यसको निकै नराम्रो परिणाम आइभरीकोष्टले भोग्नुपर्‍यो । युद्धको कारण ३ हजारले ज्यान गुमाए । राष्ट्रपति जिबाग्बो समातिए । मानवताविरुद्ध अपराध गरेको भन्दै उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाइयो ।

जनवरी २०१९ मा उनले सबै आरोपबाट सफाइ पाए । विगत एक वर्षदेखि उनी बेल्जियमको हिरासतमा छन् । उनले अदालतमा गरेको अपिलको नतिजा आउन बाँकी छ । तर, आइभरीकोष्ट अझै नाजुक राजनीतिक अवस्थामा छ ।

आइभरीकोष्टको ‘गोल्डेन जेनेरेसन’ले आफ्नो क्षमताअनुसार प्रदर्शन देखाउन सकेनन् । २००६ र २०१२ को अफ्रिकन कप फाइनलमा आइभरीकोष्ट पेनाल्टीमा पराजित भएको थियो । स्टारको शक्ति घट्दै गयो ।

ड्रोग्वाले २०१८ मा फुटबलबाट सन्यास घोषणा गरे । उनले ६ देशमा लिग खेले । उनले विश्वकै नभए पनि अफ्रिकन उत्कृष्ट सूचीमा आफूलाई उभ्याए । तर, ड्रोग्वा र उनका साथी फुटबलको सफलताभन्दा अरु नै ठूलो कुराका लागि जिम्मेवार थिए ।

आइभरीकोष्टका २० वर्षीय हसन ओमरले भन्छन्, ‘उनीहरूले देखाए कि हामी अझै एकसाथ बस्न सक्छौँ, कि हामी पहिले आइभरी कोष्ट हुन सक्छौँ । यो फुटबलको बारेमा थिएन, बरु देशको एकीकरणको लागि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment