Comments Add Comment

क्वारेन्टाइन बस्नेको कथा : आफन्तले भेट्न मान्दैनन्, फोनमा हालखबर सोध्छन्

२० चैत, विराटनगर । सँगै वैदेशिक रोजगारीबाट फर्किएका साथीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर-१५ का युवक परिवारसहित क्वारेन्टाइनमा छन् ।

शनिबारयता विराटनगर-१९ मा महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका उनी कोरोना त्राससँग जुधिरहेका छन् ।

कोरोना संक्रमणको आशंकामा उनी आफैं डराएका छन् । विराटनगरमा रहेका उनका आफन्त पनि डराएका छन् । डरकै कारण आफन्त भेटघाटका लागि क्वारेन्टाइन पुगेका छैनन् ।

आफन्तले बेला-बेला फोन गरेर हाल खबर सोध्छन् । ‘आफन्त यहाँ आउन गाह्रो मान्नुहुन्छ, फोनमा चाहिँ कुरा हुन्छ’ उनी भन्छन् ‘दुरी कायम गर्दा कोरोना सर्दैन, बुझ्ने मान्छे नै त्रासमा छन् ।’

६ वर्षकी छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा बसेका उनी घरको जस्तो बसाइँ नहुने बताउँछन् ।

अध्यक्षले सहयोग गरे, प्रहरीले चाबी लगायो

विराटनगर स्थायी घर भएका उनी वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । विश्वभर फैलिएको महामारीका कारण उनी कैलालीको धनगढीका साथीसँगै नेपाल फर्किए ।

६ चैतमा उनीहरु दिल्लीहुँदै काठमाडौं ओर्लिए । कोरोना महामारीको त्रासका कारण सरकारले उच्च सतर्कता अपनाएको थियो । कोरोनाकै कारण विश्व आक्रान्त भएका बेला बाटोमा सर्छ कि भन्ने त्रास पनि थियो । उनी सकेसम्म सतर्कता अपनाउँदै पनि थिए । तर, सँगै आएका धनगढीका साथीलाई कोरोना पोजेटिभ भएको जानकारी पाएपछि भने उनी डराए ।

ओल्लो सिट र पल्लो सिटमा बसेर फर्किएको साथीमा कोरोना पोजेटिभ भएको थाहा पाएपछि उनले परिवारमा सतर्कता अपनाए । आफन्तलाई सुनाएपछि उनले विराटनगर महानगरपालिका-१५ का वडाध्यक्ष असलम आलमलाई फोन गरे ।

१४ चैतमा साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन क्वारेन्टाइनमा बस्न चाहे । तर, वडाध्यक्ष आलमले साँझ परेको बताउँदै शनिबार क्वारेन्टाइनमा राखिदिने बताए । आफ्नो रिपोर्टका बारेमा धनगढीका साथीले पनि फोन गरेर सुनाएका थिए । आलमले शनिबार बिहान थ्रोट स्वाब परीक्षण गर्ने र क्वारेन्टाइनमा राखिदिने बताएका थिए ।

तर, शनिबार महानगरको एम्बुलेन्स पुग्नुअघि प्रहरी पुगे । घर पुगेको प्रहरीले अभद्र व्यवहार गरेको उनले बताए । तोकिएको समयभन्दा आधा घण्टा अगाडि प्रहरी पुगेर घरमा बाहिरबाट ताला लगाइदिए । अलग्गै बस्न भन्दै रुखो बोली गरे । ‘मैले आफैं सम्पर्क गरेर क्वारेन्टाइनमा जान खोजेको थिएँ’ उनले भने ‘ तर प्रहरीले अभद्र शैली प्रस्तुत गर्‍यो ।’

सोमबार मात्र परीक्षण

महानगरको एम्बुलेन्स पुगेपछि उनलाई थ्रोट स्वाब परीक्षणका लागि भन्दै कोशी अस्पताल पुगे । तर, अस्पतालको चिकित्सकले लक्षण नदेखिएको बताउँदै आइतबार आउन भने । आइतबार महानगरले नलगेपछि उनीहरुको थ्रोट स्लाब सोमबार संकलन भयो । परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

डाक्टरले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । तर, सँगै आएको साथी संक्रमित भएपछि उनी महानगरले निर्माण गरेको क्वारेन्टाइनमा पुगे ।

विदेशबाट फर्किएपछि उनी छोरी र श्रीमतीसँग बढी नजिक भए । एक दिनमात्र बजार निस्किएको बताउने उनी त्रासका कारण आफ्नो परिवार नै क्वारेन्टाइनमा बसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment