Comments Add Comment

कोरोना परीक्षण ल्याब स्थापनाका लागि प्राविधिक टोली चितवनमा

२० चैत, चितवन । कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) चितवनमा स्थापनाका लागि स्थलगत निरीक्षण गर्न प्राविधिक टोली चितवन आएको छ ।

टोलीले बिहीबार ल्याब स्थापनाका लागि स्थानको छनोट गर्नेछ । प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनाल, प्रा.डा. गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्य रहेका छन् ।

जिल्लामा ल्याब कहाँ स्थापना गर्नेबारे उपयुक्त स्थानको छनोट बिहीबारै गरिने नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।

प्राविधिक टोलीले बिहीबार विहान जिल्लाका चिकित्सक र जनप्रतिनिधिसँग भरतपुर महानगरपालिकामा छलफल गरेको छ । उपयुक्त स्थानको छनोट गरी ल्याब स्थापना गर्ने बिषयमा छलफल भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

सकेसम्म भरतपुर अस्पतालमा ल्याब स्थापनाका लागि अनुरोध गरिएको महानगर प्रमुख दाहालको भनाइ छ ।

प्रयोगशाला स्थापनाका लागि पशुपंक्षी प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रयोगशालाको मंगलबार निरीक्षण गरिएको थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको जैविक प्रविधि केन्द्रसहित विश्वविद्यालयमा दुईवटा आरटी पीसीआर मेसिन छन् । त्यस्तै क्यान्सर अस्पताल र पशुपंछी प्रयोगशालामा एक/एक वटा पीसीआर मेसिन छन् ।

संघीय सरकारले हरेक प्रदेशमा कोरोना परीक्षण गर्ने ल्याब स्थापनाको निर्णय गरी हेटौडामा ल्याब स्थापना गर्ने तयारी गरेपछि चितवनका सरोकारवालाले जिल्लामा पनि ल्याब स्थापनाको पहल थालेका थिए ।

मेडिकल सिटीको उपमा पाएको चितवनमै ल्याब स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।

कोरोना संक्रमणको स्क्रिनिङ, ओपीडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना विशेष अस्पताल र भरतपुर अस्पतालमा बिरामीबाट निकालिने स्वाब गाडीमा राखेर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ ।

स्वाब काठमाडौं पठाएर लामो समय कुर्नुपर्ने झन्झटबाट यहाँका स्वास्थ्यकर्मी चिन्तित छन् । अहिले आन्तरिक हवाइ उडानसमेत बन्द भएकोले गाडीमा राखेर स्वाब पठाउने गरिएको कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment