Comments Add Comment

कोरोना अस्पतालमा भएको मृत्युबारे छानबिन गर्न माग

२० चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको विषयमा विभिन्न राजनीतिक दलहरुले छानबिनको माग गरेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ वर्षका बाबुराम थापाको कोरोना अस्पतालमा भएको मृत्युको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानबिन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सांसद फखरुद्दिन खान र रमा अर्यालले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही भएको भन्दै सर्वपक्षीय स्वतन्त्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।

त्यस्तै दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शब उठाउने वातावरण बनाउन उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना विशेष नामाकरण गरिए पनि अस्पतालमा भेन्टिलेटर,आईसीयू जस्ता आवश्यक उपकरण जडान नै नगरी अस्पतालमा विरामी भर्ना गर्नु, १३ गते भर्ना भएका विरामीको चार दिनसम्म स्वाब परीक्षण गर्न नपठाउनु अस्पताल र चिकित्सकको गम्भीर लापरवाही हो भनिएको छ ।

उनीहरुले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुईजना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।

समाजवादीले भन्यो –लापरवाही भयो

समाजवादी पार्टी प्रदेश ५ समितिले पनि ‘कोरोना विशेष’ अस्पतालमा ज्यान गुमाउनु सरकारको लापरवाही भएको ठहर गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि १२ वटै जिल्लाको सूचना संकलन, विश्लेषण र रणनीति बनाउन, खर्च व्यवस्थापन पारदर्शी बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउन माग गरेका छन् ।

समाजवादी पार्टीले कोभिड–१९ को सम्भावित जोखिमको अवस्थामा उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको वीमा र तलब स्केल बराबरको भत्ताको व्यवस्था सहित प्याकेज ल्याउन पनि प्रदेश सरकारसंग माग गरेको छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले पनि थापाको मृत्युमा अस्पताल र चिकित्सकको लापरवाही देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । नगर सभापति खेलराज पाण्डेले बिहीबार विज्ञप्तिमार्फत दोषीलाई कारबाही र पीडित परिवारलाई राहत दिन पनि माग गरेका छन् ।

उनले लकडाउनको मारमा परेकालाई राहत वितरण एकलौटी नगरी सर्वदलीय र सर्वपक्षीय समितिमार्फत गर्न पनि माग गरेको छ । स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन र मनोबल उच्च राख्न सहयोग गर्न तथा एम्बुलेन्स चालकलाई पनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समिति अध्यक्ष निरतप्रताप खाँणले पनि कोरोना अस्पतालको लापरवाहीले ज्वरोका विरामीको मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् । यसअघि क्षत्री युवा समाज प्रदेश ५ ले पनि थापाको मृत्युमा अस्पतालको लापरवाही भन्दै पीडित पक्षको माग सम्बोधन गर्न सरकारसंग माग गरेको थियो ।

ज्वरोको समस्याका कारण चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका पाल्पा रिब्दिकोट ५ कुसुमखोला घर भई सैनामैना–४ मा बस्दै आएका थापालाई धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको चौथो दिन थापाको चैत १६ गते मृत्य भएको थियो ।

उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको र दोस्रो दिन मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । थापाको मृत्युपछि अस्पतालको लापरवाही भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यो पनि पढ्नुहोस बुटवलको कोरोना अस्पतालबाट उठेन थापाको शव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment