Comments Add Comment

कोरोनाले जन्माएका थरीथरीका समाजसेवी

अहिले सुनिन्छ, फलानाले एक बर्षको तलव दिए । चिलानाले एक महिनाको तलब दिए । अर्कोले यति रकम दिए, उति रकम दिए ।

यसरी समाजको हितका लागि पैसा दिनु राम्रो कुरा हो । तर, त्यो रकम दिने व्यक्ति राज्यका कुनै न कुनै पदमा आसीन छन् । यसरी एक बर्षसम्मको रकम दिँदा परिवार र उसको व्यवहार कसरी चल्छ भनी जनताले प्रश्न उठाउँछन् । र, उमाथि आंशकासमेत पैदा हुन जान्छ ।

सबैले समाजसेवा गर्नु नै पर्छ भन्ने पनि छैन । समाजसेवामा पैसा केही हो । तर, सबथोक होइन भन्ने बुझ्न पनि जरुरी छ । पैसाले मात्र समाजसेवा हुन्छ भन्नु एक प्रकारको दम्भ मात्र हो । समाजसेवा त तन मन र वचनले पनि हुन्छ भनेर मनन गर्न सक्नुपर्छ । समाजसेवाका लागि आधारभूत सर्त पैसा होइन, इच्छाशक्ति हो ।

मानिसका आवश्यकताहरुलाई विद्धान मास्लोले आधारभूत आवश्यकता र अतिरिक्त आवश्यकता गरी दुई भागमा उल्लेख गरेका छन् । उनले भनेका छन्– जब मानिस आधारभूत आवश्यकता परिपूर्ति गर्दछ, तब ऊ अतिरिक्त आवश्यकता प्राप्तितर्फ उन्मूख हुन्छ । त्यसमा पनि आत्मसम्मानको आवश्यकता परिपूर्ति गर्न मानिस अहोरात्र लागि पर्छ । हो, उनले भनेझैं मानिस मान, सम्मान, इज्जत र प्रतिष्ठा जस्ता कुराहरुका लागि मरिमेट्छ ।

कोही मानिसलाई सामान्य नमस्कारसम्म गर्दियो भने उ अत्यधिक खुसी हुने गर्छ । मानिस आफ्नो तारिफ चाहन्छ । प्रशंसा चाहन्छ । सबैले मलाई मानीदिउन्, मलाई सम्मान गरुन् र म समाजमा ठूलो मान्छे हुँ भन्ने अन्र्तमनको भावनाले उसलाई पिरोलिरहेको हुन्छ । यस्तो मनोविज्ञानबाट बाँचिरहेको मानिस समाजमा प्रतिष्ठित हुन सकी–नसकी भए पनि समाजसेवाको सहारा लिन पुग्छ ।

नेपालमा समाज कल्याण ऐन, २०४९ क्रियाशील छ । उक्त ऐनको दफा (क) मा समाज कल्याण कार्य भन्नाले ‘समाजका कमजोर, असहाय र असक्त व्यक्तिका लागि सेवा पु¥याउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिकरूपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनुपर्छ ।’ भनी उल्लेख गरिएको छ ।

त्यस्तै, उक्त ऐनकै दफा (ख) मा समाज सेवा भन्नाले ‘नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रूपमा गरिने समाज कल्याण कार्य सम्झनुपर्छ ।’ भनी व्याख्या गरको छ ।

उल्लेखित परिभाषालाई हेर्दा समाजसेवामा कुनै कुण्ठित भावना र लक्षित स्वार्थ नहुने कुरा उल्लेख गरेबाट पनि बुझिन्छ कि समाजसेवा एक पवित्र कार्य हो । यस्तो पवित्र कार्य उपर प्रश्न उठाउनु राम्रो होइन । तर, समाजसेवाका नाममा गरिएका अवाञ्चित गतिविधि र क्रियाकलाप समाजमा पचाउन नै गाह्रो परिरहेको सन्दर्भमा छलफल गर्नु आवश्यक छ । यो छलफल मार्फत् वास्तविक समाजसेवीलाई आघात पु¥याउने किमार्थ कुनै योजना होइन । तर, समाजसेवाका नाममा भएका जथाभावी गतिविधि नियन्त्रण होस् भन्ने उद्देश्य चाहिँ पक्कै हो ।

कोरोना भाइरसको महामारीसँगै नेपाली समाजमा छ्यापछ्याप्ती समाजसेवीहरु पैदा भएका छन् । यसअघि २०७२ सालमा भुइँचालो गएका बेला पनि धेरै मानिसहरु समाजसेवी भए । अहिले घर–घरमा समाजसेवी जन्मिएका छन् ।

कोरोनाको प्रकोपसँगै केही मान्छेहरु भविष्यमा केही पाउने सुशुप्त अभिलाषा राखेर सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन मरिहत्ते गरिरहेको देखिन्छ । विभिन्न आवरणमा सामाजिक सेवामा लागेको छु भनेर देखाउनेको भीड बढेकोे बढ्यै छ । समाजसेवालाई सस्तो बिषयबस्तु बनाइँदै छ । समाजसेवालाई मजाकका रुपमा लिनेको पनि यहाँ कमी छैन ।

समाज सेवा भनेको समाजका लागि गर्ने निस्वार्थ कार्य हो । कोरोना प्रकोपमा कतिपयले समाजमा राम्रैसँग सेवा गरेका पनि छन् । तर जति समाजसेवी छन् ती सबैले निहीत स्वार्थमा रहेर समाजसेवाको अभिनय गरेका छन् । समाजसेवा व्यक्तिगत स्वार्थ भन्दा धेरैमाथिको काम हो । समाजसेवी भन्नेबितिकै समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्ने कामलाई बुझिन्छ । समाज सेवा एक पुन्य काम हो । समाज सेवा भनेको एउटा परोपकार हो ।

समाज सेवाको नाममा अहिले कलङ्कहरुको जमात बढिरहेको देखिन्छ । समाजसेवाको बाहानामा कतै ब्रम्हलूट पनि भएको देख्न सकिन्छ । कतिपय अवस्थामा यस्ता नाम मात्रका समाजसेवीका कारण समग्र समाजसेवामा कालो धब्बा र बादल लागेको छ ।

कतिपय समाजसेवीहरु समाजमा गन्हाएका पनि छन् । कोरोना प्रकोपसँगै गरिव, असहाय, अशक्त र विपन्नहरुलाई कतिपय संघ–संस्था र व्यक्तिले राहत बाँड्ने काम गरेका छन् । समाजमा जो सक्षम छ, जो संग पैसा छ उसले नै यस्ता राहत वितरण गर्ने हो । तर, अरुसँग भिख मागेर, दाह्रा ङिच्च पारेर आफू समाजसेवी हुँ भन्ने चिनाउन जुन काम गरिरहेका छन्, त्यो सरासर गलत हो ।

कलियुगको समाजसेवा स्वार्थरहित हुन सकेन । जसले स्वार्थ र फलका लागि समाजसेवाको अभिनय गर्छ, त्यसले समाजसेवा शब्दको अपमान गरेको ठहर्छ । अचेल समाजसेवा व्यवसायका रुपमा परिणत भएको छ । पैसावाल मानिस मान, सम्मान, इज्जत र प्रतिष्ठाको भोको भएको छ । कसले कति हजार, कति लाख दिने भन्ने होडबाजी चलेको छ । दोसल्ला र खादाको प्यासमा भएको समाजसेवालाई समाजसेवी भनिँदैन । यो त कलाकारिता मात्र हो ।

समाजसेवी बन्नलाई अहिले रहर र लहर दुवै चलेको छ । लहडमा समाजसेवा हँुदैन र हुने कुरा पनि हैन । त्यसका लागि त ठूलो योगदान, धैर्यता र लगनशीलता चाहिन्छ । लामो समयसम्म समुदायको हितमा कार्य गरेको हुनुपर्छ । व्यवस्थित ढंगबाट लामो समयसम्म समाजप्रति त्याग, तपस्या र समर्पण गरे पछि मात्र समाजसेवी बनिन्छ ।

खहरे खोलाजस्ता समाजसेवीहरुकोे देखाउने दाँत एउटा छ भने चपाउने दाँत अर्को छ । समाजको समृद्धि र विकासका लागि सामाजिक कार्य हुन जरुरी छ । तर देखाउनलाई र हल्ला गर्नलाई मात्र समाजसेवा आवश्यक छैन । सामाजिक न्यायका पक्षमा समाजसेवा हुन पर्छ । समाजसेवामा सामाजिक इमान्दारिताको खाँचो हुन्छ । समाजको आवश्यकता र नागरिकको मागलाई सही ढंगले सम्बोधन गर्न सक्ने समाजसेवी बन्नु पर्छ ।

यस्ता नक्कली समाजसेवीलाई राज्यले तुरुन्त एउटा सिस्टममा ल्याउनुपर्छ । समाजमा जथाभावी जे पायो त्यही गर्न दिनुहुँदैन । राहतका नाममा जथाभावी जसलाई पायो, त्यसलाई बस्तुको वितरण गर्न दिनुहुँदैन । एकद्वार नीति अवलम्बन गरी जसलाई अत्यावश्यक छ, उसलाई मात्र राहत उपलब्ध गराउनुपर्छ ।

अन्तर्मनदेखि समाजसेवा गर्ने चाहना हुनेले राज्यको नीति नियमभित्र रहेर गर्नुपर्छ । सरकारले कानून बनाएर समाजसेवीलाई पहिचान गरी उनीहरुको क्षमता र कार्यमा आधारमा श्रेणीबद्ध गरी समाजसेवाको मार्गलाई अगाडि बढाउन जरुरी छ ।

एउटा माक्स लगाएर पाँच/दश के.जी. चामल र दुई/तीन लिटर खाने तेल बोकेर एक दुई गाउँ टोल कुदेर फोटो खिचेर सामाजिक सञ्जालमा चर्तिकला देखाउने काम समाजसेवा होइन । बेलैमा सबै सचेत हौं । वास्तविक समाजसेवीलाई प्रोत्साहन गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment