+
+
Shares

राहत पाउने आशामा टन्टलापुर घाममा…

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ चैत २१ गते १८:१८

२१ चैत, काठमाडौं । मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीमा शुक्रबार मान्छेहरुको लामो लाइन लाग्यो । जोखिम मोलेरै लाइनमा बस्नु कसैको रहर थिएन । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनका कारण हातमुख जोड्न मुस्किलमा परेका परिवारका सदस्यहरु जोखिमको बेवास्ता गर्दै लाइनमा आएका थिए ।

सरकारले देशभरका गरिब, विपन्न, मजदुर वर्गलाई राहत बाँड्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार सबै स्थानीय तहहरुले लकडाउनबाट प्रभावितहरुको तथ्यांक संकलन गर्दै राहत वितरण गर्दै आएका छन् ।

मध्यपुर थिमी नगरपालिकाको नगर समिति सदस्य सूर्यमान मुस्यानका अनुसार एक नम्बर वडामा करिब चार सय जना गरिब विपन्नको सूचीमा सूचिकृत भएका छन् । तर, शुक्रबार तीन सय जनालाई मात्रै राहत बाँडिएको छ ।

वडानम्बर एकको नसस क्लब अध्यक्षसमेत रहेका मुस्यानले भने, ‘राहत बाँड्ने भनेपछि जो पनि लाइनमा आएर बसिदिँदा सबैलाई राहत पुर्‍याउन समस्या भएको छ । एकअर्का बीचको दुरी कायम गर्न पनि एकदमै गाह्रो भयो ।’

स्थानीय युवाहरुको सक्रियताका बीच पनि सबैलाई शुक्रबार नै राहत दिन सम्भव नभएपछि कतिपयको नाम मात्र टिपेर फर्काइएको छ । राहत पाउने आशामा टन्टालपुर घाममा उभिएकाहरु नाम टिपाएर रित्तो हात फर्किन बाध्य हुँदा निराश देखिन्थे । जतिले राहत पाए, उनीहरुको अनुहार भने चम्किलो थियो ।

मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडा छन् । हरेक वडामा राहत बाँड्नका लागि पाँच-पाँच लाख निकासा गरिएको छ ।

नगरपालिकाका एक जना शाखा अधिकृतका अनुसार बिहीबार वडा नम्बर २, ३ र ९ का सात सय २० परिवारलाई राहत बाँडिएको थियो ।

चार जनाको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, २ किलो चिउरा र एउटा नुहाउने साबुन वितरण गरिएको छ ।

यसैगरी, चार जनाभन्दा बढीको परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, २ किलो चिउरा र एउटा नुहाउने साबुन दिइएको छ ।

वडानम्बर एकमा सुकुम्बासी बस्ती पनि छ । सो बस्तीमा रहेकाहरुलाई डायल नामको एक संस्थाले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?