Comments Add Comment

मोरङमा वनरक्षक र शिकारीबीच गोली हानाहान, तीनजना पक्राउ

२१ चैत, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने वनमा शुक्रबार दिउँसो सशस्त्र प्रहरी र वनरक्षकको संयुक्त गस्ती टोली र शिकारी समूहबीच गोली हानाहान भएको छ ।

वनमा शिकार खेल्न हिँडेको समूहको पछि लाग्दै पुगेको सशस्त्र प्रहरी र वन रक्षकको टोलीलाई शिकारी समूहले नौ राउण्ड गोली प्रहार गरेको थियो ।

जवाफमा सात राउण्ड हवाई फायर गरी शिकारीको समूहका तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरले जानकारी दिए ।

वनरक्षकको टोलीले केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षीय गन्मरबहादुर जोगी, सोही स्थानका २७ वर्षीय किसन कार्की र झापा बुद्धशान्ति ३ धाइजनका किरण धिमाललाई पक्राउ गरेको हो ।

शिकारीका साथबाट दुई नाल भरुवा बन्दुक, दुई सय ग्राम बारुद र केही छर्रा बरामद भएको घिमिरेले बताए । पक्राउ परेकाहरुलाई वन ऐन र हात हतियार खरखजाना ऐन कानुनी कारबाही अगाडि बढाइने उनले बताए ।

घिमिरेका अनुसार वनमा २५ जनाको समूह शिकारी खेल्न गएको थियो । तीन जना पक्राउ परे पनि अन्य फरार भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने लोहोन्द्रा केराबारी साझेदारी र सलकपुर सामुदायिक वनको बीचमा पर्ने राष्ट्रिय वनभित्र पुगेपछि गोली हानाहान भएको थियो ।

घिमिरेका अनुसार लकडाउनका समयमा चोरी शिकारीको समूह बनाएर जंगलमा डढेलो लगाउँदै सिकार खेल्न गएका थिए ।

‘तीन दिनअघि पनि मोरङ पथरीमा शिकारीको समूह हामी पुगेपछि भागे,’ उनले भने ‘शुक्रबार गस्ती गर्दा जम्काभेट भयो ।’ लकडाउनको समयमा वनमा कोही नपुगेको अवस्थामा सिकारीको समूह सक्रिय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment