Comments Add Comment

प्रयोगकर्ताको जासुसी गर्न फेसबुकले ह्याकिङ सफ्टवयर खरिद गर्न खोजेको खुलासा

अनलाइन जासुसी तथा ह्याकिङसम्बन्धी इजरायली सफ्टवेयर निर्माता कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप ह्याक गरेको आरोप खेपिरहेको छ । विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट ह्याक गरी विभिन्न देशका सरकारहरूलाई त्यहाँका विद्रोही नागरिकहरूका बारेमा सूचना दिन सहयोग गरेको आरोप उक्त कम्पनीमाथि लगाइएको छ । ह्वाट्सएप ह्याक गरेको अभियोगमा फेसबुकले एनएसओ ग्रुपमाथि मुद्दा हालिसकेको छ ।

तर ह्वाट्सएप ह्याकिङ गरेको अभियोगमा इजरायली कम्पनीलाई कानूनी कठघरामा उभ्याउनु फेसबुकका लागि महँगो पर्ने देखिएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको जासुसीका लागि ३ वर्षअघि एउटा जासुसी सफ्टवयर खरिदको प्रयास गरेको खुलासा एनएसओ ग्रुपले गरिदिएको छ ।

फेसबुकले सन् २०१७ मा आफूसँग एउटा जासुसी सफ्टवयर खरिद गर्ने प्रयास गरेको र उक्त सफ्टवयरको उद्देश्य फेसबुकका प्रयोगकर्तामाथि निगरानी गर्नु रहेको एनएसओको दाबी छ ।

एनएसओ ग्रुपले विभिन्न निरंकुश देशका सरकारहरूको आग्रहमा विभिन्न व्यक्तिका ह्वाट्सएप अकाउन्ट ह्याक गरी सूचनाहरू सरकारलाई उपलब्ध गराउने गरेको जिकिर फेसबुकको छ । एनएसओले साउदी अरबलाई सहयोग पुग्नेगरी अमेजन कम्पनीका मालिक जेफ बेजोस तथा हत्या गरिएका वासिंटन पोष्टका पत्रकार जमाल खसोग्जीसमेतको ह्वाट्सएप अकाउन्ट ह्याक गरेको फेसबुकले अभियोग लगाएको छ ।

आफूमाथि अदालतमा परेको मुद्दाको प्रत्युत्तर पेस गर्ने क्रममा एनएसओ ग्रुपले फेसबुकमाथि गम्भीर आरोप लगाउँदै प्रयोगकर्ताको स्मार्टफोनका डाटाहरूमा समेत निगरानी गर्न सकिने जासुसी सफ्टवयर फेसबुकले आफूसँग खरिद गर्ने प्रयास गरेको खुलासा गरेको छ । उक्त प्रयोगकर्ताको निगरानी गर्न प्रयोग गरिने उक्त सफ्टवयरको नाम पेगासस हो ।

एनएसओ ग्रुपले पेस गरेको प्रत्युत्तरमा भनिएको छ, ‘एप्पल डिभाइसका फेसबुक प्रयोगकर्ताहरूमाथि निगरानी गर्न फेसबुकले पेगाससको उपयोग गर्ने योजना बनाएको थियो ।’

स्मरणरहोस्, सन् २०१७ मा फेसबुकले Onavo Protect नामक एप बनाइरहेको थियो । जसले प्रयोगकर्तालाई भर्चुअल प्राइभेट नेटवर्क सेवा उपलब्ध गराउँथ्यो । साथै यसले प्रयोगकर्ताको स्मार्टफोनका एप डाटाहरू समेत ट्रयाक गर्ने गरेको थियो ।

तर एप्पलको दबावपछि फेसबुकले सन् २०१९ मा एप स्टोरबाट उक्त एप हटाउन बाध्य भएको थियो ।

यसअगावै नै फेसबुकले आफ्नो उक्त एपको डाटा संकलन क्षमता बढाउनका लागि पेगासस सफ्टवयर खरिद गर्ने प्रयास गरेको जिकिर एनएसओ ग्रुपको छ ।

तर एनएसओले फेसबुकको उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको छ । आफूले आफ्ना सफ्टवयर कुनै कम्पनीलाई नभई सार्वभौम सरकार वा सरकारी एजेन्सीलाई मात्र बेच्ने भएकाले फेसबुकलाई सफ्टवयर बिक्री नगरेको दाबी उसको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment