Comments Add Comment

पल भन्छन्: संघर्ष गरेर आएको हुँ, अरुको दुख बुझ्छु

नायक पल शाहले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने घोषणा गरेसँगै धेरैले उनको तारिफ गरिरहेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकलाई सहयोग गर्ने बताएका थिए ।

कोरोनाको संक्रमण फैलन नदिन भन्दै सरकारले अहिले देशब्यापी लकडाउन गरेको छ र यसले धेरैलाई रोजिरोटीको संकट परेको छ । चलचित्र प्राविधिकहरुको अवस्था पनि यस्तै नै हो । अहिले चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् ।

आफूले पनि अभावका दिनहरु भोगेर आएकाले सहयोग गर्न मन लागेको बताउँछन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’

दैनिक काम गरेर पेट पाल्ने प्राविधिकहरु अहिले आफ्नो कोठाभाडा तिर्न सक्ने पनि अवस्था नरहेको उनले बुझेका छन् ।

पलले भने, ‘म अहिले पनि भाडामा नै बस्दै आएको छु । त्यसैले भाडामा बस्नेहरुको पीडा थाहा छ ।’

आफूसँग पैसा बढि भएर सहयोग गर्न नलागेको उनी बताउँछन् । उनले भने, ‘दुःख गरेर आएको मान्छे हुँ । पैसा चिनेको छु । मेरो लागि १ हजारले पनि निकै महत्व राख्छ । त्यही पनि मेरो भन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।’

पल आफैँले प्राविधिकलाई भेटेर सहयोग दिने योजनामा छन् । उनले भने, ‘मैले एकमुष्ठ सहयोग कसैलाई दिएँ भने कसलाई जान्छ जान्छ ? त्यसैले विपन्न तथा आर्थिक स्थिति कमजोर बनेकाहरु छनोट गरेर आफैँले दिने निर्णय गरेको छु ।’

प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले विपन्नको लिस्ट तयार गरेर पललाई दिनेछन् । सोही आधारमा पल र पुस्करले नै एकमुष्ठ रुपमा राहत दिने तयारी गरिरहेका छन् ।

पल आफूले दिएको सहयोगले मात्र प्राविधिकहरुको गुजारा नचल्ने बताउँछन् । उनले थपे, ‘प्राविधिक धेरै हुनुभएकाले मैले दिएको सहयोग नगण्य हुन्छ होला । त्यसैले हरेकले आफ्नो तर्फबाट सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment