Comments Add Comment

कोरोनाका कारण छ मिनेट अन्तरमा मृत्युवरण गरेका यी दम्पती

२२ चैत, काठमाडौं । केही हप्ता अगाडिसम्म पनि स्टुआर्ट र उनकी पत्नी याड्रिन बेकर पूर्ण स्वस्थ थिए ।

करिब ५१ वर्ष अगाडि वैवाहिक सम्बन्ध बाँधिएको यो अमेरिकी जोडी कहिल्यै छुट्टिएन । दुवैले आफ्नो अवकाशपछिको जीवन आनन्दसँग फ्लोरिडाको बोइन्टन बीचमा बिताइरहेका थिए । खासै स्वास्थ्य समस्या पनि केही थिएन । तर मध्यमार्चदेखि उनीहरू बिरामी परे ।

गत आइतबार दुवै जनाले अन्तिम सास फेरे, जम्माजम्मी छ मिनेटको अन्तरमा । विश्वलाई सताइरहेको कोरोनाभाइरस सङ्क्रमण दुवैका लागि काल बनेर आयो । स्टुआर्ट ७४ वर्षका थिए भने याड्रिन ७२ ।

आफ्ना आमाबाबुको निधन भएपछि उनीहरूका छोरा बड्डिले कोरोनाभाइरसको प्रकोपबारे गम्भीर हुन सबैलाई आह्वान गरेका छन् । उनले ट्विटरमा सेयर गरिएको एक भिडियोमा सबैलाई सामाजिक दूरी कायम गर्न र घरमै बस्न आग्रह गरेका छन् ।

“यसले तपाईँ वा तपाईँले चिनेजानेका कसैलाई नछोएसम्म वा तपाईँले यस्ता कथा नसुनेसम्म तपाईँलाई यसबारे केही मतलब हुँदैन,” उनले सिएनएनलाई भनेका छन्, “तर मलाई आशा छ मेरा आमाबाको मृत्यु निरर्थक हुनेछैन ।”

सिएनएनसँगको फोन अन्तर्वार्तामा बड्डिले आफ्ना आमाबालाई कोभिड १९ले कसरी आक्रमण गर्यो भन्नेबारे विस्तृतमा कुरा गरे । उनका अनुसार आफूहरूलाई बिसन्चो भएपछि वृद्ध दम्पती करिब तीन हप्ता अगाडि डाक्टरकोमा गएका थिए । तर डाक्टरले उनीहरू दुवैलाई घर पठाइदिए ।

घर फर्किए पनि उनीहरूको बिमार घटेन । त्यो कुरा डाक्टरलाई सुनाएपछि डाक्टरले फेरि अस्पताल बोलाए । तर अस्पतालले उनीहरूलाई फेरि घरै फिर्ता पठाइदियो । सँगसँगै उनीहरूलाई निको नभएसम्म आफैँ क्वारेन्टाइनमा बस्न पनि भनियो ।

“यो भनेको संसार बन्द हुनु अगाडिको कुरा थियो । त्यति बेलासम्म यो कुराले ज्यानलाई नै जोखिममा पार्छ भन्ने कसैलाई लागेको थिएन,” बड्डि सुनाउँछन् ।

त्यसपछि आफूले आमाबाको स्वास्थ्यबारे बारम्बार चासो राख्दा सुधारको कुनै लक्षण नदेखेको उनी बताउँछन् । बिमार घटबढ भइरहन्थ्यो, आज गाह्रो हुन्थ्यो भने भोलिपल्ट सबै सामान्य ।

डाक्टरहरूसँग कुरा गरेपछि १९ मार्चमा उनीहरूलाई फेरि अस्पताल लगियो । ज्वरो आएका र दमको व्यथा पनि भएका पतिलाई भर्ना गरियो । पत्नीलाई ज्वरो थिएन, भर्ना गरिएन ।

बड्डिका अनुसार परिवार त्यति बेलासम्म दुवैलाई निको हुन्छ भन्ने कुरामा आशावादी थियो । उनले अस्पताल भर्ना भएका बाबुसँग फोनमा नियमित कुरा गरेका थिए । उनको आवाज सुन्दा लाग्थ्यो– बाबैले यो लडाइँ जित्छन् ।

तर त्यसको ४८ घण्टामा उनलाई आइसियुमा सारियो । हुन त परिवारको आशा अझै गुमेको थिएन । उनलाई दिइएको अक्सिजनको मात्रा घटाइएको थियो, अर्थात् केही न केही सुधार हुँदै थियो ।

उता पत्नी भने घरमै थिइन् । उनलाई न ज्वरो थियो, न चिन्ता गरिहाल्नुपर्ने अरू केही । पतिलाई अस्पताल राखिएको कुराले अलिअलि पिरोल्नु त स्वाभाविक नै थियो ।

“आमाको चिन्ताको एक मात्र कारण बासँग पाँच दिनसम्म छुट्टिनुपरेकाले होजस्तो हामीलाई लाग्यो । उहाँहरूको पहिलो भेट भएपछि पाँच–पाँच दिन छुट्टिएको घटना विरलै भएको थियो,” बड्डि सुनाउँछन् । पति अस्पतालमै रहँदा वृद्ध दम्पतीका दुवै छोराछोरीले आमालाई भेटेका थिए ।

तर अकस्मात् मार्च २४ मा दुवैलाई अस्पतालबाट फोन आयो । डाक्टरहरूले बताए कि उनीहरूका बा स्टुआर्टमा कोरोनाभाइरस सङ्क्रमण देखियो । अनि, उनी तङ्ग्रिने छाँटकाँट छैन ।

फोन कलले बड्डिलाई तनाव दियो । त्यो खबर आमालाई कसरी सुनाउँ सोच्न सकेनन् । त्यसैले बरु आमालाई पनि अस्पताल लैजाने निधो गरे ।

याड्रिनलाई अस्पताल पुर्याइएको ४५ मिनेटमै उनको पनि परीक्षण भयो । डाक्टरले बड्डिलाई उनकी आमाको शरीरमा अक्सिजन नगण्य रहेको र उनको पनि बाँच्ने सम्भावना अत्यन्त कम रहेको बताए ।

आमाबा दुवैका महत्वपूर्ण अङ्गहरूले काम गर्न छाडेको रिपोर्ट आयो । त्यसपछि बड्डिले स्वास्थ्यकर्मीको परामर्शमा दुवैलाई ‘हस्पिस’ (अन्तिम अवस्थाका बिरामीलाई राखिने अस्पताल) लैजाने तयारी गरे ।

हस्पिसमा दुवैलाई एउटै कोठामा राखियो । सहजताका लागि भेन्टिलेटर निकालियो ।

अनि त्यसको केही दिनमा दुवैले अन्तिम सास फेरे, जम्मा छ मिनेटको फरकमा ।

गत बिहीबार बड्डि, उनका दिदी–बहिनी लगायत परिवारका सबै जना भेला भएर आमा–बालाई श्रद्धाञ्जली दिए । त्यस क्रममा उनले भने, “आशा छ मान्छेहरूले हाम्रो कथा सुनुन् र सही तरिका अपनाउनका लागि प्रेरित होऊन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment