Comments Add Comment

जब बच्चा अति चकचके बन्छन्

बच्चाहरुको आ आफ्नै गुण र स्वभाव हुन्छ । कोही शान्त हुन्छन्, कोही चकचके । चकचक गर्नु नराम्रो होइन । हामीले जुन कुरा चकचक लाग्छ, उनीहरुलाई खेल ठानिरहेका हुन्छन् । मानौं घरमा सजाइएका सामाग्रीहरु बल बनाएर खेल्छन्, एक्युरियम भित्र हात छिराएर माछा समाउन थाल्छन् । खासमा उनीहरुले चकचक गरेको होइनन्, खेलेका हुन् । तर, ति कुराहरु खेलौना होइनन् र खेल्ने तरिका त्यस्तो होइन भन्ने कुरा चाहि बुझाउनुपर्छ ।

बच्चाहरु स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरुलाई हरेक कुरामा उत्सुकता हुन्छ । त्यही उत्सुकता मेट्ने क्रममा कहिले उनीहरुले खेलौना फुटाउँछन्, कहिले फूलहरु चुडाउँछन् । उनीहरुले त आफुभित्र उब्जिएको जिज्ञासा शान्त गर्न त्यसो गरेका हुन्छन्, हामीलाई चाहिँ त्यो चकचक लाग्छ ।

के गर्ने, के नगर्ने वा कसरी गर्ने भन्ने कुरा आमाबुवाले नै बुझाउनुपर्छ ।

कतिपय बच्चा चाहि यस्ता हुन्छन्, जो एकक्षण शान्त बस्नै नसक्ने । चुलबुल गरिरहने । जे देख्नसाथ छुने, चलाउने, फुटाउने, पोखाउने । उनीहरुले पनि जानेर गल्ती गरेका त होइनन् । तर, उनीहरुको यस्तो स्वभावले कतिपय अवस्थामा जोखिम पनि हुन्छ । उनीहरुलाई पूर्णत नियन्त्रण गर्न सकिदैन र त्यो ठिक पनि होइन । तर, उनीहरुको यस्तो प्रवृत्तिलाई सही रुपले व्यवस्थापन गर्न सकिन्छ ।

केही न केही काममा व्यस्त राख्ने

त्यस्ता बच्चाहरु, जो अति नै चुलबुले छन्, उनीहरुलाई त्यस्ता गतिविधिहरुमा व्यस्त राख्नु पर्छ, जसले उनीहरुको शारीरिक उर्जालाई सही दिशामा सञ्चालित गर्न सकून् । उनीहरुलाई नृत्य, खेलकुदसंग सम्बन्धित गतिविधिहरु जस्तै दौड, बास्केटबल, क्रिकेट अथवा स्विमिङ जस्ता खेलकुदका गतिविधिहरुमा सहभागि गराउनु राम्रो हुन्छ ।

दिमागी खेलकुदमा लगाउने

मेन्टल एरोबिक्सले दिमागलाई प्रोत्साहित गर्न, ध्यान केन्द्रित गर्न र धेरै सतर्क बनाउनलाई सहयोग पु¥याउँछ । त्यसैले उनीहरुलाई बल बाउन्स गराउन, बोर्ड गेक्वास जस्ता दिमागी खेलकुदमा सहभागि गराउनु पर्छ । त्यस्ता कुराहरुमा व्यस्त गर्नाले उनीहरुको चुलबुले व्यवहार अर्को दिशामा मोड्न सहयोग पुग्छ ।

प्राकृतिक वातावरणमा रमाउन दिने

टेलिभिजन, प्ले स्टेशन, भिडियो गेम, मोबाइल फोन र कम्प्यूटरहरुको बढि प्रयोगले अत्यधिक सक्रियतामा उत्प्रेरक किसिमले काम गर्न सक्छ । जस्तै कार्टुन र भिडियो गेमहरुमा केही समयपछि धेरै हलचल, तिखो आवाज र भड्किलो रंग देखाइन्छ । त्यस्ता कुराहरुले उनीहरुलाई सामान्य आचरण प्रति गलत संकेत प्रदान गर्छ, जसले उनीहरुको चकचके बानी झन बढ्छ । त्यस्ता ग्याजेटहरुको प्रयोग गर्न दिनु भन्दा बाहिर शान्त, हरियालाी वातावरणमा विभिन्न गतिविधिहरुका लागि लिएर जानु पर्छ । फूल र बगैंचामा खेल्न दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment