Comments Add Comment

भोकमरीको भय

रोगसँग जुधिरहेको विश्व अब भोकसँग कसरी जुध्नेछ ? यो प्रश्न किनपनि उठ्छ भने अहिले विश्व अनुपत्पाक अवस्थामा छ । चाहे कृषि उपजको कुरा गरौं वा उद्यमको । ठप्प जस्तै छ । यो स्थिती कहिलेसम्म रहन्छ ? यो प्रश्नको पनि ठोस उत्तर छैन ।

यदि अहिलेकै अवस्था अरु केही समय लम्बिने हो भने यसले भोकको आयतन बढ्नेछ । यसो भन्नका लागि केही आधार छन् ।

एक, अहिले खेती–किसानीको काम नराम्ररी प्रभावित भएको छ । जनश्रमको अभावमा अन्न–उत्पादनको गति रोकिएको छ ।

दुई, मासुजन्य उत्पादन र आपूर्तिमा अवरोध छ । मासुजन्य परिकारले नै हाम्रो खाद्यन्नको ठूलो माग पूर्ति गर्दै आएको तथ्यांक छ ।

तीन, विश्वमा आर्थिक मन्दी छाउँदैछ । र, मान्छेको क्रय–क्षमता घट्नेछ ।

चार, खानेकुराको माग उच्च हुनेछ र आपूर्ति कम हुनेछ । यसले बजार अचकल्ली महंगिनेछ ।

भलै यो स्थिती नआउन सक्छ । यद्यपि ढुक्क हुन सकिने आधार पनि छैन । विश्वमा भोकमरी सुरु भयो भने के होला ? रोग र शोकको अर्को विच्छृखंलता सुरु हुनेछ । हाहाकार मच्चिनेछ ।

माटो खाने दिन

पर्ल एस बकको विख्यात उपन्यास ‘द गुड अर्थ’मा भोकमरीको कहालिलाग्दो प्रसंग छ, जुन प्राचिन चिनियाँ समाजको कथा हो । भोकमरीको अवस्था कतिसम्म रहन्छ भने घरमा खानको लागि केही बाँकी रहँदैन । मकैको खोयादेखि रोप्न राखिएको सिमीको बिउसम्म जतन गरेर खाँदा पनि भण्डार रित्तिन्छ । आफ्नो गाईबस्तु खाएर बाँकी रहेको हड्डी पनि सकिन्छ । माटो खानुपर्ने स्थिती आउँछ । यस्तोमा भोक सहन नसकेर कतिपयले आफ्ना मृत्त बालबच्चाकै मासु खान्छन् ।

चीनले भोकमरीको भयानक संकट झेलेकाले नै हुनुपर्छ, कृषि–प्रणालीमा उक्त मुलुकले ठूलो छलाङ मा¥यो । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुकले खानेकुरामा आफुलाई निर्भर मात्र बनाएन, विश्व बजारमा आपूर्ति समेत ग¥यो ।

‘कृषिप्रधान’ भनिएका हाम्रो मुलुक त चीनकै माटोमा उत्पादित स्याउदेखि प्याजसम्म खपत गरिरहेको छ । के भनाई छ भने, कुनैबेला भोकमरीको संकट झेलेका कारण अहिले चिनियाँहरु मनलाग्दी ढंगले खानेकुरा खान्छन् । उनीहरुको थालीमा आवश्यक्ताभन्दा बढी परिकार हुन्छन् ।

यो भनाईलाई पत्याउने एउटा आधार भनेको नेपाल घुम्न आउने चिनिया पर्यटकको शैली पनि हो । पर्यटनमा आवद्ध व्यवसायीहरुका अनुसार नेपालमा सर्वाधिक खर्च गर्ने पर्यटक चिनियाँ नै हुन् । उनीहरु खानेकुरामा मन खोलेर खर्च गर्छन् । उनीहरु रेष्टुरेन्टमा त्यती नै खाना अर्डर गर्छन्, जसको आधा खानाले उनीहरु भरपेट हुन्छन् ।

संभावित भोकमरीबाट बच्ने अभ्यास

पछिल्लो समय चीनले आफुसँग उपलब्ध अन्नबाली मात्र होइन, खानेकुराको अन्य स्रोत पनि बढाइरहेको थियो । प्रकृतिमा उपलब्ध किरा–फट्याग्रासमेत परिकारको रुपमा पस्कने अभ्यास हुँदै थियो । हेर्दै घिन लाग्ने र छुन डर लाग्ने जीवजन्तुलाई आफ्नो आहार बनाउन सकिन्छ भनी अभ्यास र खोज गरिरहेका थिए ।

खासमा खानपान सम्बन्धिको एक दूरदर्शी योजनाकै रुपमा उनीहरुले यस्तो अभ्यास गरिरहेको बताइन्छ । किनभने अहिले मूख्य खाद्यन्नको रुपमा रहेको धान, गहुँ, मकै, जौं आदिको उत्पादन क्षेत्र र क्षमता घढ्दो छ । त्यस अनुपातमा खाने मुख बढेको बढ्यै छ । भोलिको दिनमा यी खानेकुराले मात्र मान्छेको पेट भरिने छैन । खाद्य संकट आउनेछ ।

त्यही संभावित खतराबाट बच्नका लागि आजकै दिनमा ति खानेकुराहरुको खोज र अभ्यास भइरहेको बताइन्छ, जो प्रकृतिमा उपलब्ध छ । जस्तो फट्यााग्रादेखि चमेरासम्म ।

किरा फट्यांग्राको उपभोग 

ति मुलुकमा किरा फट्यांग्रालाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्न थालेको एक रिपोर्टमा उल्लेख छ । के पनि तर्क गरिएको छ भने, भोलिका दिनमा किरा फट्यांग्राको व्यवसायिक पालन (जसरी अहिले भेडाबाख्रा पालिन्छ) गरियो भने त्यसले पर्यवरणलाई ठूलो सघाउ पु¥याउनेछ । ‘यसका लागि गाई, सुँगुर र कुखुराजन्य उत्पादनभन्दा एकदमै कम प्राकृतिक संसाधन लाग्छ । साथै ग्रीनहाउस ग्यासको उत्सर्जन पनि कम हुनेछ ।’ भनी एक लेखमा उल्लेख छ ।

अमेरिकी ग्लोबल मार्केट इनसाइट्सको रिपोर्ट अनुसार उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको बढ्दो मागको कारण खान लायक किराको बजार सन् २०१७ मा पाँच दशमलव पाँच करोड डलरबाट बढेर सन् २०२४ मा ७१ करोड डलर हुनेछ । यसबाट किटपालनको क्षेत्रमा क्रान्ति आउने र कृषि क्षेत्रको एउटा अहंम हिस्सा हुने उक्त आलेखमा जनाइएको छ ।

तर, यही खोज, अभ्यास एवं प्रयोग अहिले विश्वको लागि घातक सावित भइदिएको छ । अनुमान गरिएको छ, कोभिड–१९ चमेरो र सालकमध्ये एक जन्तुबाट फैलिएको हो । वुहानको मासु बजारमा उपलब्ध यि जीवजन्तु नै कोरोना भाइरसको कारक मानिएको छ ।

अप्राकृतिक शैली, संकटको शृंखला 

चर्चित पत्रकार विजयकुमारले लकडाउनको वर्तनमा अवस्थालाई लक्षित गर्दै युट्युब भिडियो बनाएका छन्, जसमा चिनिया मासु उपभोक्ताको यही प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । उनको भनाईको सार के छ भने, शरीर प्रकृतिकै एक अंश हो । यसलाई जब प्रकृति विरोधी बनाइन्छ, गडबड सुरु हुन्छ । सालक, चमेरो खासमा मानव शरीर मैत्री खानेकुरा होइनन् ।

उनले सालक वा चमेरो मात्र होइन, कुनैपनि मासुजन्य परिकार मानव शरीरको पाचन तन्त्र अनुकुल छैन भन्ने आशय व्यक्त गरेका छन् । साथै यसलाई पर्यवरणलाई असन्तुलन बनाउनमा जिम्मेवार पनि ठह्याएका छन् ।

तर, उनको आशय झै विश्व शाकाहार हुने हो भने के होला ? के यो संभव छ ?

खानपान सम्बन्धितको विभिन्न अध्ययनहरुलाई केलाउँदा तीन वटा रमाइलो तथ्य सतहमा आउँछ ।

एक, विश्वमा अहिले शाकाहारी बन्ने लहड छ । मासुमंस नखाने । यसमा स्वास्थ्यप्रतिको सचेतना र पशुपंक्षीप्रतिको प्रेम दुबै समिश्रण छ ।

दुई, माछामासु मात्र होइन, पशुपंक्षीजन्य कुनैपनि उत्पादन जस्तो कि गाईको दुधसम्म नखानेहरुको जमात पनि बढेको बढ्यै छ । उनीहरु भेगान समूह अन्र्तगत एउटा बेग्लै कित्तामा उभिएका छन् ।

तीन, अचम्मलाग्दो के छ भने विश्वमा मासुजन्य पदार्थको खपत अरु बढेको छ । आयस्रोत र सम्पन्नता मापन गर्ने एउटा इकाई बनेको छ, मासुको खपत । जति जति सम्पन्न हुँदै गएका छन्, मासुजन्य पदार्थको खपत अत्याधिक बढाएका छन् ।

बिबिसीमा प्रकासित एक रिपोर्टमा उल्लेख छ, ‘वैश्विक स्तरमा मांसाहारको खपतमा पछिल्लो ५० बर्षमा तिब्र बढोत्तरी भएको छ । यसको कारण हिजो र आजको जनसंख्या अनुपात पनि हो । तर, यससँगै मान्छेको क्रयशक्ति बढेसँगै मासुको माग पनि बढेको तथ्य त्यहाँ उल्लेख छ ।

लेखिएको छ, ‘विश्वमा मान्छेको संख्या मात्र बढेको होइन । बरु यस्तो मान्छेको संख्या चािहँ बढी छ, जो मासु खानमा खर्च गर्न सक्षम छन् ।’ पश्चिमी देश खासगरी युरोपका धेरैजसो देशमा मासुको खपत बढेको छ । जबकी गरिब देशमा मासुको खपत कम छ । यस्तो अवस्थामा मासुजन्य पदार्थ कटौती गर्ने हो भने के होला ?

शाकाहारी खानाले विश्वको माग धान्न सक्छ ?

विश्वको खाद्य भण्डारबाट मासुलाई कटौती गरिदिने हो भने खानपान र पोषणमा अर्को संकट थपिने विश्लेषण गर्न थालिएको छ । यदि विश्वले मासुमा पूर्णत प्रतिवन्ध लगाएमा सागसब्जीले मात्र खानेकुराको माग धान्ने छैन ।

अर्कोतिर अहिले जुन हिसाबले खेतीबाली गरिएको छ, पर्यावरणका लागि त्यो तरिका पनि निकै खतरनाक भएको बताइन्छ । वैश्विक ग्रीन हाउस ग्यास उत्सर्जनमा मांसाहार र दुधजन्य उत्पादन जति हानिकारक छ, उतिनै खेती प्रणाली पनि ।

के भोकमरी सुरु हुनेछ ?

कृषि प्रणली उन्नत र आधुनिक त भएको छ तर, खेतीयोग्य जमिनको आयतन तिब्र रुपमा घट्दो छ । नेपालको सन्दर्भमा त कृषि कर्म पनि उदासिन छन् । खेती किसानी गर्नेहरु निरास छन् । अर्कोतिर कृषिजन्य उपजलाई खानका लागि मात्र अन्य कुराका लागि प्रयोग गर्न थालिएको छ । साथसाथै उत्पादित खानेकुरा जुठो बनाएर, कुहाएर नष्ट गर्ने प्रवृत्ति व्यापक छ ।

यी सबै कुराहरुले के देखाउँछ भने, भोलिका दिनमा हामी खाद्य संकटका लागि तयार भएर बसे हुन्छ । यसैपनि यो संभावित जटिलता बढेर गएको छ भने अर्कोतिर कोरोना भाइरसको कारण उत्पादन, आपूर्ति र उपभोगमा व्यापक असन्तुलन छ । यसले भोकमरीको पूर्व संकेत दिएको छैन र ?

अब के गर्ने ?

हाम्रो भान्सामा आइपुग्ने धनियाँदेखि जीरासम्म विदेशको माटोमा उत्पादन भएका हुन् । यसको अर्थ यो होइन कि हामीसँग खेतीयोग्य जमिन छैन ।

जमिन छ तर बाँझो । अर्कोतिर हामी खानेकुरामा एकदमै परनिर्भर छौं । एक मुठा धनिया समेत बजारमा निर्भर छौं । खेती किसानीलाई राज्यले नै निरुत्साहित गरेको छ भने विचौलियाले उपभोक्ता र उत्पादकको दुरी बढाइदिएको छ । वित्तिय असहयोग, प्राविधिक संकट, असुरक्षित बजार र अपहेलनामा चेपिएका किसानहरुको नौनाडी गल्दैछ । यसको सोझो असर अन्न उत्पादनमा परेको छ ।

जबसम्म कृषि प्रणालीमा सुधार हुँदैन, तबसम्म हाम्रो भान्सा असुरक्षित रहन्छ । त्यसैले खेती किसानीमा बढी भन्दा बढी लगानी र प्रोत्साहनको बिकल्प छैन । तर, नीति निर्माण एवं नेतृत्व तहमा रहेकाहरुको ढंग अनि व्यवहार हेर्दा खेती किसानीमा यस किसिमको परिवर्तन केवल सपना मात्र हुनेछ ।

अहिले हामी यतिमात्र गर्न सक्छौं, भएको खानेकुरा जतन गर्ने, करेसाबारीको बढीभन्दा बढी उपयोग गर्ने । जहाँ जे हुन्छ, रोप्ने । फलाउने । छत, बार्दली, आँगनलाई उत्पादनशिल र हराभरा बनाउने ।

भोलिका दिनमा खाद्य संकट आइहाल्यो भने हामीले आफ्नो भान्सालाई कसरी सुरक्षित राख्ने ? तयारी अवस्थामा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment