Comments Add Comment

सुदूरपश्चिमका सबै जिल्लामा र्‍यापिड टेस्ट गर्न मुख्यमन्त्रीको माग

२१ दिन क्वारेन्टाइनमा बस्न आग्रह

२३ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका सबै जिल्लामा र्‍यापिड टेष्ट गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा कोरोनाको जोखिम बढेको भन्दै सबै जिल्लामा र्‍यापिड टेष्ट पुर्याउन आग्रह गरेका हुन् ।

संघीय सरकारले बाग्लुङ, कञ्चनपुर र कैलालीमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको भोलिपल्टै मुख्यमन्त्री भट्टले प्रदेशका सबै जिल्लामा टेष्ट आवश्यक रहेको बताएका हुन् ।

‘संघीय सरकारले कैलाली र कञ्चनपुरमा र्‍यापिड टेष्टका लागि टोलि खटाउने निर्णय गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘यस प्रदेशका अन्य जिल्लामा पनि सो टेस्टको लागि समन्वय गरिरहेको छ ।’

विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परीक्षण

मुख्यमन्त्री भट्टले भारत लगायतका तेश्रो मुलुकबाट आएका नागरिकलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह पनि गरेका छन् । उनले विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन समेत दिए ।

कोरोनाको संक्रमण फैलिन नदिन प्रदेश सरकारले सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन निर्माणको लागि बजेट व्यवस्था गरेको उनले जानकारी दिए ।

‘क्वारेन्टाइन र आइसोलेसन तयार गर्न उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रकम उपलब्ध गराएको छ,’ मुख्यमन्त्री भट्टले भने । मुख्यमन्त्री भट्टले संक्रमण रोकथामको लागि ४० करोडको कोष तयार गरेको समेत जानकारी दिए ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल कैलाली, जिल्ला अस्पताल डोटी र बैतडीमा प्रयोगशाला तयार गर्र्ने निर्णय गरिसकेको समेत उनले जानकारी दिए । ‘सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘डोटी र बैतडी अस्पतालमा जनशक्ति र उपकरणका लागि  संघीय सरकारसँग समन्वय भइरहेको छ ।’

संघीय सरकार र स्थानीयतहको सरकारसँग समन्वय गरेर दैनिक ज्यालादारी गर्ने र असहाय अवस्थामा रहेका नागरिकको लागि राहत प्याकेज तयार गरिरहेको समेत मुख्यमन्त्रीले बताए ।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या बढेसँगै थप सचेतना अपनाउन आवश्यक रहेको उनले बताए । कोरोना रोकथामको लागि कडाइका साथ लकडाउन पालना गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment