Comments Add Comment

‘लकडाउनमा परिकार बनाउन सिकिरहेको छु’

२३ चैत, काठमाडौं । कोरोना भाइरस फैलन नदिन यतिबेला देश लकडाउनमा छ । यस्तो होला भनेर हामी कसैले सोचेका थिएनौं । लकडाउनपछि अहिले घरमै सीमित छु । अभ्यास र फिटनेस अनिवार्य भए पनि लकडाउनका कारण यी सबै गतिविधि सञ्चालन गर्न सकेकी छैन । सधैं ट्रेनिङमा जाने म अहिले परिवारसँग घरमा बसेर रमाइरहेको छु ।

अध्ययनमा पनि मेरो रुचि छ । कार्यव्यस्तताले अध्ययनमा रुचि हुँदाहुँदै पनि पुस्तक पढ्न पाइँदैन । फुर्सदमा रहेकाले अहिले पुस्तक अध्ययन पनि गरिरहेको छु । यसबाहेक चलचित्र हेर्नु त छँदैछ ।

मेरो दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । फ्रेस भएर दैनिक एक घण्टा एक्सरसाइज गर्छु । खाजा खाएपछि बिहान मन लागेको बखत अध्ययन गर्छु । बिहान वर्कआउट गर्दा कहिलेकाहीँ बुबासँग गर्छु । एक्लै गर्दा राम्रो हुँदैन । त्यसैले कहिलेकाहीँ बुवाको सहयोग लिन्छु । ट्रनिङ देखेर बुवा खुसी हुनुहुन्छ ।

२÷३ दिन छुट्टी भएको भए ठीकै हुन्थ्यो होला । तर लकडाउनले धेरै छुट्टी भइसक्यो । अहिले त ट्रेनिङ धेरै नै मिस भइरा’छ । ट्रेनिङमा दिदी, दाइ सबैसँग भेट हुन्थ्यो । क्लबमा ट्रेनिङ गर्दा टाइम गएको पत्तै हुन्नथ्यो । पुनर्ताजगीले मन प्रफुल्लित हुन्थ्यो ।

क्लबबै दिन बित्थ्यो । दिन गएको पत्तै हुन्थेन । अहिले दैनिकी फरक छ । घरमा बस्दा दिन काट्न गाह्रोजस्तो भइरहेको छ । क्लबले बोलाइ देओस्जस्तो लाग्छ ।

ट्रेनिङ भइरहँदा फिट छु भन्ने हुन्थ्यो । अहिले त्यो छैन । गेममा फर्किंदा पहिलेको फर्ममा आउन गाह्रो हुन्छ ।

क्लबमा जाँदा रातिमात्र आउने अनि आमाले बनाएको खाना खान्थे । आजकल फेरिएको छ । बेलुका खाना मैले बनाउने गरेको छु ।

बुवा नयाँ परिकारको पारखी हुनुहुन्छ । अहिले उहाँसँगै बनाउन सिक्दै छु । गफ गर्दै काम गर्दा निकै रमाइलो लाग्छ । बुवासँग मःम बनाउन पनि सिक्दै छु।

आमा नेपाली किताबहरू पढ्नुहुन्छ । उच्चारण गर्न नआएको शब्द सिकाइदिन्छु । अंग्रेजीमा लेख्न सिकाउँछु ।

अब कोरोनाको कुरा । विश्वभर कोरोनाको महामारी छ । नेपालमा पनि यसको प्रभाव छ । संक्रमित संख्या बढिरहेको छ । यो महामारी अन्त्य भएर दैनिकी पूर्ववत् अवस्थामा फर्कियोस् भन्ने चाहना छ । तर कोरोनाबाट बच्न आफैं सुरक्षित हुनुपर्छ । म घरभित्रै बसेर समय बिताइरा’छु । अनि साबुन पानीले बेलाबेला हात धुने गरेको छु । अरु सबै जनालाई घरमै बसेर नियम पालना गरेर सुरक्षित रहन आग्रह गर्छु ।

प्रस्तुतिः गोविन्दराज नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment