
२३ चैत, जनकपुरधाम । कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मात्र एन–९५ मास्क र व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउन विज्ञहरूले प्रदेश २ सरकारलाई सुझाव दिएका छन् ।
कोरोना रोकथाम नीति निर्माणका लागि प्रदेश २ सरकारद्वारा अख्तियारप्राप्त विज्ञसम्मिलित समूहले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।
सबैले मास्क र पीपीई प्रयोग गर्दा अभाव सिर्जना भएकाले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीले ती सामग्री प्रयोग गर्न उपयुक्त हुने सुझाव प्रतिवेदनमा दिइएको छ ।
सर्वसाधारणलाई कपडाको मास्क, सामान्य बिरामीको जाँचमा संलग्नलाई पञ्जा र सर्जिकल मास्क दिन पनि विज्ञहरूले सुझाएका छन् ।
स्वास्थ्यकर्मीको सुरक्षासँगै प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माणसहितको विषयलाई पनि विज्ञहरूले समावेश गरेका छन् ।
विज्ञ समूहको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले प्रतिवेदनमा उल्लेख सबै सुझावहरू कार्यान्वयन गरिने बताए ।
प्रदेश सरकारले गत शुक्रबार डा. रामकेवल साह, डा. सुरेन्द्र यादव, डा. प्रवीण मिश्र, डा.काशीकान्त झा, डा. विजयकुमार सिंह, डा. गरिबदास ठाकृुर, डा. जेके लाल सम्मिलित सल्लाहकार समिति बनाएको थियो । समितिले प्रदेश सरकारको आग्रअनुसार आइतबार सुझाव बुझाएको हो ।
प्रतिक्रिया 4