Comments Add Comment

खुलेर खेलौं बालबच्चासँग

अहिले धेरै दम्पतीले एकल सन्तान हुर्काइरहेका छन् । बालबच्चा एक्ला छन् । उनीहरुसँग खेल्नका लागि दाजुभाई–दिदीबहिनी छैनन् । दौतरी छैनन् । उनीहरु नितान्त एक्ला छन् ।

उनीहरु एक्लै बस्छन् । एक्लै खेल्छन् । एक्लै रमाउँछन् । एक्लै टिभी हेर्छन् । एक्लै मोबाइल खेल्छन् । दोहोरो कुरा गर्ने कोही छैनन् । तर्क–विर्तक गर्ने कोही छैनन् । उनीहरु खुसी हुँदा हाँसिदिने कोही छैनन् । उनीहरु दुःखी हुँदा फकाउने कोही छैनन् । किनभने आमाबुवा त कामकाजमै व्यस्त हुन्छन् ।

अहिले भने फुर्सदको अवस्था छ । कम्तीमा बालबच्चाले आफ्ना नजिकमा आमबुवा पाएका छन् । यो मौकामा पनि आमाबुवा बालबच्चाबाट टाढा छन् भने त्यो दुःखलाग्दो कुरा हो । किनभने आमाबुवाले आफ्ना बालबच्चासँग हेलमेल गर्ने, उनीहरुको भावना बुझ्ने, उनीहरुको कुरा सुन्ने र उनीहरुसँग खेल्ने यो भन्दा राम्रो मौका के हुनसक्छ ?

बालबालिकाहरु उमेरले नै साना, हँसिलो अनुहार, सरल बोली अनि नयनमा छर्लङ्ग भविष्य दर्शाइरहेको महसुष हुन्छ । विदाको बेलामा होस् या वार्षिक बिदा पछिको लमो बिदामा होस्, बालबालिकाहरु विशेष गरी घुम्न मन पराउछन् ।

अभिभावकहरुको समय व्यस्तताको कारण कतिपय बालबालिकाहरु आफै भित्र घुम्सिरहेका हुन्छन्  । उनीहरुले आफ्नो परिवारसंग प्रशस्त रुपमा घुलमिल भएर खेल्न खोजिरहेका हुन्छन् ।  बालबालिकाहरुको मनोवृत्ति बुझ्न उनीहरुसँग नै केहीबेर खेल्नु पर्दछ । उनीहरुको भावना बुझ्दै गएमा मात्र  विस्तारै उनीहरु खुल्दै आउनेछन् र तपाई प्रति आत्मीय हुनेछन् ।

कुसुम केसी

यो समयमा बालबालिकाहरु कोठा भित्र थुनिएर बस्न बाध्य छन् । आफ्नो बालबालिकाहरु संग नजिकिन र उनीहरुको प्रतिभा, क्षमता पहिचान गर्न यो समयको निकै उपयोगी बनाउन सकिन्छ । साथै यो समयमा अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई प्रयाप्त समय र ध्यान नदिएको खण्डमा बालबालिकाहरुलाइ समयको सहि सदुपयोग गर्न कठिन हुनुका साथै उनीहरुले विभिन्न जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । बालबालिकाहरुले शारीरिक, मानसिक समस्या झेल्नु परेको हुनसक्छन् ।

उनीहरु आफ्नै घरभित्र पनि दुर्व्यवहार, हिँसा, बलात्कारका सिकार हुनसक्छन् ।  बालबालिकाहरुलाइ बिदाको समयमा सक्रिय बनाएर उनीहरुसंग खेल्न तलका केहि बुँदाहरु प्रभावकारी हुन्सक्छन् ।

साथी बन्ने

अभिभावक नै बालबालिकाहरुको पहिलो साथी हुन् भन्ने कुरा आफ्ना बालबालिकाहरुलाइ बोध गराउनु आवश्यक छ ।

उनीहरुको कुरा सुन्नुपर्दछ र सोही अनुसार उनीहरुलाई सल्लाह सुझाब दिदै होसला दिनुपर्दछ। बालबालिकाहरुको मनोवृत्ति बुझेर उनीहरुलाई एकोहोरो काममा मात्र व्यस्त गराउदा उनीहरु मानसिक रुपमा स्वस्थ हुनसक्दैनन् । उनीहरुलाई दिनहु समय तालिका बनाएर खाने, खेल्ने, पढ्ने समय निर्धा्रित गरेर उनीहरुको आत्मीय साथी बनेर खेल्ने प्रयास गर्नुपर्छ ।

घरायसी काम सिकाउने

बालबालिकाहरुलाइ उमेर संगै घरायसी काम जस्तै कपडा मिलाउने, पानी उमालेर खाने, चिया पकाउने, जस्ता कामहरुमा संग्लन गराउन सकियो भने उनीहरुलाइ नैतिक साथै व्यहारीक बनाउन सकिन्छ ।

आजको हाम्रो बालबालिकाहरुको सिकाइ प्रणालीलाई निहाल्ने हो भने कतै बालबालिकाहरु किताबी किरो मात्र त भएका छैन भन्ने भय रहेको छ । त्यसैले घरभित्रको स- साना कामहरुले बालबालिकाहरुलाई आफ्नो अधिकारका साथै थप जिम्मेवार पनि बनाउँछ ।

सरसफाइमा ध्यान दिने

व्यक्तिगत तथा पारिवारिक सरसफाईमा ध्यान दिनु पर्ने हुन्छ । साबुन पानीले राम्ररी हात धुने, सफा कपडा लगाउने, हात खुट्टाको नङ काट्ने, नुहाउने, ब्रस गर्ने इत्यादी । सरसफाईमा विशेष ध्यान दिनुपर्दछ ताकी कोरोना मात्र नभएर विभिन्न किटाणु र रोगको संग्क्रमणबाट जोगिन सकिन्छ ।

बालबालिकाहरुलाइ सरसफाइको महत्वबारे पनि सम्झाउदै दैनिक क्रियाकलापहरुमा अग्रसर गराउनु आवश्यक छ । नियमित सरसफाई गर्नाले हामी स्वास्थ्य जीवन जिउन सक्छौ भन्ने कुरा घरैबाट बालबालिकाहरुलाइ सिकाउनु पर्दछ ।

प्रशस्त पानी र पोषणयुक्त खानेकुरा खाने

हरेक दिन प्रशस्त पानि र पोषणयुक्त खानेकुरा हाम्रो शरीरलाई अति आवश्यक पर्दछ । बालबालिकाहरुलाइ घरमा पाइने पोषणयुक्त खानाहरुको विभिन्न परिकारहरु बनाएर समय समयमा नै दिनुपर्दछ। उनीहरुलाई पनि विभिन्न खानेकुराको परिकार बनाउने विधि सिकाएर खाना बनाउन संलग्न गराउन सकिन्न्छ ।

प्राय बालबालिकाहरुले हरियो सागसब्जीहरु खान रुचाउदैनन् । उनीहरुलाई यसको महत्व र शरीरको आवश्यकता बुझाएर केही मात्रामा भए पनि खुवाउने गर्नुपर्दछ । पोशिलो खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वास्थ्य रहन मद्धत गर्दछ ।

शारीरिक व्यायाम हुने खेल खेल्ने

स्वच्छ र फुर्तिलो हुनका निमित शारीरिक व्यायाम हुने खेलहरु खेल्नु ठिक हुन्छ । आजभोलि बालबालिकाहरु दिनभरी टि भी, भिडियो गेम, मोबाइल तथा ल्यापटपमा व्यस्त हुन्छन् । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाइ घरभित्रै वा घर वरिपरिको खुल्ला क्षत्र जस्तै आँगन,  घरको कौसीमा सतर्कता साथ शारीरिक व्यायाम हुने खेलहरुमा सक्रिय गराएमा उनीहरु शारीरिक रुपमा पनि स्वास्थ्य र समयको पनि सदुपयोग हुन्छ । जसले गर्दा बालबालिकाहरुलाइ एक्लोपना र इन्टरनेट सुरक्षाबाट पनि सचेत गराउन सकिन्न्छ ।

सही सुचना प्रवाह गर्ने

बालबालिकाहरु नयाँ कुरा जान्न र सिक्न ज्यादै इच्छुक हुन्छन् । उनीहरुलाई सहि सुचना प्रवाह गर्नुपर्दछ । कोरोनाको बारेमा जानकारी , सचेतना र अवस्था बारे अवगत गराउनु पर्दछ भने उनीहरुको बाल मस्तिष्कमा डर र त्रास उत्पन्न हुन् दिनु हुदैन । बालबालिकाहरुलाइ उनीहरुको साथीहरु लगायत आफन्तसंग कुराकानी गराई परिस्तिथिको बारे सहि सुचना मात्र दिनु पर्दछ । जसको कारणले बालबालिकाहरुमा सकारात्मक सोचको विकास गराउन सकिन्छ ।

सानो बेलाको जस्तै गरी हरेक अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाइ साथी सरह व्यवहार गर्नु र उनीहरुको विचार रकाममा हौसला दिनु आजको व्यवहारिक पक्ष रहेको छ । आफ्नो बालाबालिकाहरुलाई सत्मार्ग देखाउनको निमित उनीहरु संगै घुलमिल भइ उनीहरुको चाहना र इच्छा बुझेर सोहि अनुसार उनीहरुलाइ आफ्नो  शिप र क्षमतामा अब्बल बनाउन जरुरी हुन्छ ।

बालबालिकाहरुलाई बुझ्न नसक्दा र उनीहरुको क्रियाकलापप्रति अभिभावकहरुले चासो र जानकारी नलिदा बालबालिकाहरुले आफ्नो कुरा समयमा बताउन नसक्दा आफ्नो समस्या र गतिविधिहरु लुकाउन खोज्दछन र त्यसको जोखिममा मुछिएका हुन्छन । बालबालिकाहरुलाई प्रयाप्त समय दिन नसक्दा उनीहरुले विस्वाशिलो मान्छेको साथ नपाउने डर र आफ्नो कुरा खुलेर भन्न सकेका हुदैनन् । त्यसकारण उनीहरुमा मानसिक तथा अन्य समस्याहरुले जरो गाडेको हुन्छ र उनीहरु दुर्व्यवहार, बलात्कार, हिंसा, र अन्य समस्यामा परेका हुन्छन् । यस्तै समस्या, जटिलताको सामना गर्न र बिदाको सहि सदुपयोग गर्न अभिभावक नै बालाबालिकाहरुको नजिकको र आत्मीय साथी बनेर बालबालिकाहरुसंग खेल्न  सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment