Comments Add Comment

तरकारी, फलफूल र ग्यास सिलिन्डरसँगै भित्रिन सक्ने कोरोनाबाट कसरी जोगिने ?

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि यतिबेला देश लकडाउनमा छ । त्यसको पालना गर्दै हामी बन्दाबन्दीको अवस्थामा छौं । कोरोनासँग बच्न घरभित्रै सीमित भए पनि हामीले खरिद गर्ने फलफूल, तरकारी, ग्याससिलिन्डरलगायतका उपयोग गर्ने वस्तुबाट भित्रिने हो कि भन्ने चिन्ता उत्तिकै छ ।

स्वास्थ्यविज्ञहरूले पनि यस्ता उपभोग्य वस्तुमार्फत कोरोना भित्रन सक्ने औंल्याउँदै सतर्कता अपनाउन सुझाएका छन् । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले तरकारी, फलफूल र ग्यास सिलिन्डर सुरक्षितपूर्वक घरभित्र प्रवेश गराउन केही टिप्स दिएका छन् । डा. पाण्डेले दिएका ९ सुझाव उनकै शब्दमा–

१. हातमा पञ्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउने, उक्त ग्यासलाई घरबाहिर साबुन पानीले सफा गर्ने । ओभानो गरेर स्प्रिट वा डिटोल पानीले सफा गर्ने । त्यसपछि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसँग धुने त छँदैछ ।

२. दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने र त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

३. तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफूले साबुनपानीले हात धुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने । त्यसपछि भाँडोमा राख्ने । यसरी राखेपछि मनतातो पानी राख्ने, त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफूल सफा गर्ने Vaggy wash भए झन् राम्रो, आधा घण्टापछि धारोको पानीमा (Running Water  ) मिचिमिची सफा गर्ने । सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ, खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । योबाहेक क्लोरिन पानी र पियूषको केही थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

डा. रवीन्द्र पाण्डे

४. प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लिच पानीले पनि सफा गर्न सकिन्छ । केही विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसँग सफा गरे ब्लिच मिसाउनु पर्दैन । चिसोपानीले राम्रोसँग धोए पनि हुने भनाइ केही विज्ञको छ । यो आफ्नो–आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

५. आलु, स्याउ, गाँजरलगायत कडा सतह भएका फलफूल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले विस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

६. फलफूल तथा तरकारीलाई काट्नुअघि राम्रोसँग धुन जरुरी छ ।

७. सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै, बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

८. खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।

९. तरकारी, फलफूल तथा अन्य खानेकुरा सफा गर्दा गम्भीर हुन जरुरी छैन, माथि उल्लेख गरेका उपायमध्ये आफूसँग उपलब्ध विधि अपनाए हुन्छ । सबैभन्दा उपयुक्त विधि भनेको पटक–पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment