Comments Add Comment

अमरगढी नगरपालिकामा टोकन प्रणालीबाट राहत वितरण

२५ चैत, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाले ‘टोकन प्रणाली’मार्फत राहत वितरण सुरु गरेको छ । नगरभित्रका आर्थिक अवस्था कमजोर रहेका परिवारको तथ्यांक संकलन गरी टोकन प्रणालीमार्फत राहत वितरण थालेको हो ।

सोमबार नगरपालिकाको वडा नं. ५ र ११ बाट राहत वितरण कार्य सुरु गरिएको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।

सम्बन्धित वडाका अध्यक्षहरुले हस्ताक्षर गरेको टोकन लिएर आउने व्यक्तिलाई मात्र राहत वितरण गरिएको नगर प्रमुख ओझा बताउँछन् । उनले भने, ‘राहत दुरुपयोग नहोस् भनेर टोकन प्रणाली अपनाएका छौं, यो नौलो अभ्यास पनि हो ।’

प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक पोका तेल, एक पोका नुन र दुई वटा साबुन नगरपालिकाले उपलब्ध गराउन थालेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले वडाध्यक्षबाट टोकन लिई तोकिएको पसलबाट सामग्री पाउनेछन् ।

खाद्यान्न सामाग्री बिक्री गर्ने पसलहरूसँग सम्झौता गरी वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरण सुरु गरेको हो ।

वडामा हरेक स्थानमा पसल रहेकाले कसैलाई पनि असहज नहुने वडाध्यक्ष खेमराज पाठकले बताए । वडामा रहेका करिब एक सय ५० जना दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

पसलहरुमा भिड नहोस् भन्नका लागि सबै क्षेत्रका पसलहरुका नाममा टोकन बनाइएको र थोरै मात्रामा मात्रै मान्छेहरुलाई पठाउने व्यवस्था गरेको ११ नं. वडा कार्यालयले जनाएको छ । अन्य वडाहरुमा पनि भोलिदेखि राहत वितरण गरिने नगर प्रमुख ओझाले जानकारी दिए ।

सम्पूर्ण पसलहरूमा सामाजिक दुरी कायम गरी राहत वितरणको व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment