Comments Add Comment

मिर्गौलाका बिरामीलाई मुटु अस्पतालको निःशुल्क बस सेवा

२६ चैत, बुटवल । लकडाउनका कारण सार्वजनिक र निजी सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले कपिलवस्तुमा निःशुल्क बस सन्चालन गरेको छ । अस्पतालले कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाईसम्म निःशुल्क बस सन्चालन गरेको हो ।

यसअघि अस्पतालले रुपन्देहीको मणिग्राम र  नवलपरासीको बर्दघाटसम्म निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको थियो । सवारी साधन नचल्दा नियमित रुपमा मिर्गौलाको डायलाइसिस गर्नुपर्र्ने कतिपय विरामीहरु लकडाउनको कारण महंगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनुपर्ने बाध्यता थियो । कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए ।

हप्तामा दुईपटक डायलाइसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस सन्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । ‘अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थाका भएकाले बिहीबार र सोमबार हप्ताको दुईदिन कपिलवस्तुको कोईली बनगाईसम्म बस सन्चालन शुरु गरिएको अस्पतालका अध्यक्ष आलमले जानकारी दिए ।

‘बिहान ९ बजे बनगाईबाट अस्पतालका लागि बस छुट्छ, बिहान अस्पताल आएका बिरामीहरुलाई डायलाइसिस गरेर सांझ ४ बजे बनगाईसम्म नै छोड्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

कपिलवस्तुसम्म निःशुल्क बस सेवा संचालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुर समेतका सबै विरामीलाई राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना विरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment