Comments Add Comment

१५ वर्षीय भारतीय गल्फर जसले ट्रफी बेचेर कोरोना कोषमा सहयाेग गरे

२७ चैत, काठमाडौं । एक भारतीय गल्फरले आफूले पाएको ट्रफी नै बेचेर काेराेना काेषलाई सहयोग गरेका छन् । भारतका १५ वर्षीय गल्फर अर्जनु भाटीले आफूले अहिलेसम्म पाएको उपलब्धिहरुको ट्रफी बेचेर त्यसबाट पाएको रकम पीएम केयर फण्डमा सहयोग गरेका हुन् ।

तीनपटक वर्ल्ड युथ गल्फ च्याम्पियनसिप समेत जितिसकेका भाटीले आफ्नो १०२ वटा ट्रफी बेचेर त्यसबाट प्राप्त ४ लाख ३० हजार भारतीय रुपैयाँ जम्मा गरेका हुन् ।

आफूले ८ वर्ष कमाएको सम्पत्ति देश संकटमा परेका बेला सहयोग गरेको ट्विट गरेका छन् । ‘देश/विदेशमा मैले ८ वर्षमा १०२ वटा ट्रफी जितेको थिएँ । देश संकटमा परेको यो समयमा मैले १०२ जनालाई उक्त ट्रफी दिएँ । त्यसबापत जममा भएको कूल ४ लाख ३० हजार रकम पीएम केयर फण्डमा देशको मद्दतका लागि दिएको छु ।’ भाटीले ट्विटमा भनेका छन् । ‘यो सुनेर दादी रुनु भयो र फेरि भन्नुभयो तिमी साँच्चै अर्जुन हौँ । आज देशको जनता बच्न जरुरी छ । ट्रफी त फेरि आउँछ  ।’

भाटी आफैंमा प्रतिभावान युवा गल्फर हो । उनले विश्वभर जितेको अवार्डले पनि त्यो प्रमाणित गरेको छ । प्रतिभावान खेलाडीको यो सहयोगले उनलाई झन् महान् बनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाटीको ट्विटलाई रिट्विट गर्दै लेखेका छन्, ‘देशबासीको यही त्यो भावना हो जसले कोरोना माहामारीको सबैभन्दा ठूलो सहारा हुनेछ ।’

‘म कोभिड–१९ विरुद्ध भारतको लडाइँमा केही गर्न चाहन्छु । अहिले मेरो कुनै कमाइँ छैन । त्यसैले मैले सबै ट्रफी बेच्ने निर्णय गरेँ । ट्रफीपछि पनि जित्न सकिनेछ । तर महामारीविरुद्धको लडाइँमा मेरो देशलाई सहयोग चाहिँदा म त्यस् बस्न सक्दिन ।’ भाटीले इन्डियो टुडेसंग भनेका छन् । ‘मेरो परिवारको साथी आफन्तहरुले उक्त ट्रफी किनिदिए । यद्यपी ट्रफी अझै मेरो घरमा छ तर लकडाउन हटेपछि म उनीहरुलाई पठाउने छु,’ भाटीले भने ।

भारतमा कोरोनाको कारण अहिलेसम्म ४ हजार ७८९ जनामा संक्रमण देखिएको छ जसमा  १२४ जनाको मृत्यु भइसकेको छ भने ३५३ जना निको भएका छन् ।

कोरोनाविरुद्धको अभियानमा यसअघि नै लेजेण्ड्री खेलाडीहरु सचिन तेन्दुलकर, वर्तमान भारतीय टिमका कप्तान विराट कोहली रोहित शर्मा सुरेश रैना मेरी कोम सानिया मिर्जालगायतले सहयोग गरेका छन् । यस्तै, चर्चित बलिउड अभिनेता अक्ष कुमारले एक्लै २५ करोड रकम सहयोग गरिसकेका छन् ।

 विश्वको नम्बर वान गल्फर बन्ने

भारतको ग्रेट नोइडाका अर्जुन भाटी १५ वर्षका भए । तर उनले गल्फमा ठूलो सफलता हात पारिसकेका छन् र अझै ठूलो लक्ष्य राखेका छन् । क्रिकेटर सचिन तेन्दुलकरको फ्यान उनी क्रिकेट खासै खेल्दैनन् तर गल्फमार्फत भारतलाई विश्वभर चिनाएका छन् ।

अर्जुनले यूएस किड्स जुनियर गल्फ वर्ल्ड च्याम्पियनसिप दुईपटक जितिसकेका छन् भने एफसीजी कलअवे जुनियर वर्ल्ड गल्फ च्याम्पियनसिप दुईपटक जितेका छन् ।

भाटीले सन् २०१६ मै यू१२ क्याटेगोरीमा पहिलो पटक जुनियर वर्ल्ड च्याम्पियनसिप जितेका थिए । त्यसतिखेरै उनले ओलम्पिक पुग्ने लक्ष्य राखेका थिए ।

गत वर्ष उनले अमेरिकाको क्याफोर्नियामा भएको जुनियर वर्ल्ड गल्फ च्याम्पियनसिपमा ४० देशका ६ सय भन्दा बढी गल्फरसँग प्रतिस्पर्धा गरेका थिए । अन्तिममा उनले ताइवानमा जेरेमी चेनलाई ३ स्ट्रोकले पछि पार्दै उपाधि जिते । उनले २०१६ मा यू१२ क्याटेगोरी र २०१८ मा यू–१४ क्याटेगोरीमा समेत उपाधि जितिसकेका छन् ।

तेस्रोपटक उपाधि जितेपछि उनले आफ्नो लक्ष्य नम्बर वान बन्ने र ओलम्पिकमा मेडल जित्ने सुनाएका थिए । म विश्वको नम्बर वान गल्फर बन्न चाहन्छु । मेरो लक्ष्य भनेको भारतका लागि ओलम्पिकमा गोल्ड मेडल जित्नु हो ।

अर्जुनले गल्फ खेल्न थालेको ७ वर्ष भइसकेको छ । जुनियर लेभलमा १०० भन्दा बढी टुर्नामेन्ट खेलिसकेका उनको जितको अनुपात ७५ प्रतिशत हाराहारीमा छ । ग्रेटर नोइडाको एक निजी स्कुलमा अध्ययनरत अर्जुनले आफूलाई सकुले पनि सहयोग र साथ रहेको बताएका थिए । उनी विदेशमा खेल्न जाँदा कक्षा छुटे पनि स्कुलले यसमा सहयोग गरेको उनले बताए ।

८ वर्षअघि अर्जुनले आफ्नो बुबा बबी भाटीलाई गल्फ किट चाहिको सुनाएका थिए । यसबाट उनका बुबासमेत आश्चर्यमा परेका थिए । त्यसअघि अर्जुनले गल्फ कोर्स टेकेका थिएनन् । शुरुमा उनका बुबा बबीले यसलाई वास्ता गरेनन् । तर अर्जुनले आफ्नो जन्म दिनमा गल्फ किट बाहेक अन्य सामान स्वीकार नगर्ने जिद्दी राखेपनि बबी पनि बाध्य भए ।

अर्जुन अली जिद्दी स्वभावका थिए । तर उनको परिवारमा त्यसअघि कसैले गल्फ खेलेको थिएन । अर्जुनका बुबका बबीलाई पनि गल्फ बारे थाहा थिए । त्यसैले बबीले छोरालाई सोधे, ‘किन तिमीलाई गल्फ सेट चाहियो?’, अनी छोराले उत्तर दिए, ‘ म गल्फ खेल्न चाहन्छु ।’ यो सात वर्ष अघिको कुरा थियो ।

त्यसपछि अर्जुनले बर्थडे कार्डमा गल्फ किट माग्न थाले । उनको बुबालाई पनि नबुझ्ने खेल गल्फ खेल्न छोरालाई अनुमती दिएर पनि के होला जस्तो लागेको थियो । तर परिवारले पनि उनलाई गल्फ खेल्ने अनुमती दियो ।

सन् २०१५ मा अर्जुनले जब पहिलो गल्फ टुर्नामेन्ट खेल्ने योजना सुनाए त्यसबेला उनको परिवारको आर्थिक अवस्था पनि सबल थिए । गल्फ खेल्न अमेरिका जानुपर्ने थियो । सरकारलाई पनि सहयोगको लागि आग्रह गर्ने अवस्था थिएन । त्यसपछि अर्जुनका बुबा बबीले आफ्नी श्रीमतीलाई गहना बेच्न आग्रह गरिन् । उनले पनि यसमा सहयोग गरिन् । शुरुमा खर्च पनि धेरै हुने र खेलका लागि पनि समय दिनुपर्ने थियो ।

अर्जुन स्वंयमलाई पनि जुनियर देखि सिनियर लेभलसम्म पुग्न कठिन हुने थाहा थियो । जब उनले २०१८ मा मलेसियामा भारतका उत्कृष्ट गल्फर जिव मिल्खा सिंहलाई भेटे उनले अर्जुनलाई सुझाव दिए, ‘यो शुरुवात मात्रै हो सिनियर लेभलसम्म पुग्नका लागि ट्रान्जिसनमा ध्यान देउ ।’

आफ्नो लक्ष्य पूरा गर्नका लागि अर्जुनसामु धेरै चुनौतीहरु छन् । तर उनको कडा मिहिनेत र खेलकोको लगावले गर्दा क्रिकेट क्रेज देश भारतमा उनी खेलकुदको नयाँ अनुहार बन्ने आशा छ ।

(इन्डिया टुडेको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment