Comments Add Comment

लकडाउनमा मकै खेतीको चटारो, कसरी बढाउने उब्जनी ?

विज्ञ भन्छन्– १६ घन्टा भिजाएर मात्र छर्नुस्

२७ चैत, चितवन । कोरोनाको त्रास र सरकारद्वारा घोषित लकडाउनका बाबजुद ग्रामीण भेगका किसानलाई जीवन निर्वाहका लागि खेतीपातीका काम गर्नैपर्ने वाध्यता छ । यतिबेला उनीहरु मकै लगाउने चटारोमा छन् ।

चैत महिनालाई मकै छर्ने सिजनका रूपमा लिइन्छ । उच्च पहाडी भेगदेखि तराईसम्म यो समयमा मकै लगाइन्छ । चाडै पाक्ने हुँदा तराईमा ढिला र पहाडमा अलि चाँडै मकै लगाउने गरिन्छ ।

लकडाउनअघि नै धेरै युवाहरु सहरबाट गाउँघरतिर फर्केका थिए । त्यसैले अरु बेला सुनसान जस्तै लाग्ने गाउँघरमा अहिले काम गर्ने जनशक्तिको कमी छैन । साथै, लकडाउनले खेतीपातीजस्तो अत्यावश्यक काम गर्न रोक्दैन पनि ।

उच्च पहाड, पहाड र तराई गरी सबै भूभागमा खेती हुने मकैलाई धानपछिको दोस्रो मुख्य बालीमा रुपमा लिने गरिन्छ । नेपालमा करिब ९ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा हरेक वर्ष मकै खेती गरिन्छ । उत्पादनको हिसाबले बर्सेनि २१ देखि २२ लाख टनसम्म मकै उत्पादन हुने सरकारी तथ्यांक छ । औसत उत्पादन प्रतिहेक्टर २ दशमलव ५ टन छ ।

राष्ट्रिय मकैबाली केन्द्र रामपुर चितवनले यस वर्ष उच्च पहाडी क्षेत्रमा ‘गणेश १’ सेतो र ‘गणेश २’ पहेँलो जात सिफारिस गरेको छ । यस्तै, पहाडी क्षेत्रमा मनकामना १ देखि ७ सम्म सिफारिस गरिएको छ । जोर अंक भएको जात पहेँलो र बिजोर अंक भएको जात सेतो मकै हो । लकडाउनका कारण किसानहरूले बीऊको अभाव निकै झेल्नपरेको छ । बल्लतल्ल बिऊ जुटाएर मकै लगाउने तयारीमा उनीहरु छन् ।

विज्ञहरुका अनुसार स्थानीय जातका मकैभन्दा उन्नत जातका मकै लगाउँदा २० देखि २५ प्रतिशत उत्पादन बढी लिन सकिन्छ । तर हाइब्रिड मकै लगाउने भए नेपाल सरकारबाट सूचिकृत भएको मात्रै लगाउन विज्ञहरुको सुझाव छ ।

कसरी लगाउने मकै ?

गाउँघरतिर एउटा उखान छ, ‘डोको छिर्ने मकै, बोको छिर्ने धान’ । यसको अर्थ हो, पातलो गरी मकै छर्नुपर्छ । तर, विज्ञहरूले भने धेरै पातलो गरी मकै नछर्न सुझाव दिएका छन् ।

मकैबाली अनुसन्धान केन्द्र रामपुरका प्रमुख केशवबाबु कोइरालाले एक रोपनीमा कम्तीमा पनि तीन हजार बोट मकै उपयुक्त हुने बताए । तर, गाउँघर तिर १५ सयदेखि १७ सय बोट मात्रै मकै फल्ने गरेको पाइन्छ ।

‘धानले गाँज हाल्छ, मकैले हाल्दैन, त्यसैले धेरै पातलो छर्नु हुँदैन,’ कोइराला भन्छन् ‘एक लाइनबाट अर्को लाइनसम्म ७५ सेन्टिमिटर र एक बोटबाट अर्को बोटसम्मको दूरी २५ सेन्टिमिटर हुनु राम्रो हुन्छ । १ कठ्ठामा दुई हजार बोट हुनुपर्छ ।’

मकै खेतीबारे कोइरालाले दिएका अन्य सुझाव यस्ता छन्–

  • गोरुले जोतेर मकै छर्दा हलोको एक सियोमा छरी अर्को सियो छाड्नुपर्छ । कम्तीमा ५ सेन्टिमिटर गहिराइभन्दा तल वा माथि मकै छर्नु हुँदैन ।
  • मिल्ने ठाउँ भए पानी लगाउनुपर्छ, नभए पर्दैन । मकै छर्नुअघि बीउलाई अनिवार्य रूपमा भिजाउनुपर्ने हुन्छ ।
  • कम्तीमा १६ घण्टा जति पानीमा भिजाउनुपर्छ, त्यसो गर्दा घुनले, किराले खाएको मकै तैरिन्छ । त्यसलाई फालेर छर्नुअघि दुई घण्टा गुन्द्रीमा शितल हावा लाग्ने गरी फिँजाएर सुकाउनुपर्छ । दानामा भएको पानी सुकेपछि छर्न सजिलो हुन्छ र मकै पनि एकनासले उम्रिन्छ ।
  • मकै भिजाएर रोप्दा चार दिनअघि उम्रिन्छ र ८ दिनअघि पाक्छ । मकै चाँडो उम्रिदा र पाक्दा, बाँदर र चराले खाने समय पनि घट्छ । भिजाएर रोप्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।
  • तातो खरानीजस्तो माटोमा भिजाएर पनि रोप्नु हुँदैन । मकैमा भएको चिसोपना माटोले खाने हुँदा नउम्रिन सक्छ । माटोमा सामान्य चिस्यान हुनुपर्दछ ।
  • पानी बेस्सरी परेको बेलामा मकैको बीउ रोप्नु हुँदैन । यस्तो बेलामा मकै भिजाएको रहेछ भने पनि झिकेर शितल ठाउँमा सुकाउँदा केही हुँदैन । मकै रोप्दा, गोड्दा, भाँच्दा पानी पर्न हुँदैन ।
  • मकै उम्रिएको एक महिनाभित्र अनिवार्य रूपमा पहिलो गोडाइ गर्नुपर्दछ । एक रोपनीमा लगाइएको मकैमा १२० केजी नाइट्रोजन, ६० केजी फस्फोरस र ४० केजी पोटास हाल्नुपर्दछ ।
  • मकै रोप्ने बेलामा नाइट्रोजन मल हाल्नु हुँदैन । सुरुमा फस्फोरस हाल्ने, नाइट्रोजन नहाल्ने । नाइट्रोजन हाल्दा घाममा बाफ बनेर उड्ने र पानी परे घुलेर जाने हुन्छ । मकै उम्रिएर पहिलो, दोस्रो र तेस्रो गोडाइमा मात्रै नाइट्रोजन दिनुपर्छ ।
  • मकैले धानचमरा छाड्ने बेलामा सबैभन्दा मलको आवश्यकता पर्छ । यूरिया मल कुलेसो बनाएर हाल्ने र छोप्ने गर्नुपर्दछ ।
  • बर्खाको बेलामा मकै भाँच्दा त्यसले मकैको गुणस्तरलाई नाश गर्ने हुँदा समयको बारेमा ख्याल गर्नुपर्दछ । बर्खामा अर्को बाली लगाउने हतारमा अधिकांश किसान हुन्छन् । नफलेको बालीको चिन्ता हुन्छ, फलेकोमा ध्यान हुन्न । यसले गर्दा मुखमा आएको मकै कुहिन्छ ।
  • मकै घाममा सुकाउँदा धेरै नोक्सान हुँदैन, ढुसी लागेर नष्ट हुँदैन, सुकाउने प्रविधिको पनि खाँचो छ ।

मकैमा परनिर्भरता

सबैभन्दा बढी बजार सुनिश्चित भएको बालीमा पर्दछ मकै । यसको माग देशभित्रै अधिक छ । तर, उत्पादन भने घट्दै गएको छ ।

धान लगाउने खेतमा नै मकै उत्पादन हुन्छ, तराईमा । तर, तराईका धान र मकै फल्ने खेत नै बढ्दो शहरीकरणको चपेटामा छन् । जसले गर्दा धान र मकै दुवैको उत्पादनमा ह्रास आइरहेको छ ।

पहाडमा मकै एक सिजन हुन्छ । जुन निर्वाहमुखी छ । सरकारले दिएको तथ्यांक हेर्दा गत वर्ष ५ लाख मेट्रिक टन मकैको आयातमा झण्डै १२ अर्ब रुपैयाँ विदेश गएको छ । कुखुरालाई दाना बनाउन मात्रै झण्डै ११ अर्बको मकै आयात गरेको देखिन्छ भने, बीउका लागि १ अर्ब रकम बिदेशिएको छ ।

कुखुराको उमेर अनुपातको ‘फर्मुलेसन’मा दाना बनाउँदा कम्तीमा ६० प्रतिशत हिस्सा मकै हुनुपर्दछ । यसको प्रमुख हिस्सा भारतीय मकैले ओगटेको छ । नेपालमा भारत, चीन र अमेरिकालगायत देशबाट मकै आउँछ ।

नेपालमा कुखुराको दाना उत्पादन गर्ने उद्योग एक सय पाँच वटा छन् । नेपालमा बर्सेनी कुखुराको दानाको माग ११ प्रतिशतको दरले बढिरहेको छ । कुखुरापालन व्यवसाय बर्सेनी करिब नौ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि गणना २०६८ ले समेत मकै बालीमा १२ प्रतिशतले उत्पादन क्षेत्र घटेको देखाएको छ । खेती किसानीमा लाग्ने उमेरका युवा विदेशिने क्रम बढेपछि उत्पादन ओरालो लाग्न थालेको हो ।

के हो त समाधान ?

चितवनको रामपुरमा २०२९ सालमा स्थापना भएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने देखाएपछि तराई र भित्री मधेसमा अहिले हाइब्रिड जातको मकै उत्पादन हुँदै आएको छ । केन्द्रले बर्सेनि ५० देखि ६० टन मकैको बीउ उत्पादन गर्छ ।

त्यसमध्ये केन्द्रबाट तीन टन जति बीउ सोझै किसानलाई दिने गरिएको छ । बाँकी विभिन्न बीउ उत्पादन गर्ने कम्पनी र सहकारीहरुलाई केन्द्रले बेच्दै आएको छ । देशका विभिन्न भागमा रहेका सरकारी अनुसन्धान केन्द्रहरूले मकैको क्षेत्रमा काम गरे पनि मकैमा परनिर्भरता हटेको छैन । बीउको अभाव यथावत नै छ ।

मकैको उत्पादन ७० प्रतिशत पहाडी क्षेत्रमा, २० प्रतिशत तराईमा र १० प्रतिशत उच्च पहाडी भेगमा छ । तर बिडम्बना, जहाँ बढी उत्पादन हुन्छ त्यहीँ नै बीउको उत्पादन हुन सकेको देखिँदैन ।

रामपुर मकैबाली अनुसन्धान केन्द्रका प्रमुख केशवबाबु कोइराला मध्यपहाडी भेगका राम्रा पकेट क्षेत्रमा हाइब्रिड मकै उत्पादन गर्नुपर्ने बताउँछन् । नेपालमा करीब ९ लाख हेक्टरमा मकै रोपिने गरेकोमा १० प्रतिशत क्षेत्रमा मात्र हाइब्रिड जात लगाइने गरेको उनले बताए । कोइरालाका अनुसार हाइब्रिड जात आठदेखि १० टन प्रतिहेक्टर उत्पादन हुन्छ भने खुल्ला जातको उत्पादन औसत २.५ टन प्रतिहेक्टर मात्र छ ।

सरकारी तबरबाट ठूलो मात्रामा हाइब्रिड जातको बीउ उत्पादन गर्न कठिन हुने भएकाले निजी क्षेत्र र सहकारीलाई अगाडि सार्नुपर्ने तर्क कोइरालाको छ । उनी भन्छन्, ‘उत्पादन लागतअनुसार बीउको मूल्य राखौं, किसानलाई नै यसमा प्रेरित गर्ने कार्यक्रम आउनुपर्छ, हामीले बीउ बाँडेर मात्र कति सम्भव छ र ?’

स्थानीय जातको मकैमा रोग सहन सक्ने ‘जीन’ निकालेर नयाँ जातमा सार्न सकेमा त्यसले उत्पादन बढाउन सक्ने कोइरालाको दावी छ । किसानहरूबाट सामूहिक रूपमा जातीय शुद्धता कायम गर्ने गरी मकैको बीउ उत्पादन गरे त्यसले राम्रो बजार र मूल्य पाउन सक्ने उनले बताए ।

‘मकै धान–गहुँभन्दा फरक बाली हो । मकैमा जति जुँगा छ त्यति दाना लाग्छ । परागकण हलुका हुन्छ । ३÷४ सय मिटरसम्म उडेर जान्छ । कहिलेकाहीँ सेतो मकै लगाएको घोगामा पहेँलो दाना पनि देखिन्छ । जातीय शुद्धता कायम गर्न किसानहरु मिलेर एकै जातीको मकै लगाउनुपर्दछ,’ डा. कोइरालाले भने ।

सरकारी तबरबाट ठूलो मात्रामा हाइब्रिड जातको बीउ उत्पादन गर्न कठिन हुने भएकाले निजी क्षेत्र र सहकारीलाई अगाडि सार्नुपर्ने तर्क डा. कोइरालाको छ । ‘मूल बीउको उत्पादन हामीले मात्रै गरेर सम्भव छैन, मूल बीउ र प्रजनन् बीउ दुवैको उत्पादन निजी कम्पनी, सहकारीहरुलाई दिनुपर्दछ,’ डा. कोइरालाले भने । ठूलो परीमाणमा हाइब्रिड जातको बीउ विदेशी बहुराष्ट्रिय कम्पनीले नेपालमा बिक्री गर्दै आएका छन् ।

नेपालमा अझै पनि बीउको खरिद मूल्य र उत्पादनपछिको बिक्री मूल्यबीच ठूलो फरक हुँदा किसान मर्कामा छन् । किसानले ७० देखि ८० रूपैयाँ प्रतिकिलोका दरले मकैको बीउ खरिद गरेर त्यही बीउबाट उत्पादन भएको मकै जम्मा २० रूपैयाँ प्रतिकिलोमा बेच्ने गरेका छन् । त्यसैले १८ रूपैयाँ र ७० रूपैयाँको बीचमा भएको अन्तराल कम गर्नका लागि पनि सरकारी निकायले ध्यान दिनुपर्ने किसानहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment