Comments Add Comment

जगदम्बाको स्कुटी नलिने मुस्कान खातुनको घोषणा

२७ चैत, वीरगञ्ज । एसिडपीडित वीरगञ्जकी मुस्कान खातुनले जगदम्‍बा ग्रुपले दिने भनेको स्कुटर नलिने घोषणा गरेकी छन् । स्कुटरको मूल्य बराबरको रकम गरिबको उपचारमा खर्च गर्न उनले आग्रह गरेकी छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले जगदम्बा ग्रुपले दिने भनेको स्कुटर अहिलेसम्म नपाएको र अब नलिने निर्णयमा पुगेको बताएकी छन् । पाँच महिनाअघि वीरगञ्जको घण्टाघरमा आयोजित सांगीतिक कार्यक्रममा उनलाई जगदम्बा मोटर्सले स्कुटर दिने घोषणा गरेको थियो ।

विश्वमा महामारी फैलिएको बेला सहयोग गर्नुको सट्टा जगदम्बा ग्रुपका निर्देशक सुलभ अग्रवालले कालोबजारी गरेको भन्दै मुस्कानले स्कुटर अस्वीकार गरेकी हुन् । आफ्नो परिवारमा जस्तोसुकै दुःख परे पनि कालोबजारी गर्नेको स्कुटर आफू र आफ्नो परिवारले नलिने उनले बताएकी छन् ।

 मुस्कानले भिडियो सन्देशमा के भनिन् ?

‘नमस्कार, म मुस्कान खातुन । करिब ५ महिना अगाडि वीरगञ्जमा आयोजित सांगीतिक कार्यक्रममा जगदम्बा मोटर्सले एउटा स्कुटर मलाई दिने घोषणा गर्नुभएको थियो ।

त्यो कार्यक्रममा उपस्थित २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतज्यू, वीरगञ्जका मेयरका उम्मेदवार रहबर अन्सारी, सुपरस्टार हिरो राजेश हमाललगायत हजारौं जनमानसको अगाडि आश्वासन दिइएको थियो । त्यत्रो समय बित्दा पनि मलाई र मेरो परिवारलाई स्कुटी पाएन ।

हिजो जगदम्बा ग्रुपका निर्देशक सुलभ अग्रवालले कालाबजारी गरेको समाचार देखेँ । विश्वभरि फैलिएको महामारीको बीच कल्पनासमेत नगरेको अमानवीय काम जगदम्बा ग्रुपले गरेको देखेँ ।

म र मेरो परिवार जतिसुकै कठिनाई खप्नु परे पनि यस्तो कालाबजारी, अमानवीय काम गर्ने जगदम्बा ग्रुपले दिने स्कुटी मैले अस्वीकार गर्ने निधो गरेको छु । अहिलेको अवस्थामा जगदम्बा ग्रुपले मलाई दिने स्कुटी बराबरको मूल्य बराबरको मूल्य जनताको सेवामा प्रयोग गर्न अनुरोध गर्दछु । धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment