२७ चैत, सप्तरी । लकडाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीयलाई सप्तरीबाट नियन्त्रणमा लिइएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले यी १४ जनालाई देखेका थिए । यसपछि स्थानीयहरुको सूचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् । ‘मैले क्वारेन्टाइनमा हिँड्न उनीहरुलाई नेपालीमा भने, तर उनीहरुले भाषा नै बुझेनन्’ वडाध्यक्ष यादवले भने, “पछि हिन्दीमा कुरा गर्दा उनीहरुले बुझेपनि क्वारेन्टाइनमा बस्न मानेनन् ।”
प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै भारतको बिहार राज्यअन्तर्गत् अररिया जिल्लाका छन् । पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।
यात्रु ओसार्ने लोभमा अन्य व्यक्ति पनि समातिए
उनीहरु क्वारेन्टाइनमा बस्न नमानेपछि प्रहरीलाई बोलाउनै लाग्दा पूर्वपश्चिम राजमार्गको उक्त ठाउँमा तरकारी बोक्ने ज.१ च १५७९ नम्बरको पिकअप भ्यान पश्चिमतिरबाट आइपुग्यो । धेरै मान्छेलाई देखेपछि भ्यान रोकेर ती सबैलाई बसाए । वडाध्यक्ष यादवले भने, “प्रहरीलाई खबर गरिरहँदा ती सबै व्यक्ति गाडीमै बसेर हुइँकिए ।”
रातिको समयमा प्रहरी प्रमुख, डीएसपी समेत कसैको फोन नउठेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरलाई फोन गरेपछि उनैले तत्कालै प्रहरी खटाएर उनीहरुलाई नियन्त्रणमा लिएको वडाध्यक्ष यादवले बताए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले प्रहरीले उनीहरुलाई भारदहबाट नियन्त्रणमा लिएको बताए । ‘पिकअप भ्यानमा पहिलादेखि नै नेपालीहरु बसेका रहेछन्’ उनले भने, “भाडा आउने भएकाले ती सबै भारतीयलाई बसाएर भ्यान जान लागेका थिए ।
नायव उपरीक्षक मिश्रले १४ जना भारतीयले आफूहरु काठमाडौंमा काम गर्दै आएको बताएको जानकारी दिए ।
पक्राउ पर्ने नेपालीहरुमा भोजपुरको आमचोक गाउँपालिका ८ बस्ने २२ वर्षीय नरबहादुर झार, २४ वर्षीय सुमन तामाङ, २५ वर्षीय अनिस तामाङ, २८ वर्षीय असन तामाङ, भोजपुरकै बेबारी नगरपालिका २ का २८ वर्षीय धनीलाल उराउ, सुनसरीको दुहबी नगरपालिका २ बस्ने २२ वर्षीय विजय उराउ रहेका छन् ।
यस्तै, पक्राउ पर्नेमा सुनसरीको मधुवन २ बस्ने २५ वर्षीय रमेश कुमार, ६ बस्ने २३ वर्षीय दिपेश कुमार, भ्यान चालक सुनसरीका २२ वर्षीय अजय परियार, सह चालक धनुषाको मिथिला नगरपालिका ७ बस्ने २७ वर्षीय सानो परियार र २६ वर्षीय सञ्जीव परियार छन् ।
नियन्त्रणमा लिइएका ११ नेपाली र १४ भारतीयलाई अहिले अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित जनचेतना माविको क्वारेन्टाइनमा राखिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4