Comments Add Comment

भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

२७ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक सयबाट एक हजार पुग्न १५ दिन लाग्यो । तर, हजारबाट पाँच हजार पुग्न नौ दिन पनि लागेन ।

भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार बिहीबार बिहान ८ बजेसम्म भारतमा कुल संक्रमितको संख्या पाँच हजार ९५ पुगेको छ । उनीहरुमध्ये एक सय ६६ जनाले ज्यान गुमाएका छन् भने चार सय ७२ जना निको भएका छन् । जबकि १५ मार्चसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय १५ थियो भने ३० मार्चमा एक हजार ७१ पुग्यो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार एक सयबाट एक हजार पुग्न लागेको १५ दिन विश्वकै दोस्रो सबैभन्दा सुस्त गतिमा फैलिएको संक्रमण हो । तर, पछिल्लो ९ दिनमा फैलिएको संक्रमण दर महामारीबाट चीन, अमेरिका, स्पेन, इरान र टर्कीबाहेकका प्रभावित मुलुकहरुको तुलनामा धेरै हो ।

साथै, भारतमा संक्रमितको मृत्यु दर स्वीडेन, नेदरल्याण्ड्स, इटाली र बेलायतकोभन्दा कम भएपनि फ्रान्स, इरान, स्पेन, चीन र अमेरिकाकोभन्दा बढी छ ।

त्यसैले, भारतमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन सक्ने आशंका गरिएको छ ।

सबैभन्दा प्रभावित महाराष्ट्र, अरुको अवस्था के ?

भारतमा सबैभन्दा प्रभावित राज्य महाराष्ट्र हो । त्यहाँ अहिलेसम्म एक हजार एक ३५ संक्रमित फेला परेका छन् । र, उनीमध्ये ७२ जनाको मृत्यु भएको छ ।

यसैगरी, तामिलनाडुमा सात सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये आठ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा छ सय ६९ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये नौ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा तीन सय ६१ जनामा भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये चार जनाको मृत्यु भएको छ ।

यस्तै, गुजरातमा एक सय ७९ जना कोरोना भाइरसबाट संक्रमित हुँदा १६ जनाको ज्यान गएको छ भने मध्यप्रदेशमा दुई सय २९ जनामा संक्रमण देखिँदा १३ जनाले ज्यान गुमाएका छन् ।

रोकथामका लागि के हुदैछ ?

कोरोनाको संक्रमणले महामारीको रुप लिन नदिन भारतको केन्द्रसँगै राज्य सरकारले पनि काम गरिरहेका छन् । उत्तर प्रदेश सरकार र दिल्ली सरकारले भाइरस फैलाउन सक्ने मुख्य इलाकाहरु पहिचान गरेर बन्द गर्ने निर्णय गरेका छन् ।

दिल्ली, मुम्बई, चण्डीगढ र उत्तर प्रदेशलगायत क्षेत्रमा घरबाट बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ । साथै संक्रमितको संख्या बढेसँगै रेललाई क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment