Comments Add Comment

बर्खाअघि नारायणगढ-मुग्लिन सडकखण्डको जलबीरे पुल बन्छ : आयोजना

२७ चैत, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधिन जलबीरेको पुल बर्खाअघि सक्ने योजनाका साथ काम भइरहेको आयोजनाले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

केही दिन पुलको काम ठप्प भए पनि लकडाउन लम्बिएसँगै फेरि काम सुरु गरिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । ‘१०/१२ दिन त काम नै रोक्यौं, तर लकडाउन लम्बिएपछि फेरि कामदार बोलाएर काम थालेका छौं,’ खनालले भने, ‘बर्खाअघि ढलान गर्न नसकिए, बर्खामा पानीले फाउण्डेशन बगाउन सक्ने खतरा भएकोले प्रमुख जिल्ला अधिकारी ज्यूसँग नै सल्लाह गरेर काम थालेका हौं ।’ अहिले पुलमा १५ जना कामदारले नियमित काम गरिरहेका छन् । उनीहरु पहिल्यैदेखि काम गरिरहेका कामदार भएको र क्वारेन्टाइनमा राखेर काम भैरहेको खनालले जानकारी दिए ।

८० मिटर लामो पुल निर्माणको ठेक्का १४ करोडमा बनाउने गरी रौताहा कन्स्ट्रक्सनले पाएको हो । ठेक्काको अन्तिम म्याद असार मसान्तसम्म छ । खनालका अनुसार तीनबटा स्पान रहेको पुलको बीचको स्पान जसरी पनि ढलान गर्नुपर्ने छ । अहिलेको लकडाउन खुले बैशाख १५ भित्रै बीचको स्पान ढलान गर्न सकिने उनले जनाए । बीचको स्पानलाई तन्काउनका लागि आवश्यक तार भारतबाट ल्याउनुपर्ने भएकोले करिब १० दिन लाग्ने उनले बताए । स्पान ढलानको २८ औं दिनमा यसलाई तन्काइन्छ । ‘लकडाउन खुले लगत्तै कामदार पनि थप्छौं बाँकी सामानको पनि व्यवस्थापन गरेर काम सक्ने योजना छ,’ खनालले अनलाइनखबरसँग भने ।

सडकखण्डको मौरीपुल, दासढुंगा पुल र खानीखोलामा १३ करोडको लागतमा तीनवटा साना साना पुल बनिसकेका छन् ।

मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुङ्गा पुल २० मिटर लम्बाइका छन् । चौडाइ भने सबैको समान ११ मिटर छ । पुलको दुवै छेउमा १.५ मिटरका दरले फुटपाथ छ ।
सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि सडक विभागले पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment