Comments Add Comment

फिफा वरीयतामा नेपाल १७०औं स्थानमा यथावत

२७ चैत काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी कायम रहेकोले खेलकुद ठप्प छ । चर्चित खेल फुटबल पनि यसबाट प्रभावित छ । त्यसको असर वरीयतामा समेत परेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा एक टिम बाहेक केही परिवर्तन भएको छैन । नेपालको पुरुष फुटबल टिम पनि फिफाको वरीयतामा यथावत रहेको छ ।

फेब्रुअरी पछि जारी वरीयतामा नेपाल १७०औं स्थानमै यथावत रहेको हो । फिफाले मासिक रुपमा वरीयता जारी गर्दै आएपछि २०१९ डिसेम्बर यता भने दुई महिना फरकमा वरीयता सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक वरीयतामा साउथ सुडान बर्मुडा भन्दा अगाडि पुगेको छ । तर दुवैको समा अंक रहेकोले बर्मुडा तल झरेको छैन । साउथ सुडान र बर्मुडा दुवै १६८औं स्थानमा संयुक्त रुपमा छन् ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् । भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै बंगालदेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छ ।

विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत छ । शीर्ष १० मा पनि कुनै फेरबदल छैन ।

फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौं र कोलोम्बिया दशौं स्थानमा यथावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment