Comments Add Comment

न्युजिल्याण्डमा कसरी नियन्त्रणमा छ कोरोना भाइरस ?

२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । अहिलेसम्म विश्वभर १५ लाखभन्दा धेरै मानिस यो भाइरसबाट संक्रमित बनिसकेका छन् । यसबाट मृत्यु हुनेको संख्या पनि ८८ हजार नाघिसकेको छ ।

युरोपेली मुलुकहरुमा दैनिक सयौं मानिसको मृत्युको समाचार आइरहेको छ । तर, न्युजिल्याण्ड भने कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल देखिएको छ । अहिलेसम्म न्युजिल्याण्डमा यो भाइरसको कारण केवल एक जनाको मृत्यु भएको छ ।

करिब ५० लाख मानिसको बसोवास रहेको न्युजिल्याण्डमा अहिलेसम्म संक्रमितको संख्या एक हजार दुई सय ३९ जना छन् ।

पछिल्लो केही दिनयता न्युजिल्याण्डमा नयाँ संक्रमितको संख्या पनि घट्दो क्रममा छ । गत सोमबार न्युजिल्याण्डमा ६७ संक्रमित देखिएका थिए । मंगलबार ५४ नयाँ संक्रमित देखिएकोमा बुधबार यो संख्या ५० मा झरेको थियो । बिहीबार भने २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितको संख्याको तुलना गर्ने हो भने यो मुलुकमा पनि निकै तीब्र गतिमा यो भाइरसको संक्रमण फैलिन सक्ने आशंका गरिँदै आएको थियो । तर, न्युजिल्याण्डमा अपेक्षा विपरीत भाइरसका नयाँ संक्रमितको संख्या पनि घट्दो क्रममा छ । न्युजिल्याण्डको लागि कसरी सम्भव भयो त भाइरस नियन्त्रण ?

सीमा बन्द

गत मार्च १९ मा न्युजिल्याण्डको सरकारले आफ्नो मुलुकको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको प्रकोप फैलिएसँगै न्युजिल्याण्डले भाइरस नियन्त्रणको लागि भन्दै यस्तो निर्णय गरेको थियो । न्युजिल्याण्डले यसरी सीमानाका बन्द गर्दा इटाली र अमेरिकामा भने भाइरस तीब्र गतिमा फैलिरहेको थियो ।

न्युजिल्याण्डमा एक वर्षमा करिब ४० लाख पर्यटक घुम्न आउने गर्छन् । यो संख्या मुलुकको समग्र जनसंख्याको झण्डै बराबरी नै हो । यस्तो अवस्थामा न्युजिल्याण्डलाई मुलुकमा लकडाउनको निर्णय गर्नु निकै कठिन कार्य थियो । तर, प्रधानमन्त्री जाकिन्डा एर्डेर्नले मुलुकलाई कोरोना भाइरसबाट बचाउन यो निर्णय आवश्यक रहेको बताएकी थिइन् ।

मार्च २३ मा एर्डेनले मुलुकमा लकडाउनको लागि ४८ घण्टाको समय दिएकी थिइन् । त्यतिबेला न्युजिल्याण्डमा संक्रमितको संख्या एक सय दुई पुगेको थियो । उनले यो संख्याबाट न्युजिल्याण्डमा इटालीको जस्तो अवस्था आउन नदिन लकडाउन आवश्यक रहेको बताएकी थिइन् ।

लकडाउनमा कडाइ

न्युजिल्याण्डमा लकडाउन पालना गर्न निकै कडाइ गरिएको छ । अत्यावश्यक क्षेत्रमा काम गर्ने मानिसबाहेक अन्य क्षेत्रका मानिसलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ । पौडी खेल्न तथा मनोरञ्जनका लागि समुद्री किनारामा जाने मानिसमा पनि रोक लगाइएको छ ।

मुलुकका बार, रेष्टुरेन्ट, क्याफे, जिम, सिनेमा हल, संग्रहालय लगायत अत्यावश्यकबाहेकका क्षेत्र एक महिनाको लागि बन्द छन् । लकडाउनको समयमा प्रधानमन्त्री एर्डेर्नले दैनिक आफ्नो गतिविधिको विषयमा जानकारी दिने गर्छिन् ।

उनले घरमा नै बसेर सामाजिक सञ्जाललगायतका अनलाइन माध्यमबाट लकडाउनबारे जानकारी दिन्छिन् । लकडाउनको क्रममा प्रधानमन्त्री एर्डेर्न आफ्नो स्वास्थ्यमन्त्रीलाई नै कारबाही गर्न पछि परिनन् । लकडाउन उल्लंघन गरेका स्वास्थ्यमन्त्री डेभिड क्लार्क घटुवामा परेका छन् ।

राम्रो प्रतिक्रिया

न्युजिल्याण्डका मानिसहरुले भने लकडाउनबारे सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । त्यसको असर संक्रमितको संख्यामा पनि देख्न सकिन्छ । न्युजिल्याण्डमा भेटिएका अधिकांश संक्रमित अन्तर्राष्ट्रिय भ्रमणबाट आएका मानिस छन् ।

यस्तोमा उनीहरुको कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसनमा राख्नेलगायतका कामले पनि न्युजिल्याण्डमा तीब्रता पायो । जसको कारण न्युजिल्याण्डमा यो भाइरसको संक्रमण सामुदायिक स्तरमा फैलिन सकेको छैन । न्युजिल्याण्डका अस्पतालमा व्यापक मात्रामा बिरामी नआउनु पनि यसको प्रमाण हो ।

अहिले न्युजिल्याण्डमा इस्टरमा लकडाउन खुल्छ कि खुल्दैन भन्ने प्रश्न उब्जिएको छ । तर, बुधबार एर्डेर्नले इस्टरमा लकडाउन खुल्ने सम्भावना नरहेको बताइसकेकी छिन् । उनले इस्टरमा कुनै पनि भ्रमणको योजना नराख्न आग्रह गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment