Comments Add Comment

प्रधानमन्त्रीलाई पत्र – सुरक्षित तरिकाले गाउँ जान दिनु नै उचित हुन्छ

२७ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विभिन्न क्षेत्रका विज्ञ सम्मिलित कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहलले भारतबाट नेपाल फर्कन चाहने नेपालीलाई देशभित्र प्रवेश गर्न दिन आग्रह गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीलाई पत्र लेखी उनीहरुले सुरक्षाको उपाय अवलम्बन गरेर घर फर्किन चाहनेलाई दिनुपर्ने बताएका हुन् ।

‘जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदुर र किसानको लागि सेफ प्यासेज निर्माण गरी गाउँ जान दिनु नै उचित हुन्छ’ पत्रमा भनिएको छ, ‘त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरु अपनाउन अतिजरुरी हुन्छ ।’

उनीहरुले पत्रमार्फत् कोरोना संक्रमण रोकथामका लागि परीक्षण क्षमता बढाउन सरकारलाई आग्रह गरेका छन् । पहलले संक्रमण देखिएका जिल्लामा र्‍यापिड मास्ट टेस्टको प्रवन्ध गर्न आग्रह गरेको छ । त्यस्तै संक्रमितको उपचारका लागि अति संक्रमित जिल्ला, प्रदेश र स्थानीय तह घोषणा गरी अस्पतालमा आईसीयू र भेन्टिलेटरको प्रवन्ध गर्न आग्रह गरेको छ ।

परीक्षणका लागि हाल प्रयोगमा आएका अन्य स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेकाले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरुप छन् कि छैनन् भन्नेबारे अनुगमन र निरीक्षण गर्न पनि आग्रह गरेको छ ।

पहलले लामो समयको लकडाउनले आर्थिक रुपमा कमजोर, अशक्त, सुकुम्बासी र डेरावाललाई जीविकोपार्जनमा समस्या देखिएकाले राहतको व्यवस्था गर्न आग्रह गरेको छ । विपदपछिको क्षतिको नोक्सानको समग्र मुल्यांकन गर्दै वृहत आर्थिक प्रवर्द्धनको प्याकेजको तयारी गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

लकडाउनको समयमा खेतीपातीको काम गर्न मिल्ने प्रवन्ध गर्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् । ‘खेतीपाती गर्दा भौतिक दुरी कसरी कायम गर्ने भन्ने बारेमा आवश्यक जानकारी दिई खेतीपाती गर्न दिँदा कृषिको चक्र स्वभाविक रुपमा चल्दछ भने अर्काेतर्फ आगामी वर्ष हुनसक्ने सम्भावित खाद्य संकट आउन नदिने उचित कदम पनि हुनसक्छ’ उनीहरुले भनेका छन् ।

उनीहरुले शहरी विद्यालय र कलेज जान नपाएका विद्यार्थीका लागि अनलाइनमार्फत् पढ्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

यो पहलमा राजनीतिज्ञ, चिकित्सक, उद्यमी, अर्थशास्त्री, सामाजिक अभियन्तालगायत रहेका छन् ।

यो पत्र प्रधानमन्त्रीलाई उनको सचिवालयमार्फत् र कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका स‌ंयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बुझाइएको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment