Comments Add Comment

‘हामी लडिरहेका छौं, तपाईंहरु घरभित्रै बस्नुस्’

२७ चैत, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरका प्रमुखले जोखिमसँग स्वास्थ्यकर्मीहरु लडिरहेको भन्दै सबै प्रदेशवासीलाई सुरक्षित रुपमा घरभित्रै बस्न आग्रह गरेका छन् ।

प्रदेश २ को प्रादेशिक अस्पतालका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले स्वास्थ्यकर्मीहरु कोरोना रोकथामका लागि लागिपरेको बताउँदै सबैलाई त्रासरहित रुपमा घरभित्रै रहन आग्रह गरेका हुन् ।

पर्याप्त सामग्रीको अभावकाबीच पनि आफूहरु अहोरात्र कार्यसम्पादनमा सक्रिय रहेको भन्दै ढुक्क रहन उनले सबैलाई आग्रह समेत गरेका छन् । प्रमुख यादवले कोरोना रोकथामको लागि स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिनुपर्ने भएकोले सबैभन्दा ठूलो जोखिममा स्वास्थ्यकर्मीमाथि नै भएको समेत बताएका छन् ।

‘अहिले सबैभन्दा बढी ध्यान स्वास्थ्यकर्मीमाथि दिनु जरुरी छ । स्वास्थ्यकर्मीलाई सुरक्षा कति दिनुहुन्छ त्यो नै सबैभन्दा ठूलो कुरा हो’ उनी भन्छन्, ‘उपकरणको अहिलेसम्म अभाव नै देखिएको छ । तर, पूर्ति हुने विश्वास छ ।’

अहिले अन्त जस्तै प्रदेश नं २ मा समेत सबैभन्दा ठूलो आवश्यकता पीपीईको रहेको उनले बताए । एक जना संक्रमित हुँदा कम्तिमा सातवटा पीपीई आवश्यक पर्ने भएपनि पर्याप्त पीपीई प्राप्त गर्न नसकिएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । यसरी दैनिक तीन सिफ्टमा २५ वटासम्म पीपीई आवश्यक हुने उनले बताएका छन् ।

‘सबैभन्दा ठूलो कुरा यही हो कि हामी रोकथाममा कति सफलता प्राप्त गर्न सक्छौँ । यसको जतिसुकै उपकरण भएपनि रोकथाम नै ठूलो उपचार हो । किनभने न यसको उपचार छ न त भ्याक्सिन नै बनेको छ’ उनले भने ।

साथै, उनले कोरोनाविरुद्व लड्ने हिम्मत सबैलाई प्राप्त होस् भन्दै जानकी देवीसँग कामना पनि गरेका छन् । उनले कोरोनाविरुद्ध लड्ने हिम्मत दिन देवीसँग आग्रह गरे ।

अनलाइनखबरसँगको कुराकानीमा डा. यादवले रोकथामका लागि राम्रो काम गर्न सकेमा यसबाट डराउनु पर्ने अवस्था नरहेको बताउँछन् । ‘सर्वसाधारण भयभित भइरहेका छन्’ तर भयभित हुनुपर्ने कुनै कारण छैन्’ उनी भन्छन्, “यो संक्रमण फैलिन नदिने उपाय हाम्रै हातमा छ । हामी सबैले चाहेको खण्डमा यो संक्रमणलाई आफैँ भगाउन सक्छौँ ।”

कोही विदेशबाट आएको छ तर कुनै लक्षण देखा परेको छैन भने १४ दिनसम्म आफ्नै घरमा सुरक्षित भएर बस्न पनि यादवले सुझाव दिएका छन् । यद्यपि घरमा बसेर पनि दिनमा धेरै पटक साबुन, पानीले हात  धुनुपर्ने, भिडमा जान नहुने र कसैसँग भेट गर्न नहुने उनको भनाइ छ ।

विदेशबाट आएका कसैलाई कोरोनाको लक्षण देखिएमा मात्रै अस्पताल आउनुपर्ने बताए उनले । ‘जस्तो ज्वरो आएको, सुख्खा रुघाखोकी लागेमा मात्रै अस्पताल आउनुपर्छ’ उनले भने ।

उनले अस्वस्थ्य व्यक्तिलाई अनिवार्य रुपले मास्क लगाउन सुझाव दिएका छन् । ‘रोग उसैबाट सर्ने हो, जसले यसलाई बेवास्था गरेर हिँड्छन् ।’ यादवले भने ‘अस्वस्थ्य व्यक्तिले मास्क लगाए रोग सर्ने सम्भावना रहँदैन ।

स्वस्थ्य मान्छेले लगाएको छ र अस्वस्थ्यले लगाएको छैन भनेपनि सर्ने सम्भावना हुन्छ । त्यसैले अरुको लागि पनि हामीले सतर्कता अपनाउनु पर्ने हुन्छ ।’

कोरोनाको उपचार हुँदैन, रोकथामै गर्नुपर्छ

कोरोना भाइरसको उपचार हालसम्म उपलब्ध नभएको र भ्याक्सिन समेत नबनेको भन्दै उनले रोग लाग्नै नदिनु नै उत्तम विकल्प रहेको बताए ।

‘जतिसुकै उपकरण भएपनि हामीले रोकथाम गर्न सकेनौं भने एक/दुई जनाबाट रातारात ५० या सय जनासम्म पुग्नसक्छ।’ उनी भन्छन्, ‘ठूला–ठूला देशलाई हेर्ने हो भने यो संक्रमणबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएका छन् ।

त्यसैले हामी पनि संक्रमण फैलिनुभन्दा पहिले नै सचेत बन्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment