Comments Add Comment

कोरोनाको कहर : गाउँमा डरैडर, सहर सुनसान

२७ चैत, डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका–६ का खड्कबहादुर चन्द बिहान चिया खानका लागि स्थानीय बगर बजार जाने गर्थे । गाउँलेहरुसँग भेटभाट गर्दै रमाउँदै उनी प्रभातकालीन समय उतै बिताइदिन्थे । तर, अचेल खड्क घरबाट बाहिर निस्कन्नन् ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमण विश्वभरि फैलिरहेको र यो एक मानिसबाट अर्को मानिसमा सहजै सर्न सक्ने खबर सुनेपछि उनले आफ्नो दिनचर्या पूरै परिवर्तन गरेका छन् ।

उनी बिहान उठ्छन्, घरमै चिया बनाउँछन् । आफ्नै घर आँगनमा टहलिन्छन्, बरू करेसाबारीमा लाग्छन् । तर, बजारतिर जान्नन् । ‘जरुरी काम परेपछि एकछिनलाई मास्क लाएर जान्छु’ उनी भन्छन् ‘पहिले जस्तो धेरै समय बस्दिन, तुरुन्तै फर्किहाल्छु ।’

गहुँबाली भित्र्याउने बेला भएको छ, खेतबारीमा नगई सुख छैन, परिवारका अन्य सदस्यसहित उनी जान्छन् पनि । तर उनलाई त्रास भने छँदैछ ।

सोही गाउँकी बिष्ना चन्द पनि काम विशेषले गाउँतिर गइरहन्थिन् । तर, अचेल भने उनी पनि घर बाहिर निस्कन डराइरहेकी छिन् । ‘गाउँतिर ‘इन्डिया’ बाट आएका व्यक्तिहरू पनि भेटिन्छन्’ बिष्ना भन्छिन् ‘नयाँ मान्छे देख्नेबित्तिकै संक्रमण भइ पो हाल्छ कि भन्ने डर लाग्छ ।’

उनले भारतको पञ्जाबमा रहेका श्रीमानलाई घर नआउन र त्यतै सुरक्षित बस्न भनिन् । ‘बाटोमा आउँदा धेरैसँग भेटघाट हुन्छ, कसलाई पो संक्रमण छ, थाहा हुँदैन’ बिष्ना भन्छिन् ‘त्यसैले मैले श्रीमानलाई फोन गरेर घर नआउन आग्रह गरेँ, उहाँले पनि मान्नुभयो ।’

शिखर नगरपालिका–६ का यज्ञराज जोशीको पनि अवस्था उस्तै छ । उनी अत्यावश्यक सामान लिन मात्रै स्थानीय धुर्कोट बजार जान्छन् । उनी भन्छन् ‘बजार खुल्लै छ, मान्छेहरू आएकै गएकै हुन्छन्, को कस्तो हुन्छ थाह हुँदैन, त्यसैले घरमै बस्यो । बरू आफ्नौ खेतबारीमा काम गर्‍यो, दिन कटायो ।’ उनी गाउँतिर भारतबाट आएका व्यक्तिहरुको असुरक्षित व्यवहारले त्रास फैलिएको बताउँछन् ।

कोभिड–१९ को संक्रमण विश्वभरि तीब्र गतिमा फैलन थालेपछि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको छ । लकडाउनले जिल्ला सदरमुकाम सुनसान बनाए पनि गाउँको ‘मोबिलिटी’ रोक्न सकेको छैन । जिल्ला सदरमुकाममा सुरक्षा निकायका सवारी साधन, एम्बुलेन्स, खाद्यान्न–तरकारी जस्ता दैनिक उपभोग्य वस्तु ढुवानीका साधनका साथसाथै फाट्टफुट्ट मोटरसाइकल चलेका हुन्छन् । दैनिक उपभोग्य वस्तुका पसल बाहेकका पसलहरू खुलेका छैनन् । पैदल हिँड्नेहरु पनि धेरै छैनन् ।

गाउँले जनजीवन भने लकडाउनले “लक” गर्न सकेको छैन । एकातिर खेतीपाती भित्राउने बेला भएको छ, ६ महिना मेहनत गरेर तयार भएको बाली नभित्र्याए पछि के खाने भन्ने चिन्ता छ भने अर्कोतिर भारत तथा तेश्रो मुलुकबाट ‘बिशु’ (नयाँ वर्ष) मनाउन आएका व्यक्तिहरुको असुरक्षित व्यवहारले कोरोनाको संक्रमण फैलिने सन्त्रास छ स्थानीयहरुमा ।

‘जति सम्झाए पनि मान्दैनन्, सँगै बस्ने, दारु खाने रमाइलो गर्ने गर्छन्’ पूर्वीचौकी गाउँपालिका–२ बगलेकका एक स्थानीयले भने ‘भारतबाट आएका र गाउँमै भएकाहरु सँगै बस्छन्, कुनै परहेज छैन ।’ यसले आफूहरुलाई निकै त्रसित पारेको उनी बताउँछन् । उनी थप्छन् ‘यिनीहरुमा कोरोनाका संक्रमण भए त गाउँनै सखाप हुन्छ ।’ उनी सुरक्षित हुन सबैलाई आग्रह गरिरहेको बताउँछन् ।

कामका लागि भारतमा रहेका व्यक्तिहरुको चिन्ताले गाउँमा बढी त्रास रहेको बताउँछन् केआई सिंह गाउँपालिका–४ का नन्दा जोरा (बिष्ट)। उनी भन्छिन् ‘गाउँका धेरै युवाहरु रोजगारीको लागि भारतमा छन्, भारतमा संक्रमण धेरै फैलिँदैछ रे, त्यसकारण पनि गाउँमा बढी चिन्ता छ ।’ गाउँमै पनि त्रासले एक गाउँबाट अर्को गाउँमा नजाने गरेको उनी बताउँछिन् ।

कोरोनाको संक्रमण हुने डरले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि त्रसित बनाएको छ । आदर्श गाउँपालिका-६ सौखोलाकी महिला स्वास्थ्य स्वयंसेविका हाशु नेपाली भन्छिन् ‘पहिले जस्तो घरघर गएर परिवारको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन्नँ । कसैले स्वास्थ्य समस्या छ भनेपछि उनलाई आवश्यक सल्लाह दिन्छु ।’ उनले कोरोनाको नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा भने आफूले गाउँमा सबैलाई भनिरहेको बताइन् ।

खेतीपाती भित्र्याउने बेलामा पहिले जस्तो पालोपर्म पनि नभइरहेको बताउँछन्, पत्रकार कर्णवहादुर चन्द । ‘सर्वसाधारणमा एक प्रकारको भय छ, सामान्य अवस्थाको जस्तो छैन’ बोगटान फुड्सिल गाउँपालिकातिर रहेका चन्द भन्छन् ‘अधिकांश मान्छेहरु धेरै डराइरहेका भेटिन्छन् । तर, केहीलाई भने कोरोनाको त्रासले छोएको छैन ।’ खेतीपाती र घरपालुवा जनावरको स्याहारका लागि घर बाहिर निस्कनु गाउँलेहरुको बाध्यता रहेको पत्रका चन्द बताउँछन् ।

गाउँमा कोरोनाको संक्रमण हुने त्रास रहेको स्वीकार गर्छन् सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल । उनी भन्छन् ‘भारतबाट आएका व्यक्तिहरु गाउँमा पस्दा त धेरै त्रास थियो, अचेल भने अलि कम भएको छ ।’ गाउँपालिकाले सबैलाई सुरक्षित बस्न र कोरोनाको संक्रमणबाट जोगिने उपायहरु अपनाउन सन्देश दिइरहेको अध्यक्ष डुम्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment