
२७ चैत, काठमाडौं । सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरणकुमार श्रेष्ठ दोहोरिएका छन् ।
४ वर्षे कार्यकाल शुक्रबार पूरा गर्न लागेका बेला बिहीबार बैंकको सञ्चालक समितिले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
सञ्चालक समितिले निर्णय गरेर श्रेष्ठलाई बिहीबार नै पुनर्नियुक्तिको चिठी दिएको छ । सीईओ श्रेष्ठले आफूले चिठी पाइसकेको अनलाइनखबरलाई बताए ।
को हुन् श्रेष्ठ ?
पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थायी घर भएका श्रेष्ठ सामान्य कृषकका छोरा हुन् । बुवा जङ्गवीर जोशी संखुवासभामै खेतीपाती गर्दथे । उनले विद्यालय तहसम्मको अध्ययन संखुवासभामै पूरा गरे ।
उच्च शिक्षाका लागि भने काठमाडौं आएका किरणकुमार श्रेष्ठ अध्ययन पूरा गरेसँगै २०४३ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । २०४३ भदौ ३१ गते सहायक प्रवन्धक पदमा खुला प्रतिष्पर्धाबाट नेपाल कै जेठो बैंक नेपाल बैंकमा उनले जागिर शुरु गरेका थिए । उनी सहायक प्रवन्धकबाट, प्रवन्धक हुँदै महाप्रबन्धसम्मको पदमा पुगे ।
नेपाल बैंकमै २८ वर्ष भन्दा बढी समय बिताएका उनी महाप्रबन्धकको रुपमा ३ वर्ष काम गरे । त्यसपछि उनले अवकास लिए । नेपाल बैंकबाट बाहिरिएको केही वर्ष पछि राष्ट्रिय वाणिज्य बैंकमा सीईओको पदमा आवेदन खुल्यो ।
सरकारले नियुक्त गर्ने भए पनि सीईओका लागि खुला प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था छ । उनले खुला प्रतिस्पर्धाबाट नै बैंकको सीईओमा नाम निकाले । २०७३ चैत्र २९ गते उनले बैंकमा सीईओको रुपमा काम शुरु गरेका थिए ।
प्रतिक्रिया 4