Comments Add Comment

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु जरिवाना तिरेर छुटे

२८ चैत, कैलाली । लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ ।

लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष  विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का  अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो ।

मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार  एक सय जरिवाना तिराएर छाडिएको प्रजिअ उमेश पाण्डेले बताए ।

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का  अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो  । उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् ।

उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए  ।

लकडाउनको समयमा चैत २४ गते बझाङमा  बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो ।

सरकारको निर्णयविरुद्ध मेला  सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका जनप्रतिनिधिले भने मेला सञ्चालन नगर्ने निर्णय भए पनि स्थानीय बासिन्दाले स्वतस्फुर्त रुपमा मेलास्थलमा पुगेर मेला भरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment