Comments Add Comment

कोभिड–१९ ले विश्वको शान्ति र सुरक्षामा चुनौती : राष्ट्रसंघ

२८ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको लागि चुनौती भएको बताएका छन् ।

बिहीबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को ‘भर्चुअल सम्मेलन’मा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार महामारीको कारण सामाजिक अस्थिरता र हिंसा बढ्न सक्ने भन्दै गुथ्रेसले यसले महामारी नियन्त्रणमा अवरोध सिर्जना गर्न सक्ने बताए । उनले यो महामारीविरुद्धको लडाइँलाई समग्र पुस्ताको लडाइँ भएको बताएका छन् ।

उनले सुरक्षा परिषद्लाई एक भएर भाइरसको सामना गर्न आग्रह गरेका छन् । यसको माध्यमबाट शान्ति र सुरक्षासँग सम्बन्धित जटिलता कम गर्न सकिने गुथ्रेसको विश्वास छ ।

गुथ्रेसले विश्वव्यापी सुरक्षामा महामारीबाट धेरै किसिमको जोखिम रहेको उल्लेख गरेका छन् । महामारीमा चरमपन्थीहरुले आक्रमणको मौका खोज्ने, जैविक आक्रमण हुन सक्ने, सार्वजनिक संस्थामाथिको विश्वास गुम्न सक्ने, आर्थिक अस्थिरता, निर्वाचन रोकिँदा उत्पन्न हुन सक्ने राजनीतिक तनाव र विभिन्न किसिमको विभाजनको जोखिम हुने उनको भनाइ छ ।

गुथ्रेसले यसअघि मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि आग्रह गरेका थिए । कोरोना भाइरसको महामारी फैलिएपछि पहिलोपटक राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment