Comments Add Comment

भारतमा कोरोना भाइरसबाट अर्का डाक्टरको मृत्यु

२८ चैत, काठमाडौं । भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको हो ।

भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निजी क्लिनिक चलाउँथे । तीन दिनअघि भाइरसको संक्रमण देखिएका उनलाई औरोबिन्दो हस्पिटलमा भेन्टिलेटरमा राखिएको थियो ।

यसअघि बिहीबार पनि इन्दौरमै शुत्रुघ्न पंजवनी नाम गरेका अर्का एक डाक्टरको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यी दुवै डाक्टरको उपचार औरोबिन्दो अस्पतालमा हुँदै आएको थियो । तर, उनीहरुले भने कोभिड–१९ का बिरामीको उपचार गरेका थिएनन् ।

अहिले भारतको स्थानीय प्रशासनले भने पंजावनी र चौहानको क्लिनिकमा पछिल्लो १४ दिनयता आउने मानिसहरुको खोजी गरिरहेको छ । उनीहरुको माध्यमबाट क्लिनिकमा आउनेमा कोभिड–१९ को संक्रमण फैलिएको हुन सक्ने प्रशासनले बताएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । मध्यप्रदेशमा बिहीबारसम्म संक्रमितको संख्या दुई सय ५९ पुगिसकेको छ भने १६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment