Comments Add Comment

नेपालमा कोरोना छ पनि, छैन पनि !

विज्ञको मत बाझियो, सरकार अल्मलियो

२८ चैत, काठमाडौं । नेपालमा १७ दिनको लकडाउनमा पनि नौ जनाभन्दा बढी संक्रमित फेला नपरेको अवस्थामा अब कोरोनाको स्थिति के छ ? यसबारे विश्लेषण गर्नुपूर्व दुईवटा तथ्य विचरण गरौँ :

तथ्य एक : ९ चैतबाट अन्तराष्ट्रिय हवाई उडान र १० चैतबाट सीमा नाकाको आवागमन बन्द भयो । ११ गतेबाट देशभर लकडाउन लागू भयो । अर्थात् पछिल्लो १७/१८ दिनमा कोही पनि विदेशबाट आएका छैनन् र देशभित्र रहेका हरेकले १४ दिनको होम क्वारेन्टाइन अवधि पूरा गरिसकेका छन् ।

तथ्य दुई : लकडाउन आसपासमा भारतबाट सीमा क्षेत्रमा आएका केही मानिसहरु क्वारेन्टाइनमा छन् । उनीहरुमा कोरोना संक्रमण भए/ नभएको परीक्षण सुरु भएको छ । पछिल्लो दुई दिनमा भएको परीक्षणमा कोरोनाका संक्रमित भेटिएका छैनन् । (सुदूरपश्चिमका दुई संक्रमित मध्ये दुई भारतबाट आएका हुन् भने एक स्थानीय संक्रमित हुन् ।)

त्यसोभए नेपालमा कोरोनाका थप संक्रमित छैनन् त ? अहिले धेरैले यो प्रश्न गर्न थालेका छन् । यो प्रश्न स्वभाविक पनि हो ।

किनभने, चैत पहिलो साता हवाई मार्गबाट आएका हरेकले तीनसाता पूरा गरेका छन् ।  काठमाडौं, धादिङ र धनगढीमा एक/एकजना तथा बागलुङका दुईजनाबाहेक अरूमा संक्रमण देखिएको छैन । १४ दिन बितिसक्दा कसैमा रहेको भए कोरोनाको लक्षण देखिइसक्नुपर्ने हो ।

यदि उनीहरु परीक्षणको दायरामा नआएर पो नदेखिएको हो कि भन्ने आशंका गर्ने हो भने पनि बिरामी भएर कोही अस्पताल पुगेको रेकर्ड छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को भनाइ छ कि कोरोनाका एक सय संक्रमित छन् भने ८० प्रतिशतलाई सामान्य मात्र हुन्छ । १५ प्रतिशतलाई उपचार चाहिन्छ भने केहीलाई भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ ।

तर, यो लकडाउनको अवधिमा नेपालका अस्पतालहरुमा कोरोनाको मात्र होइन, ‘सस्पेक्टेड इन्फ्लुएन्जा इन्फेक्सन’ भएका बिरामीको पनि चाप बढेको छैन ।

सुदुरपश्चिमका सीमा नाका हुँदै भारतबाट आएकाहरुले पनि दुईसाता अवधि पूरा गरे । भारतको स्थलमार्गबाट आएकाहरुको ठूलो संख्या आफ्नै घरपरिवारमा छन् भने कोही क्वारेन्टाइनमा छन् ।

त्यही क्वारेन्टाइन स्थलबाट संकलन गरिएको नमुनाहरुको परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म परीक्षण गरिएकाहरुमा संक्रमण देखिएको छैन ।

त्यसैले, नेपालमा कोरोना संक्रमणको अवस्था कुन स्थितिमा हो भने भन्ने प्रश्न स्वाभाविक हो । नेपालमा अब कोरोना नदेखिएकै हो त ?

यसमा जनस्वास्थ्य विज्ञहरुको दुईखाले मत पाइन्छ ।

महामारीबारे अध्ययन गरेर आएका डाक्टरहरुको एकखाले मत पाइन्छ भने अरुको त्योेभन्दा फरक मत पाइन्छ ।

महामारीका विषयमा अध्ययन गरेका डाक्टरहरु भन्छन्, ‘संक्रमित भए पनि नदेखिएको पो हो कि ? किनकि, हामीले ज्वरो आयो भने मात्र कोरोना संक्रमणको लक्षण भन्ने गरेका छौँ । तर, थुप्रै देशहरुको तथ्यले भन्छ कि लक्षण नै नदेखिएका (ए सिम्टोम्याटिक) संक्रमित पनि हुन सक्छन् र उनीहरुले धेरै मानिसलाई सार्न सक्छन् ।’

यस्तै तर्क गर्नेमध्ये एक डा. अनुप सुवेदी भन्छन्, कोरोना छैन भनेर भनेर ढुक्क हुने अवस्थामा हामी छैनौँ ।’

त्यसोभए हामी कहाँ छौँ त ? डा. सुवेदी भन्छन्, ‘हामी कुन अवस्थामा छौँ भन्नका लागि हामीसँग तथ्यांक हुनुपर्छ । विनाआँकडा यसबारेमा कुरा गर्दा अनुमानमात्र हुन्छ । मेरो आकलन हाम्रोमा एक/दुई सय वा एक/दुई हजार संक्रमित भेटिन सक्छन् । तर, हजारबाट नै लाख पुग्ने हो । त्यसका लागि एकाध हप्ता पनि लाग्दैन ।’

डा. सुवेदीले यसो भनिरहँदा अन्य चिकित्सकहरुको मत अलिक फरक छ ।

त्यस्तो मत राख्ने चिकित्सिक भन्छन्- ‘लक्षण नै नदेखिएका कोरोना भाइरसका संक्रमित त एकाध पो हुन सक्लान्, सबै त हुँदैनन् । लक्षण नदेखिएका संक्रमित पनि परिवारमा बसेका होलान् र तिनमा संक्रमण देखिएन । तर, परिवारका सदस्यलाई सरेको भए बिरामी त हुनुपर्ने, अस्पताल आउनुपर्ने हो । इन्फ्लुएन्जा सस्टिमिक इन्फेक्सन’का बिरामी त बढेका छैनन् । त्यसैले यो चाहिनेभन्दा बढी डर हो, जुन उपयुक्त होइन ।

सरकार अल्मलियो

सरकारमा पनि विज्ञहरुमा जस्तै अलमल देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘विदेशबाट आएकाहरुमा संक्रमण भएको भए सबैलाई त माइल्ड सिम्टम हुँदैन । केहीलाई त निकै गाह्रो बनाउँछ। हामीले रुघाखोकी लागेर अस्पताल आएकाहरुलाई पनि जाँचेका छौँ र उनीहरुमा कोरोना संक्रमण देखिएको छैन ।’

डा. कार्की थप्छन्, ‘त्यसैले हामीकहाँ लोकल वा कम्युनिटी ट्रान्समिसन भएको छैनजस्तो देखिन्छ । तर ढुक्क भएर भन्न पनि सक्दैनौँ ।’

डा. कार्की र बहुसंख्यकले अनुमान गरेजस्तै नेपालमा कोरोना संक्रमण छैन होला भन्ने तर्कलाई पुष्टि गर्ने तथ्य सरकारसँग छैन । यही कारण सरकारले लकडाउन १८ दिन बितिसक्दा पनि ३ बैशाखपछि के गर्ने भन्ने ठोस योजना बनाउन सकेको छैन ।

एउटै उपाय- समुदायमा परीक्षण

जनस्वास्थ्य विज्ञहरु भने अब समुदाय स्तरमा गएर परीक्षण गर्नुको विकल्प नभएको बताउँछन् ।

डा. अनुप भन्छन्, ‘टेस्ट गर्ने भनेर बाटोमा भेटेका सबैको गर्नुपर्दैन तर खोकी लागेका, विदेशबाट आएकाहरुको सम्पर्कमा आएका तर लक्षण नदेखिएकाहरुको पनि अनिवार्य रूपमा टेस्ट गर्नुपर्ने हुन्छ ।’

यसरी सम्भावित क्षेत्रहरु पहिचान गर्दै परीक्षण गर्दा पनि संक्रमण भेटिएन भने मात्र ढुक्क हुन सकिने उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की पनि परीक्षण बढाउनुपर्ने तर्कसँग सहमत छन् । उनले अनलाइनखबरसँग भने, ‘हामीले विभिन्न जिल्लाबाट नमुना संकलन गरिरहेका छौँ र भोलि (शनिबार) सम्म आउने त्यसको रिपोर्टले एउटा तस्वीर आउन सक्छ ।’

जोखिम रहिरहनेछ

डा. अनुप सुवेदी र खेम कार्की दुबै सहमत छन् कि नेपालमा कोरोनाको जोखिममा भने रहिरहने छ ।

पछिल्लो समय दक्षिणी छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संक्रमण फैलिन नदिन चालिएका तमाम सरकारी कदमका बाबजुद महामारीको रुप लिने खतरा कायमै छ ।

भारतमा ठूलो संख्यामा नेपालीहरु छन् । भारतमा महामारी बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन चाहन्छन्, जसलाई लकडाउन वा सीमाबन्दीले रोक्न गाह्रो छ ।

किनकि, नेपाल र भारतका खुला सीमामा वैधभन्दा अवैध प्रवेशमार्गहरु धेरै छन् । डा. कार्की भन्छन्, ‘सीमा नाकामा आवत- जावत बन्द गरेपछि पनि छिटफुटरुपमा मानिसहरु छिरिरहेका छन् र भोलिका दिनमा पनि रोक्न गाह्रो छ । त्यसैले प्रदेश १, २, ५, ६ र ७ मा अझै केही समय उच्च जोमिख रहिरहने छ ।’

भ्याक्सिन उत्पादन नभएसम्म जोखिम हुन्छ भन्ने सोचेर सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्ने डा. अनुप बताउँछन् । ‘टेस्ट किटदेखि पीपीई जोहो गर्नुपर्छ ।

आईसीयू र भेन्टिलेटर नभएको ठाउँमा पनि अहिलेदेखि नै जोहो गर्न थाल्नुपर्छ । किनकि, कोरोनाको महामारीको दुई/चारपटक आउन सक्छ’ उनले भने, भोलिका लागि सोचेर अहिलेदेखि नै पूर्वतयारी गरिएन भने ठूलो विपत आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment