Comments Add Comment

कोरोनाको संकट समाधानमा पार्टी र सरकारको अन्तरसम्बन्ध

कोरोना संक्रमण : असाधारण समस्या, असाधारण समाधान

कोभिड – १९ द्वारा सिर्जित संकटको सामना गर्न राष्ट्रिय एकताको खाँचो छ । सरकारले सबै राजनीतिक दल, राज्यका सम्पूर्ण संरचना, संघ–संस्था, विभिन्न विधाका व्यक्तित्व र आम नागरिकको एकतावद्ध एवम् संगठित प्रयासमा यो समस्याको सामना गर्ने सही नीति लिएको छ ।

देशको सम्पूर्ण शक्ति, श्रोत, साधन र सामथ्र्यलाई कोरोना भाइरसको संक्रमणका विरुद्ध परिचालित गर्ने अठोट गरेको छ ।

यस्तो बेलामा सरकारको वरपर गोलवन्द हुनु, सरकारका निर्णयहरुलाई कार्यान्वयन गर्न सघाउँदै कारोना भाइरसद्वारा सिर्जित चुनौतीको सामना गर्नु साझा राष्ट्रिय अभिभारा हो । सबैबाट तदनुरुपको भूमिका अपेक्षित छ ।

पार्टी र सरकारको आपसी सम्बन्ध

नेकपा करिब दुई तिहाइको बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको राजनीतिक पार्टी हो । सातमध्ये ६ प्रदेशमा प्रादेशिक सरकार र बहुसंख्यक स्थानीय तहमा नेतृत्व गरिरहेको पार्टी हो । यस पार्टीको भूमिका सरकार, संसद, प्रदेशससभा र स्थानीय तहमार्फत पनि प्रकट हुन्छ । पार्टीको नीति सरकारको काममार्फत अभिव्यक्त हुन्छ, सरकारको काममा पार्टीको नीति अन्तरनिहीत हुन्छ ।

यतिबेला नेकपा र नेकपा नेतृत्वको सरकार सम्पूर्ण रुपमा कोभिड – १९ विरुद्ध एक ठाउँमा उभिएर लडिरहेका छन् । सरकारले उपयुक्त समयमा उपयुक्त निर्णयहरुका साथ सम्पूर्ण राज्य शक्ति परिचालित गरिरहेको छ ।

पार्टीले पनि आवश्यक र उपयुक्त निर्णयका साथ सम्पूर्ण पार्टी शक्ति परिचालित गरिरहेको छ । सरकारले पार्टीको नीतिलाई अनुशरण गरेको छ भने पार्टीले सरकारको निर्णयलाई कार्यान्वयन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सरकार र पार्टी अलग–अलग संस्था हुन् । तर, यी एकअर्कामा अन्तरसम्बन्धित पनि छन् । निर्वाचनमार्फत जनताले नेकपाको नीति र नेतृत्वलाई अनुमोदन गरे र त्यही जनादेशको जगमा नेकपा नेतृत्वको यो सरकार बन्यो । नेकपाको नीति र सरकारका निर्णय एकअर्कामा अन्योन्याश्रित छन् र हुन्छन् । त्यस अर्थमा पार्टी र सरकारलाई निरपेक्ष रुपमा अलग गरेर हेर्न मिल्दैन ।

सरकार र पार्टी अलग–अलग संस्था हुन् । तर, यी एकअर्कामा अन्तरसम्बन्धित पनि छन् । नेकपाको नीति र सरकारका निर्णय एकअर्कामा अन्योन्याश्रित छन् र हुन्छन् । त्यस अर्थमा पार्टी र सरकारलाई निरपेक्ष रुपमा अलग गरेर हेर्न मिल्दैन ।

संकटको सामना गर्न नेकपाको भूमिका

नेकपा र जनताबीचको सम्बन्ध पानी र माछाजस्तो, नङ र मासुजस्तो छ । यो पार्टी स्थापनाकालदेखि नै जनतासँग एकाकार भएर जनता र राष्ट्रका तात्कालीन वा दीर्घकालीन समस्या समाधान गर्नमा केन्द्रित हुँदै आएको छ । राष्ट्र वा जनतालाई संकट पर्दा यस् पार्टीले अग्रपंक्तिमा उभिएर निर्णायक भूमिका निर्वाह गरेको छ । उदाहरणका लागि २०७२ सालको भूकम्पको बेला हामीले स्वयम्सेवी भएर उद्धार, राहत र पुननिर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यौं ।

अहिले पनि कोभिड – १९ को सामना गर्न यस पार्टीका नेता, कार्यकर्ता, सदस्यहरु र पार्टीका तर्फबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरु स्वयमसेवी भूमिकामा परिचालित छन् । सिङ्गो पार्टी पंक्ति सचेतना, पूर्व तयारी र संक्रमण नियन्त्रणका लागि सहयोगी भूमिकामा क्रियाशील छ ।

विदेशबाट आएका वा संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई क्वारेण्टाइन वा आइसोलेसनमा राख्न, संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ र स्वास्थ्य परिक्षण गर्न सरकारी कार्यालय, जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाहरुलाई सघाइरहेको छ ।

लकडाउन, क्वारेण्टाइन, आइसोलेसन लगायत सरकारका निर्णय एवम् आह्वानहरुलाई प्रभावकारीरुपमा कार्यान्वनय गर्न सघाइरहेको छ ।

साबुन पानीले हातधुने, सेनिटाईजर प्रयोग गर्ने, मास्क लगाउने, मापदण्ड अनुरुपको सामाजिक दुरी कायम गर्ने जस्ता बिषयहरुमा केन्द्रीत भएर सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

त्यसैगरी सरकारका सम्बन्धित निकाय र स्थानीय तहलाई प्रयोगशाला, अस्थायी उपचार केन्द्र वा क्वारेण्टाइन जस्ता संरचनाहरु निर्माण गर्नमा सघाइरहेको छ । सरकारले घोषणा गरेको राहत कार्यक्रम अनुरुप विपन्न, असहाय र समस्यामा परेका व्यक्तिहरुका निमित्त राहत प्रदान गर्नमा सहयोगी भूमिका निर्वाह गरेको छ । जनताका सुझाव तथा गुनासा सुनिरहेको र जनता र सरकारको बीचमा पुलको भूमिका निर्वाह गरिरहेको छ । यसरी जनताप्रति उत्तरदायी राजनीतिक पार्टीको हैसियतले संकटका बेला गर्नुपर्ने काम नेकपाले गरिरहेको छ ।

तथापि पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनका लागि प्राप्त हुने रचनात्मक सुझाव सुन्न र ग्रहण गर्न नेकपा तयार छ ।

सरकारी निर्णयको अवज्ञाले थपिएको समस्या

अहिलेजस्तो परिस्थिति उत्पन्न भएको छ र जस्तो संकट वा चुनौतीको सामना गर्नुपरेको छ, सिमानाका बन्द गर्ने र लकडाउन गर्ने जस्ता निर्णयहरु यही परिस्थितिको उपज र चुनौती सामना गर्ने उपाय हुन् । यो कुनै मानव अधिकार, संवैधानिक अधिकार वा मौलिक अधिकार विरुद्धको विषय होइन ।

सामान्य अवस्थामा नेपाली नागरिकहरुलाई स्वदेश फर्किन नदिने भन्ने पनि हुन सक्तैन । कोभिड – १९ को महामारीद्वारा सिर्जित समस्या कुनै देश विशेषको संविधान वा कानूनको दायरा भित्रको समस्या पनि होइन ।

साधारण समस्याको साधारण समाधान संभव हुन्छ । तर, असाधारण समस्याको साधारण समाधान संभव हुँदैन । कोरोना संक्रमणका सन्दर्भमा असामान्य अवस्थामा सामान्य नियमको कुरा गरेर हुँदैन भन्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भनाइ पनि स्मरणीय छ ।

वस्तुतः यी निर्णयहरु सम्बन्धित व्यक्ति, समुदाय र समस्त मानव जातिको जीवन रक्षासँग सम्बन्धित छन् । त्यसर्थ सरकारका यी निर्णय र तिनको महत्वलाई यही उचाईबाट ग्रहण गर्नु जरुरी छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपको दृष्टिले नेपाल उच्च जोखिममा रहेको बताउँदै आएको छ । तर, पनि यो समस्या तुलनात्मकरुपमा नेपालमा कम छ । यसका पछाडि सरकारको सही निर्णय र प्रभावकारी कार्यान्वयनको निर्णायक भूमिका छ ।

तथापि हामीले नेपालमा कोविड – १९ को महामारी फैलिएको छैन भनेर सन्तोषका साथ बस्न वा पूर्वतयारी कार्यलाई सुस्त गर्न मिल्दैन । हामी सम्भावित महामारीको बारेमा अधिकतम् सीमासम्म पूर्वानुमान गर्न र तदनुरुपको तयारी गर्न पर्ने अवस्थामा छौं । देखा परेका संक्रमणका समस्यालाई ठाउँका ठाउँ पहिचान गर्न र नियन्त्रण गर्नका लागि कदम चालिहाल्नुपर्ने अवस्थामा छौं । संक्रमणका संभावित श्रोतहरुलाई पहिल्याउन र नियन्त्रण गर्नका लागि कुनै कसर छाड्न नहुने अवस्थामा छौं । सरकारका निर्णय एवम् प्रयासहरु यही दिशातर्फ परिलक्षित छन् ।

हामीले अरु मुलुकका अनुभवबाट पनि सिक्न र शिक्षा लिन जरुरी छ । कतिपय मुलुकहरुले केही महिना वा हप्ताको अन्तरालमा सामाजिक दूरी, आइसोलेशन, क्वारेण्टाईन, कन्ट्याक्ट ट्रेसिङ, स्वास्थ्य परीक्षण र अरु मुलुकसँगको आवतजावत वा सिमाना बन्द एवं लकडाउनजस्ता विषयहरुमा समयमै निर्णय गर्न नसक्दा वा हेलचेक्र्याइँ गर्दा कहालीलाग्दो क्षति व्यहोर्नुपरेको छ । लकडाउन वा सीमा नाका बन्द गर्ने कुराको महत्व कति धेरै रहेछ भन्ने कुरा हाम्रै मुलुकका पछिल्ला घटनाक्रमले पनि प्रष्ट्याइरहेका छन् ।

सीमा नाका बन्द गर्ने, लकडाउन गर्ने र विदेशबाट आएका व्यक्तिहरु अनिवार्यरुपमा क्वारेण्टाइन वा आइसोलेशनमा बस्ने जस्ता सरकारी निर्णयहरुलाई अवज्ञा गर्दा हामीकहाँ पनि समस्या थपिएको छ । संक्रमित व्यक्ति देशभित्र प्रवेश गर्नाले सिर्जना भएको पहिलो चरणको समस्या संक्रमित व्यक्ति ठूलो समूहको माझबाट देशभित्र प्रवेश गर्नासाथ स्थानीय संक्रमणको दोस्रो चरणमा विस्तारित भएको छ ।

अब सामुदायिक संक्रमणको तेस्रो चरणमा विस्तारित त हुने हैन भन्ने चिन्ता थपिएको छ । कदाचित् तेस्रो चरणमा विस्तारित भएको खण्डमा हामीले महामारीको चौथो चरण बेहोर्नु करिब–करिब बाध्यकारी हुनेछ ।

त्यसर्थ, कसैले पनि भावावेशषमा आएर सीमा नाका बन्द गर्ने, लकडाउन गर्ने लगायतका सरकारी निर्णयहरुलाई अवज्ञा गर्न वा अवज्ञा गर्नका लागि प्रेरित गर्न हुँदैन ।

छिमेकी वा तेस्रो मुलुकमा रहेका प्रवासी नेपालीहरुप्रति राज्यको दायित्व छ । त्यसैगरी उनीहरुको सम्वैधानिक अधिकार पनि सुरक्षित र सुनिश्चित छ । तर, आज यो महामारीबाट नेपाल र विश्व समुदायलाई जोगाउन जो जहाँ छ, जुन मुलुकमा छ त्यहीँ सावधानीपूवक रहेर सुरक्षित हुन र सघाउन जरुरी छ ।

हिजो विदेशबाट नेपाल आउने विषयलाई संवैधानिक वा कानुनी आँखाले हेर्ने र मौलिक तथा मानव अधिकारको अर्थमा परिभाषित गर्नेहरु आज लकडाउन र सीमा नाका बन्द गर्ने सरकारको निर्णयसंग सहमत देखिनुलाई सकारात्मक अर्थमै लिनुपर्छ । यस सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारले सीमा नाका बन्द गर्न र लकडाउनको अवधिलाई बढाउन नेपाल सरकारलाई दिएको सुझाव र गरेको अनुरोधको विशेष महत्व छ ।

मानव जातिको जीत सुनिश्चित छ

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ कुनै वर्ग, जाति, धार्मिक वा सांस्कृतिक समुदाय र भूगोल मात्रको नभएर सिङ्गो विश्व एवम् समस्त मानव जातिको साझा शत्रु, साझा चुनौती हो । यसले कुनै पनि पेशा, उमेर वा लिङ्गलाई बाँकी छाडेको छैन । यो इतिहासमा मानव जातिले बेहोर्नुपरेका अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थिति मध्येको एक हो । आज समस्त मानव जाति यो कल्पनातीत चुनौती सहन गर्न र सामना गर्न बाध्य भएको छ ।

इतिहासका विश्वस्तरका चुनौतीहरुजस्तै यसपटक पनि कोभिड – १९ विरुद्धको लडाइँमा मानव जातिको जीत सुनिश्चित छ । तर, हाम्रो कर्तब्य सम्पूर्ण वुद्वि, विवेक, श्रोत, साधन र सामथ्र्यका साथ यसका विरुद्ध लड्नु, यसलाई पराजित गर्नु र यसबाट हुने मानवीय, आर्थिक तथा सामाजिक क्षतिलाई कम गर्नु हो ।

हामीले नेपाली भूमिमा कोविड – १९ लाई नियन्त्रण गरेर र आर्थिक–सामाजिक क्रियाकलपलाई पूर्ववत् अवस्थामा फर्काएर यसविरुद्धको लडाइँमा विश्व समुदाय र समस्त मानव जातिलाई योगदान गर्न जरुरी छ ।

( कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment