Comments Add Comment
लकडाउनमा मजदुरको मजबुरी :

साइकलबाट १५ सय किलोमिटर यात्रा, सात दिनमा गाउँ पुगे २० वर्षे युवक

तस्वीरहरु : बीबीसी हिन्दीबाट साभार

२९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएपछि धेरै व्यक्तिहरु पहिले जहाँ थिए, त्यहीँ रोकिएका छन् । हुनेखानेहरुलाई त लकडाउनले खासै असर गरेको छैन । तर, हुँदाखानेहरु बेखर्ची भएपछि कष्टकर यात्रागर्दै आफ्नो घर फर्किरहेका छन् ।

यसैबीच साइकलमा १५ सय किलोमिटर यात्रागर्दै आफ्नो गाउँसम्म पुगेका एक युवकको समाचार सार्वजनिक भएको छ । यद्यपि यो समाचार छिमेकी मुलुक भारतको हो ।

ओडिसा घर भएका महेश जेना महाराष्ट्र प्रदेशमा रहँदा नै कोरोनाका कारण लकडाउन सुरु भयो । भारतमा सबैभन्दा प्रभावित भएको प्रान्तको रूपमा रहेको महाराष्ट्रमा जोखिम मोलेर बस्न उनको मनले मानेन । त्यसपछि उनी आफूसँग रहेको साइकल लिएर निस्किए १५ सय किलोमिटर टाढाको यात्राका लागि । उनले सात दिनमा १५ सय किलोमिटरको यात्रा पूरा पनि गरिसकेका छन् ।

सामान्यतया यतिलामो यात्रा साइकलमा या त रेकर्ड राख्नका लागि गरिन्छ या त एड्भेन्चरका लागि । तर, महेशको यात्राको उद्देश्य यी दुवैभन्दा भिन्न थिए । महेश केवल बाध्यतामा थिए । त्यही बाध्यताले नै उनको साइकल यात्रा तय गरेको थियो ।

ओडिसाको जाजपुर जिल्लाको बडसुआर गाउँमा घर छ महेशको । उनी अहिले २० वर्षका भए । विगत आठ महिनादेखि महाराष्ट्रको सांगली–मिराजमा पानीको पम्प बनाउने एक कम्पनीमा काम गर्दै आएका उनले धेरै लामो समय राम्रोसँग काम गर्न पाएनन् ।

मार्च महिनाको अन्तिमतिर भारत सरकारले देशभर लकडाउन गरेपछि कम्पनी मालिकले पाँच महिनासम्म कम्पनी बन्दगर्ने घोषणा गरे । त्यसपछि महेश महाराष्ट्रमा कामविहीन बने । त्यहाँ बस्नको लागि एकातिर जोखिम धेरै र अर्काे तर्फ बेरोजगारीमा हात मुख जोड्ने समस्या जस्ता कारणले उनी  गाउँ फर्किने निधो गरे ।

गाउँ फर्किने निधो गरेपनि रेलको सबै सेवाहरु बन्द थिए । गाडी पनि चलेका छैनन् । यस्तो अवस्थामा गाउँ जाने एउटै विकल्प थियो उनीसँग त्यो हो आफैँसँग भएको साइकल । त्यही साइकलको सहारामा उनीले सुरु गरेका थिए १५ सय किलोमिटरको यात्रा ।

हाल जाजपुर जिल्लाको एक स्कुलमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका महेशले बीबीसीसँग कुरा गर्दै बाँच्नका लागि यही एकमात्र विकल्प दिमागमा आएको बताए ।

महेशले भनेका छन्, ‘मालिकले पाँच महिना कम्पनी बन्द हुने बताएपछि अब गुजारा चलाउन गाह्रो हुन्छ भन्ने लाग्यो । बचत गरेको अलिकति पैसा पनि सकिन्छ त्यसपछि खान पनि भाग्यमा छैन जस्तो लाग्यो । त्यसैले चाहे जेसुकै होस् गाउँ फर्किन्छु भन्ने निर्णय गरेँ । रेलहरु नचलेकाले साइकलबाट मात्रै जान सकिन्थ्यो ।’

यतिलामो यात्रा साइकलबाट गर्ने भनेर डर लागेन ? बीबीसीको प्रश्नमा महेशले भनेका छन्, ‘अहँ, लागेन । जब जिन्दगी नै दाउमा लागेको थियो भने केको डर ? भगवानलाई पुकारेँ र एक अप्रिलको बिहानै घरतिर हिडेँ ।’

उनले सेकेन्ड ह्यान्ड साइकल काममा आउजाउ गर्दा आवश्यक परेर १५ सय रुपैयाँमा किनेका थिए । त्यसलाई मर्मत गर्न थप पाँच सय रुपैयाँ खर्च गरेका थिए । बाटोमा दुई पटक साइकलको टायर पन्चर पनि भयो । जसोतसो मर्मत गरेर फेरि यात्रा सुरु गरे । आखिर त्यही पुरोनो साइकलले महेशलाई गन्तव्यसम्म पुर्‍यायो ।

महेश बाटोमा धेरैजसो ढावाबाट खाना खाने गर्थे । ‘हरेक ढावामा दर्जनौं ट्रकहरु रोकिएका हुन्थे । बाहिरबाट ढाबा बन्द देखिन्थे तर भित्र तिनै ट्रक चालकहरुका लागि खाना पाक्थ्यो । मैले पनि उनीहरुसँग खानाखाने गर्थेँ । तर, सबै ठाउँमा ढावा हुँदैनथे । त्यही भएर मैले केही बिस्कुट र फलफूल बोकेको थिएँ । ताकि भोकै सुत्नु नपरोस् । बिहानैदेखि राति ११–१२ बजेसम्म साइकल चलाउँथे र कतै ढावा वा मन्दिर भेटियो भने त्यहीँ सुत्थेँ । १५ दिनमा घरमा कसो नपुगिएला र भन्ने सोचेर म निस्किएको थिएँ । तर, बाटोमा एकदमै कम रोकिएँ, १०–१२ घण्टा साइकल चलाएँ, त्यसैले सातदिनमै घर आइपुगेँ ।’ उनले भनेका छन् ।

यी कुरा भन्दै गर्दा महेशको मुहार हँसिलो थियो ।

बाटोमा तिमीलाई कसैले पनि किन रोकेन होला भन्ने प्रश्नमा महेश भन्छन्, ‘दुई ठाउँमा, सायद तेलंगना वा आन्ध्र प्रदेश हुनुपर्छ, पुलिसले रोकेका थिए । मसँग सोधपुछ गरे । मैले मेरा सबै कुरा भनेपछि उनीहरुले मलाई जानदिए ।’

सांगलीबाट हैदरावाद, त्यहाँबाट विजयवाडा, खम्मम, विजयनगरम, श्रीकाकुलम हुँदै ६ अप्रिलमा महेश ओडिसाको सीमाप्रवेश गरेका थिए । फेरि गन्जाम, भुवनेश्वर, कटकहुँदै अर्को दिन साँझ जाजपुर पुगे ।

महेशले पहिलै आफ्ना फुपाजुलाई आफू आउँदै गरेको जानकारी गरेका थिए । त्यसैले जब उनी जाजपुर पुगे, त्यहाँ उनका फुपाजु लिन आइपुगेका थिए । त्यहाँ प्रहरीले केही कुरा सोध्यो र सदर अस्पतालमा प्राथमिक उपचार गरी नजिकैको अब्दलपुर गाउँको स्कुलमा बनाइएको क्वारेन्टाइनमा पठायो ।

साइलबाट यति लामो यात्रा गरेर जाजपुर पुग्दा उनको अवस्था कस्तो थियो होला ?

महेश भन्छन्, ‘म एकदम ठिक थिएँ । खुट्टा केही सुन्निएको थियो । छाती पनि चर्किएको थियो । छातीको दुखाइ अहिले पनि पूरै ठिक भएको छैन । तर, म कुनै प्रकारको बिरामी भने भइन । खोकी र हाछ्युँ पनि आएन । अहिले म पूर्णरुपमा स्वस्थ छु । यहाँ बिहान नास्ता र दुई पटक खाना दिइन्छ । मेरो फुपाजु र भान्दाइ दिनहुँ मलाई हेर्न आउनुहुन्छ । क्वारेन्टाइनको बसाइँ सकिएपछि म उहाँहरुसँगै घर जान्छु ।’

महेशका अनुसार उनका आमा–बुका पन्जाबमा काम गर्छन् । त्यसैले उनी सानैदेखि फुपू फुपाजुको घरमा बसे ।

भारतभर लकडाउन भएपछि लाखौं प्रवासी श्रमिकहरु साइकल वा पैदल यात्राबाटै आफ्नो गाउँ फर्किएका छन् । महेशले करिब १५ सय किलोमिटरको यात्रा साइकलमा सात दिनमा पूरा गरे । हिम्मत र आत्मविश्वासको यो अनौँठो कथा साँच्चिकै अद्वितीय छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment