 
																			३० चैत, सप्तरी । लक डाउनको समयमा सर्वसाधारणको घरमा पुगेर दैनिक उपभोग्य सामान पुर्याइदिने किराना पसलका कर्मचारी प्रहरीद्वारा कुटिएका छन् ।
सप्तरी सदरमुकाम राजविराजस्थित रमेश किराना पसलभित्र काम गरिरहेका कर्मचारीलाई प्रहरीले पसलभित्र छिरेर लाठीले कुटेको पसलका प्रोप्राइटर रमेश साहले जानकारी दिए ।
‘शनिबार साँझ पसल खोलेर अर्डर आएका सामान प्याक गरिरहेका कर्मचारीमाथि प्रहरीले लाठी बर्सायो’ उनले भने, ‘पसलको ग्रील भित्रबाट लगाएर काम गरिरहेको अवस्थामा प्रहरीले सो ग्रील खोल्न लगाई कर्मचारी राजु साहलाई कुटेका हुन् ।’
जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघले संयुक्त रुपमा उपलब्ध गराएको आईडी कार्ड समेत झुण्ड्याएका कर्मचारीलाई कुट्दै लाठीले ठेलेर बाहिर निकालेको प्रोप्राइटर रमेशले बताए । ‘हामी टेलिफोनमार्फत् अर्डर आएका सामान प्याकिङ गरिरहेका थियौं, त्यत्तिकैमा ग्रील खोल्न लगाएर भित्र पसेका दुई जना प्रहरीले कुटपिट गरे’ उनले भने ।
अनलाइनमार्फत सामान बिक्री गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि आफूले व्यवसाय सञ्चालन गरी सर्वसाधारणको घरमा सामान पुर्याउँदै आए पनि प्रहरीले यसरी कुटपिट गर्दा दुःख लागेको उनले बताए ।
घट्नाबारे जिल्ला प्रहरी कार्यालयले जानकारी नभएको जनाएको छ । ‘हामी बुझ्दैछौं’ सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले भने, ‘ड्यूटीमा खटिएका प्रहरीलाई यस्तो नगर्न सम्झाउने काम पनि गरेका छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4