Comments Add Comment

तत्काल कोरोना अस्पताल सञ्चालन गर्न वीरगञ्जका चिकित्सकको माग

नारायणी अस्पतालमा हालै बनाइएको आइसोलेसन वार्ड

३० चैत, वीरगञ्ज । वीरगञ्जका चिकित्सकले कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।

आइतबार वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कोरोना संक्रमितको उपचार गर्दै आएका चिकित्सकले कोरोना विशेष अस्पताल सञ्चालन गर्न माग गरेका हुन् ।

आइतबार नारायणी अस्पतालका चिकित्सवको आकस्मिक बैठकले जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने उनीहरुले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले छिटो भन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने ‘प्रदेशले निर्णय गरेको कोभिड अस्पताल छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्छ । त्यसो गर्न नसके स्थानीय प्रशासनले कुनै अस्पताललाई खाली गराएर पनि कोभिड अस्पताल बनाउनुपर्छ ।’

कोरोना संक्रमित तीन जना भारतीय हाल नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

चिकित्सकहरुले कोरोना संक्रमित भेटिएको क्षेत्र वीरगञ्ज– २ छपकैया लाई शिल गरेर आवश्यक जाँच पड्ताल शुरु गर्न माग गरेका छन् ।

उनीहरुले मेडिसिन विभागबाहेक सबै विभागका चिकित्सक, स्वास्थ्यकर्मीले कोभिड–१९ को उपचारमा सहयोग गर्ने निर्णय गरेका छन् । प्रशासनले छिटो भन्दा छिटो कोरोना संक्रमित भेटिएको क्षेत्रलाई शिल गरेर आवश्यक जाँच गर्न अग्रसरता लिनुपर्ने, अस्पतालमा विरामी राखिएको आईसोलेसन वार्ड भएको क्षेत्रमा उच्च सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन आवश्यक प्रबन्ध मिलाउनुपर्ने माग राखेका छन् ।

बैठकमा अहिलेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने बारेमा नै छलफल भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

चिकित्सक बैठकको निर्णयको बारेमा अन्य निकायलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले पत्राचार गरिरहेका छन् ।

चिकित्सक संघ नारायणीका अध्यक्ष डा. अरुण सिंहले कोरोना संक्रमितको उपचारलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बताए ।

‘अर्को व्यवस्था नभएसम्म संक्रमितलाई छोड्न मिलेन, जहाँ जहाँ जान्छन्, संक्रमण सार्दै जान्छन्’ उनले भने ‘त्यसबेलासम्म नारायणी अस्पतालको आइसोलेसनमै राख्नुपर्ने भयो । हाम्रै चिकित्सक टिम उपचार गर्न सहमत भएका छौं ।’

त्यसका लागि अस्पतालले टिम बनाइसकेको र उनीहरु छुट्टै क्वारेन्टाइनमा बसेर उपचारमा खट्ने उनले जानकारी दिए । ‘कोभिड–१९ संक्रमित र जनरल विरामी एकै ठाउँमा राखेर उपचार गर्न मिल्दैन, त्यसले झन् जोखिम बढाउँ।’ उनले भने ‘तर अहिले हामीसँग विकल्प छैन । सरोकारवाला निकायले बेलैमा अर्को व्यवस्था मिलाउनेमा हामी आशावादी छौं ।’

नारायणी अस्पताल महामारी विरुद्ध लड्नका लागि तयार रहेको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सरोकारवालाले नैतिक, मनोवैज्ञानिक र भौतिक सहयोग गर्नुपर्ने बताए ।

‘अस्पताल प्रशासन र चिकित्सक क्षमताले भ्याउँदासम्म सहयोग गर्न तयार छौं । पहिलो त, आइसोलेसनमा मात्रै होइन, पुरै अस्पतालमा चुस्त सुरक्षा व्यवस्था मिलाउनुपर्छ । भिडभाड बढी हुन दिनुभएन’ उनले भने ।

यो पनि पढ्नुहोस वीरगञ्जमा खोई सतर्कता ? र्‍यापिड टेष्ट किट केका लागि ? यो पनि पढ्नुहोस कोरोना संक्रमण देखिएको ठाउँलाई पूर्ण लकडाउन गर्छौं : मुख्यमन्त्री राउत यो पनि पढ्नुहोस कोरोना संक्रमितको सम्पर्कमा रहेका २६ जना वीरगञ्जको क्वारेन्टाइनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment