
३० चैत, घोराही । दाङमा पनि कोरोना भाइरस (कोभिड १९)को र्यापिड टेस्ट आइतबारबाट सुरु भएको छ । परीक्षण गर्दा पहिलो तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीपी) घोराही उपमहानगरपालिकाको कुइरेपानीस्थित क्वारेन्टाइनमा गरिएको थियो । शंकास्पद एक महिला, एक पुरुष र एक बालिकामा परीक्षण गरिएकामा तीनै जनामा कोरोना संक्रमण नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन् । र्यापिड टेस्टमा नेगेटिभ देखाए पनि पीसीआर टेस्ट पनि गरिने पौडेलले बताइन् ।
सरकारले कोरोनाका बिरामी पाइएका जिल्लाहरु कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । यद्यपि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले पनि तत्कालका लागि एक सय वटा किट ल्याएर र्यापिड टेस्ट सुरु गरेको छ ।
पहिलो चरणमा १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने र दोस्रो चरणमा उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने योजना बनाइएको छ ।
दाङ जिल्लामा हाल ४४ जनालाई क्वारेन्टाइनमा र एक जनालाई आइसोलेसनमा राखिएको छ ।
तुुलसीपुर उपमहानगरपालिकामा १९ जना, घोराही उपमहानगरपालिकामा ८ जना, बंगलाचुली गाउँपालिकामा ७ जना, गढवा गाउँपालिकामा ६ जना, राजपुर गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लाको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा एकजना आइसोलेसनमा भर्ना भएका छन् । यसअघिका सबै शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
प्रतिक्रिया 4