Comments Add Comment

काठमाडौं उपत्यकामा ४१८ क्वारेन्टाइन तयार

क्वारेन्टाइन अनुगमन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ।

३० चैत, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ४ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ । विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा २०८, पशुपतिको धर्मशाला, भक्तपुरको कृषि तालिम केन्द्र र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा समान ७०–७० बेडको क्वारेन्टाइन तयार पारिएको हो ।

ललितपुरको स्टाफ कलेजमा बनाइएको एक सय बेड क्षमताको क्वारेन्टाइन भने मापदण्डविपरीत भएको पाइएको छ ।

मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनहरु मापदण्ड अनुसार भए–नभएको अनुगमन तथा सहजीकरण गर्न जिम्मा दिएको थियो । सोही जिम्मेवारीअनुसार सहरी विकास राज्यमन्त्री मानन्धरले आइतबार काठमाडौं उपत्यकाका पाँच क्वारेन्टाइनस्थल अवलोकन गरे ।

अवलोकनको क्रममा अन्य स्थानको क्वारेन्टाइन तत्काल प्रयोग गर्न योग्य भए पनि स्टाफ कलेजको क्वारेन्टाइनमा भने अझै सुधार आवश्यक रहेको पाइएको हो ।

स्टाफ कलेज जावलाखेलको क्वारेन्टाइनमा अलग–अलग शौचालय र क्यान्टिनको व्यवस्था नरहेकाले थप सुधार गर्नुपर्ने राज्यमन्त्री मानन्धरले बताए । अनुगमनपछि मानन्धरले भने, ‘पशुपति, खरिपाटी, तेलकोट लगायतका क्वारेन्टाइन तयारी अवस्थामा छन् । स्टाफ कलेजको भने सामान्य सुधार गरेर सञ्चालन गर्न सकिन्छ ।’

साथै प्रदेश र ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेलाई पनि क्वारेन्टाइन बनाउन सकिने बताउँदै उनले भने, ‘यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परे पनि तत्काल निर्माण गर्न सकिन्छ ।’

होटल, रिसोर्ट र होमस्टे पनि प्रयोग गर्न सकिने

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठूला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए । मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा स्थानीय तहहरुले पनि क्वारेन्टाइन बनाएको बताउँदै सबै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन सञ्चालनको सहजीकरण सरकारले गर्ने बताए ।

विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद व्यक्तिहरुलाई राख्नका लागि सरकारले ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधी’ बनाएको छ । ती क्वारेन्टाइनहरुको अवस्थाबारे अनुगमन गर्नुअघि राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १८ वटै नगरप्रमुख तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए ।

छलफलको क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बूढानीलकण्ठ स्कुलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय र दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय बेड क्वारेन्टाइन बनाउन सकिने रिपोर्ट पेश गरेका थिए ।

छलफलमा आएका सुझाव र स्थलगत अनुगमनमा देखेको अवस्था समेटेर दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवेदन बुझाउने राज्यमन्त्री मानन्धरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment