Comments Add Comment

वीरगञ्जमा तीन भारतीयलाई कहाँबाट सर्‍यो कोरोना ?

सरकारी अधिकारी भन्छन्- कन्ट्याक ट्रेसिङ सुरु भइसक्यो

३० चैत, वीरगञ्ज । वीरगञ्जमा तीनजना भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको खबर आइतबार बिहानै आयो । तर, उनीहरुले भारतबाट कोरोना भाइरस लिएर आएका थिए या नेपालबाटै संक्रमण भएको हो भन्ने प्रश्नको जवाफ चाहिँ आइतबार साँझसम्म पत्तो लाग्न सकेन ।

आइतबार बिहानसम्म धेरैका लागि यो संक्रमणको खबर अप्रत्यासित भए पनि प्रदेश र संघीय सरकारका अधिकारीहरुका लागि नौलो थिएन ।

किनकी बाग्मती प्रदेशको राजधानी हेटौंडामा गरिएको परीक्षणमै तीनैजनाको रिपोर्ट पोजेटिभ आइसकेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पुनः परीक्षणमा त्यसको पुष्टि मात्र भएको हो ।

तर, वीरगञ्जमा भेटिएका यी तीन भारतीय नागरिकमा कोरोना संक्रमण कहाँबाट भयो ? भारतबाट या नेपालमै ? योचाहिँ सबैलाई हैरान बनाउने प्रश्न बनेको छ ।

कोरोना संक्रमण हुन अर्को संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकै हुनुपर्छ । तर, तीनैजना संक्रमित भन्छन्, ‘फागुन ३ देखि ५ गतेसम्म सप्तरी बोदेबसाइनमा भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका हौं । त्यसपछि नेपालको मोरङ, सुनसरी र सप्तरीका मस्जिदहरु घुमेर यहाँ (वीरगञ्ज) आएका हौं ।’

उनीहरुले स्थानीय प्रशासनलाई दिएको वयानमा भनेका छन्, ‘४ अप्रिलमा भारत फर्कन टिकट पनि काटिसकेका थियौं । तर, लकडाउनका कारण जान नपाएपछि वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्यौं ।’

वीरगञ्ज छपकैयाका सकिल अहमद पनि जमातीहरु वीरगञ्ज आएपछि बाहिर नगएको र बाहिरका मानिसहरु पनि उनीहरु भएको ठाउँमा नगएको दाबी गर्छन् । ‘हामीलाई एसपी, सीडीयो सा’बहरुले बोलाएर पनि सोधेका छन्’ उनले अनलाइनखबरसँग भने, ‘हामीलाई जे थाहा छ, सत्य बताएका छौं ।’

उनीहरुको दाबीलाई मान्ने हो भने अहिले नेपालमा समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको मान्नुपर्ने हुन्छ, तर अवस्था त्यस्तो छैन ।

बरु खुला सीमाका कारण भारत आउजाउ परेको हुनसक्ने आशंका छ ।

प्रादेशिक जनस्वास्थ्य निर्देशनालयका सहायक निर्देशक विजय झा भन्छन्, ‘उनीहरुले झूठो बोलेको हुन सक्छ । या त सीमा पारि गएर आएका होलान्, या संक्रमितको सम्पर्कमा पुगेका होलान् । ‘कन्ट्याक ट्रेसिङ’ सुरु भइसकेको छ ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि तीनै जना संक्रमितको ट्राभल हिस्ट्री खोजी सुरु भइसकेको अनलाइनखबरलाई बताए । ‘उनीहरुको ट्राभल हिस्ट्रीबारे राम्रो जानकारी आइरहेको छैन’ बस्नेतले भने, ‘हामी जानकारी लिने प्रयासमै छौं ।’

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्याय भने संक्रमितहरुले चार महिनाको ट्राभल हिस्टी नभएको बताएकाले जाँचलाई वृहतको रुपमा अगाडि बढाउनुपर्ने बताउँछन् ।

संक्रमित नारायणीमा, बाँकी २६ जना क्वारेन्टाइनमा

कोरोना संक्रमण देखिएका दुईजना उत्तर प्रदेश र एकजना दिल्लीका हुन् । ३७, ४४ र ५५ वर्षका उनीहरुको नारायणी अस्पतालमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा तीन/तीनजना चिकित्सक, नर्ससहितका तीनवटा टीम संलग्न छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई आदर्शनगरस्थित होटल कन्ट्री ईनमा राखिएको छ ।

तीन भारतीयमा संक्रमण भेटिएपछि मक्की जामे मस्जिदका ११ जना, घुसुकपुरस्थित हजरत बिलाल मस्जिदमा रहेका १० जना जमाती र अन्य १५ जनासहित कुल २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

छपकैया क्षेत्र सिलबन्दी गर्ने निर्णय

संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका-२ छपकैया र आसपासको क्षेत्रलाई सिलबन्दी गरिने भएको छ ।

संक्रमितहरु बसेको मस्जिद आसपास मुस्लिम समुदायको बाक्लो बसोबास छ । त्यसलाई ध्यान दिँदै जिल्ला सुरक्षा समितिको बैठकले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी सिलबन्दी गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment